‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान

नयाँ अभियानअनुसार ३० हजार दर्शक क्षमताको क्रिकेट रंगशालामा प्रतिकुर्सी १ लाख रुपैयाँ सहयोग गरी कुर्सीमा आफ्नो नाम लेखाउन सकिनेछ ।
कुशल तिमल्सिना

काठमाडौँ — जनस्तरबाट सहयोग संकलन गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सुरु गरेको धुर्मुस–सुन्तली फाउन्डेसन चरम आर्थिक संकटमा परेको छ । संघीय सरकारबाट सहयोग नपाउनु र कबोल गरिएका रकमहरू नउठ्नाले चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा उधारोमा रंगशाला बनिरहेको छ ।

‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान

रंगशाला निर्माण अभियानमा देखिएको आर्थिक संकट निवारणका लागि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले एउटा भावनात्मक अभियानको अवधारणा सोमबार सार्वजनिक गरेका छन् । ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नाम दिइएको यो अभियानबाट निर्माण खर्च संकलन गर्ने लक्ष्य फाउन्डेसनको छ । यसले रंगशाला निर्माण अभियानमा जोडिएकासँगको अपनत्व बढ्ने विश्वास हास्य कलाकार रहेका कट्टेलले लिएका छन् ।

नयाँ अभियानअनुसार ३० हजार दर्शक क्षमताको क्रिकेट रंगशालामा प्रतिकुर्सी १ लाख रुपैयाँ सहयोग गरी कुर्सीमा आफ्नो नाम लेखाउन सकिनेछ । ‘धुर्मुस–सुन्तली फाउन्डेसनले अग्रसरता लिएको भए पनि यो आम नेपालीको साझा परियोजना हो । रंगशालाको साधारण प्यारापिटमा ३० हजार कुर्सी रहनेछन् । रंगशाला निर्माणमा सहयोग हुने र त्यसप्रति अपनत्व बढ्ने भएकाले हामीले यो अभियान सञ्चालन गर्न लागेका हौं,’ अध्यक्ष कट्टेलले भने, ‘एउटा कुर्सीलाई १ लाख किन ? भन्ने प्रश्न पनि उठ्न सक्छ । व्यक्तिगत रूपमा यो रकम ठूलो हो । तर कुनै एक संस्थाका लागि ठूलो नहुन सक्छ । उहाँहरू पनि यो अभियानमा अपनत्वसहित जोडिन सक्नुहुन्छ ।’

अभियानमा संलग्न हुन फाउन्डेसनले मोबाइल एपको विकास गरिरहेको छ । एक महिनाभित्रमा एप तयार हुने र एपमार्फत आफूले चाहेको कक्षमा रहने कुर्सी बुक गर्न सकिने सुविधा रहनेछ । रंगशालामा ७७ जिल्लाको नामबाट ७७ कक्ष रहनेछन् । सोमबार कार्यक्रमकै दिन एक युवा व्यवसायी यज्ञराज अवस्थीले १० वटा कुर्सी बुक गरेसँगै यो अभियान सुरु भइसकेको छ ।

आमजनताको सहानुभूति भए पनि ३ अर्ब ५५ करोड अनुमानित लागतको रंगशाला निर्माणका लागि सरकारी तबरबाट अपेक्षाकृत सहयोग आएको छैन । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक नेतृत्वले काठमाडौंबाट सुरुआत गरेको रंगशाला निर्माण महाअभियानका लागि संघीय सरकारबाट एक रुपैयाँ पनि सहयोग नपाएको गुनासो फाउन्डेसनको छ । वाग्मती प्रदेश र भरतपुर महानगरपालिकाबाट सहयोग आइरहे पनि ठूलो परियोजनालाई त्यो पर्याप्त रहेन । रंगशाला निर्माणस्थलमै पुगेर वा बैंक एकाउन्टमार्फत आउने सानातिना सहयोगले ठोस निकास दिन सकेको छैन ।

‘दुई वर्षअघि हामीले यो अभियानको सुरु गर्दा विभिन्न संकट आउनेछ भन्ने पूर्वानुमान त थियो तर आर्थिक रूपमा यति कठिन हुनेछ भन्ने कल्पना गरेको थिइनँ,’ कट्टेलले भनेका छन्, ‘ठूलो रकम उधारो तिर्न बाँकी छ तर रंगशालाले एउटा आकार लिइसकेको छ । अब आम शुभचिन्तकको एउटा ठोस प्रयासले हामी नेपाली खेलकुदको एउटा मन्दिर तयार गर्नेछौं ।’

