१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चौथो बुटवल खुला टेनिस : रितिक र प्रेरणा फाइनलमा

सन्जु पौडेल

तिलोत्तमा — साबिक विजेता रितिक राना बुटवलमा भइरहेको चौथो बुटवल खुला लनटेनिस प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । पुरुष सिंगल्सतर्फ सोमबार सेमिफाइनलमा प्रणव खनाललाई ९–७, ६–४ को सेटमा हराएर रितिक उपाधि रक्षातर्फ अग्रसर देखिए । सर्भिसमा राम्रो प्रदर्शन गरेका रितिकले नेपालका नम्बर एक वरीयताका प्रणवले कडा चुनाती पेस गरे पनि खेल आफ्नो पक्षमा पारे ।

चौथो बुटवल खुला टेनिस : रितिक र प्रेरणा फाइनलमा

गत वर्ष प्रणवलाई नै हराएर रितिकले उपाधि जितेका थिए । यसपालि उनको फाइनल प्रतिद्वन्द्वी दोस्रो वरीयताका सन्तोष खत्री हुनेछन् । सन्तोषले निशान श्रेष्ठलाई हराएका थिए । सन्तोषले पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेका थिए । निशानले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारेपछि खेल बराबरी भयो । तेस्रो सेट ७–५ ले सन्तोषले खेल जित्यो ।

महिला सिंगल्सतर्फ गत वर्षकी विजेता सलोनी तामाङ भने प्रेरणा कोइरालासँग ६–१, ६–२ को सेटमा हारिन् । हावाको बेगले प्रतिस्पर्धामा केही अप्ठ्यारो पारेपछि दुवैलाई र्याली मिलाएर खेल्न हम्मेहम्मे परेको थियो । खेलमा धेरैपटक सलोनीको सर्भिस असफल थियो । प्रेरणाले खेलमा नियन्त्रण राखिन् । ‘हावाले समस्या पारेपछि मैले केही टेक्निक लगाएँ,’ प्रेरणाले भनिन्, ‘अन्तिमसम्म बीचमै रहेर खेल्ने प्रयास गरें । त्यसले अलि सहज भयो ।’

प्रेरणाको फाइनल प्रतिस्पर्धा अभिलाषा विष्ट रहेकी छन् । अभिलाषाले मायन्का राणालाई ६–४, ६–४ को सोझो सेटमा हराएर उपाधि भिडन्तमा स्थान बनाइन् । अभिलाषाले आकर्षक फोर ह्यान्ड शटहरू हानेकी थिइन् । प्रेरणालाई अभिलाषासँग डबल्सको सेमिफाइनलमा हराएको बदला लिने अवसर हुनेछ । सिंगल्सकै ३५ वर्षमाथि बुटवलका सन्जय प्रकाश श्रेष्ठले पोखरेली राजन पौडेललाई ६–४, ३–६, १०–८ ले हराएर फाइनल पक्का गरे । सन्जय फाइनल पुगेको यो पहिलोपल्ट हो । अर्को सेमिफाइनलमा कमल भण्डारीले रामु बिकलाई ६–०, ६–१ को सोझो सेटमा हराएका थिए ।

४५ वर्षमाथि धरमसिंह लामिछाने र चन्द्र शाहीबीच उपाधि भिडन्त हुनेछ । धरमसिंहले उत्तम बोगटीलाई ६–३, ६–१ र चन्द्रले गोपी भट्टराईलाई ६–२, ६–२ को सोझो सेटमा हराए । ५५ वर्षमाथिको फाइनलमा हिमाल शाह र मनोज राणा भिड्नेछन् । सेमिफाइनलमा हिमालले ध्रुव गुरुङलाई ६–३, ६–१ र मनोजले राजेन्द्र घिमिरेलाई ६–०, ६–२ को सोझो सेटमा हराए ।

महिला डबल्सतर्फको उपाधि अभिलाषा र इरा राउतले जितेका छन् । उनीहरूले सोमबार फाइनलमा प्रकृति श्रेष्ठ र श्रीस्ता राईलाई ६–१, ६–० को सोझो सेटमा हराएका हुन् । सेमिफाइनलमा अभिलाषाको जोडीले मायन्का र प्रेरणालाई हराएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?