कृषि तथा वनविज्ञान विश्वविद्यालयको हाताभित्र रहेको २० बिघा ६ कठ्ठा जग्गामा बन्ने रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाको रहन्छ । बृहत गुरुयोजनामा बहुउद्देश्यीय कभर्डहल र फुटबल रंगशाला भए पनि फाउन्डेसन अहिले क्रिकेट रंगशालामा केन्द्रित छ । निर्माणाधीन संरचनाको पूर्व र पश्चिमपट्टि १५–१५ हजार दर्शक क्षमताको साधारण प्यारापिटको पिलर उठाउने काम भइरहेको छ । उत्तर र दक्षिणपट्टि भीआईपी प्यारापिटको जग ढलानको काम सुरु भएको छ । मैदानको ८५ प्रतिशत काम यसअघि नै सम्पन्न भइसकेको छ । ‘हामीले निर्माणको मुख्य सुरुआत साउन १ गतेदेखि गरेका हौं । त्यसयता ७ महिनामा समग्र रंगशालाको ३० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘यो वर्षभित्र साधारण प्यारापिटतर्फ ३ हजार दर्शक क्षमताको संरचना तयार हुनेछ ।’

आर्थिक संकटले रंगशाला निर्माणको काम रोकिएको छ । अहिलेसम्म रंगशाला निर्माण अभियानमा ४३ करोड ४८ लाख ६ हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ३२ करोड ३० लाख २४ हजार रुपैयाँ संकलन भएको छ । बाँकी ११ करोड १७ लाख ८२ हजार रुपैयाँ उधारोमा काम भइरहेको अध्यक्ष कट्टेलले बताए ।

अभियान सुरु भएदेखि नै सहयोग कबोल गरेकाबाट रकम उठ्न नसक्नु, गत वर्ष निर्माणस्थलमै लगाइएको धनधान्याञ्चल महायज्ञमा कबोल भएको ६९ करोडमध्ये ९ करोडमात्र उपलब्ध हुनु र कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकटबाट फाउन्डेसन अप्ठेरोमा परेको हो । कबोल रकम नउठ्नुमा दाताको नियत हो कि नियति ? कट्टेल भन्छन्, ‘कबोल गरेकाहरूले सहयोग हस्तान्तरण गर्ने आश्वासन दिइरहनुभएको छ । कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित हुँदा पनि उहाँहरूलाई अप्ठेरो परेको हुनसक्छ । कबोल गरिएकाबाट रकम उठ्ने हो भने पनि हामीले ऋणात्मक अवस्थामा निर्माण कार्य अगाडि बढाउनुपर्ने थिएन ।’

अभियानका सल्लाहकार हरिवंश आचार्यले व्यक्तिले पहल गरेर निर्माण हुन लागेको नेपालकै ठूलो परियोजना भएकाले सम्पन्न गर्न सबैको आ–आफ्नो तर्फको सहयोग आवश्यक भएको बताए । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियानबाट सहयोग गर्न चाहनेले रंगशालाप्रति थप अपनत्व महसुस गर्नेछ । रंगशालाले एउटा आकृति लिइसकेको छ र यसलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ,’ आचार्यले भने । पछिल्लो समय फाउन्डेसनप्रति आएका नकारात्मक टिप्पणीप्रति संकेत गर्दै आचार्यले भने, ‘धुर्मुस भनेको एउटा चट्टानी सालिक जस्तो मान्छे हो । तपाईंलाई सानोतिनो ढुंगा हान्दा ट्वाङ्ग आवाज आउँछ, केही हुँदैन । तपाईंको सहनशीलता धेरै छ । तपाईंको योगदानको मूल्यांकन पछि देशले गर्नेछ ।’

आचार्यले आफ्नो उदाहरण दिँदै जनताबाट संकलन गरिने आर्थिक सहयोगको सवालमा भने संवेदनशील रहन कट्टेललाई आग्रह गरे । कानुनी सल्लाहकार अधिवक्ता टीकाराम भट्टराईले सरकार र राजनीतिक तहले ठूलो तामझामसाथ उद्घाटन गरेको अभियानमा कुनै सहयोग नभएकामा अचम्मित भएको बताए । जनसहभागिताबाटै भए पनि रंगशाला बनाउनैपर्ने बाध्यात्मक अवस्थामा समाजसेवाका लागि यो अभियानमा जोडिने सबै जनताका लागि उपयुक्त अवसर भएको भट्टराईको भनाइ छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?