कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छुट्टै अनुभव बटुल्दै टेनिस खेलाडी

राष्ट्रिय खेलाडीहरुलाई उपत्यकाबाहिर खेल्न पाउनुले छुट्टै अनुभव गराएको छ
सन्जु पौडेल

तिलोत्तमा — यतिबेला बुटवलमा नेपाली टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको बाक्लो उपस्थिति रहेको छ । झन्डै डेढ सय खेलाडी आइपुगेका छन् । उनीहरू चौथो बुटवल खुला लनटेनिस प्रतियोगिता खेल्न बुटवल आएका हुन् । 

छुट्टै अनुभव बटुल्दै टेनिस खेलाडी

गत वर्ष यो प्रतियोगिता पनि सकिनु कोरोना भाइरसको महामारीले देश लकडाउनमा धकेलिएको थियो । त्यसपछि टेनिसका प्रतियोगिताहरू ठप्प नै भए । हालैमात्र राजधानी काठमाडौंमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भयो ।

तर उपत्यकाबाहिर आयोजना भएको टेनिसको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो । त्यसैले पनि राष्ट्रिय खेलाडीहरूलाई उपत्यकाबाहिर खेल्न पाउनुले छुट्टै अनुभव गराएको छ । लामो समयपछि काठमाडौंबाहिर खेल्न पाउँदा रमाइलो र खुसी अनुभव भएको महिला राष्ट्रिय खेलाडी आइरा राउतले बताइन् । ‘लकडाउन अवधिभर फिजिकल फिटनेसमै समय बिताउनुपर्‍यो,’ उनले भनिन्, ‘तर यसलाई उपलब्धि नै मानेकी छु । यसले प्रतिस्पर्धामा आउन सजिलो भयो ।’ अहिले भने अभ्यास निरन्तर चलिरहेको उनले बताइन् ।

आइराले उपत्यकाबाहिर पनि व्यवस्थित कोर्ट हुनु खेलाडीका लागि राम्रो अवसर हुने बताइन् । १० वर्षदेखि टेनिस खेलिरहेकी उनले दक्षिण एसियाली खेलकुदमा पाकिस्तानसँग क्वाटरफाइनल जित्दाको अनुभव अविस्मरणीय रहेको सुनाइन् । उनी जहाँ जान्छिन् आमाबुबा साथै पुगिदिन्छन् । यसले आफूलाई खेल्न हौसला मिल्ने आइरा बताउँछिन् । उनको डबल्स पार्टनर अभिलाषा विष्ट छन् । यसअघि पनि प्रतियोगिता खेल्न बुटवल आएकी उनले सबै राष्ट्रिय खेलाडीको सहभागिता रहेकाले आफ्नो प्रदर्शन उत्कृष्ट दिन सक्दो प्रयास गर्ने बताइन् । खुलातर्फ आफूभन्दा सिनियर दिदीहरूसँग खेल्दा प्रतिस्पर्धा निकै रोचक अनुभव हुने उनले सुनाइन् ।

उनले यस प्रतियोगितामा आफूले कोरोना अवधिभर युट्युबमार्फत सिकेका नयाँ टेक्निकलाई प्रयोग गर्ने सुनाइन् । आइरा र अभिलाभा एउटै प्रशिक्षण केन्द्रमा सिक्छन् । उनीहरूसहित अरू तीन खेलाडीका अभिभावकको सामूहिक पहलमा काठमाडौंको धापाखेलमा टेनिस कोर्ट निर्माण भएको छ । उनीहरू सोही कोर्टमा अभ्यास गर्छन् । अन्यत्र सिक्दा आफ्नो समयअनुकूल सिक्न नपाइने भन्दै उनीहरूले अभिभावककै साथले यहाँसम्म पुग्न सहज भएको सुनाए ।

आइरा र अभिलाषाजस्तै राष्ट्रिय खेलाडी मायन्का राणा पनि बुटवल आएकी छन् । यसअघि दुईपल्ट बुटवलमा खेलिसकेकी मायन्काले यसपालिको अनुभव फरक हुने बताइन् । अहिले उपत्यकामा मात्र नभई जिल्ला जिल्लाका अभिभावकहरू आफ्ना बच्चालाई टेनिस खेलाउन लागिपरेको देख्दा खुसी लागेको मायन्का बताउँछिन् । त्यसैले उनी टेनिसको भविष्य उज्ज्वल देख्छिन् । धेरैपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी उनी नेपालमा सबैभन्दा महँगो मानिने टेनिसको विकास गर्न सानैदेखि क्याम्प र सुलभ दरमा प्रशिक्षण सुविधा उपलब्ध गराउन सकिए राम्रो हुने अपेक्षा व्यक्त गरिन् ।

साबिक विजेता रितिक रानाको उत्साह उस्तै छ । अध्ययन सिलसिलामा भारत गएका उनले पढाइ र खेललाई सँगै अघि बढाउँदा अभ्यास कम भएको हो कि भन्ने लागे पनि उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन् । अर्का राष्ट्रिय खेलाडी प्रणव खनाल पनि आफ्नो इन्ज्युरीपछि कोर्टमा उत्रँदा उत्साह थपेको सुनाउँछन् ।

उपत्यकामा सीमित खेललाई देशव्यापी बनाउन लनटेनिस संघ लागिरहेकाले यसले प्रतिभा प्रस्फुटन गर्न सघाउने आयोजकको दाबी छ । ८ वर्षदेखि बुटवलमै बसेर टेनिस प्रशिक्षण दिइरहेका विकास खड्का हरेक वर्ष प्रतियोगिताको तयारीदेखि सम्पन्न गर्ने काममा तल्लीन रहन्छन् । उनले बुटवलमा २ सय बढीलाई प्रशिक्षण दिइरहेका छन् । पहिले उनले काठमाडौंमा प्रशिक्षण दिन्थे । ‘विद्यालयस्तरदेखि युवासम्म सबैको रोजाइमा टेनिस परिरहेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरका कोर्ट बनाउन सके विश्वका खेलाडी पनि रूपन्देही ल्याएर खेलाउन सकिन्छ ।’ अखिल नेपाल लनटेनिस संघकी केन्द्रीय अध्यक्ष ज्योति राणाले कोभिड–१९ को संक्रमण कम भइरहेका बेला बुटवलमा खुला प्रतियोगिता आयोजना गरेर खेलाडीको हौसला बढाउने काम भएकोमा आयोजकको प्रशंसा गरिन् ।

नेपाल ओलम्पिक कमिटीका सदस्य दीर्घबहादुर केसीले खेल विकासमा तीन तहकै सरकारबाट सहयोग जरुरी रहेको सुनाए । बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले खेलकुद विकास गठन गरी नगरका सबै खेल गतिविधि व्यवस्थापन गर्ने काम अघि बढाएको बताए । कुल १० इभेन्टमा चार दिन चल्ने प्रतियोगिताको पुरुष/महिला सिंगल्स विजेताले ४५ हजार र उपविजेताले २० हजार पाउने छन् । पुरुष ३५ वर्षमाथि विजेता र उपविजेताले २० हजार र १० हजार, ४५ वर्षमाथि विजेता र उपविजेताले १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समूह विजेता र उपविजेताले १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले समान १५ हजार र उपविजेताले१० हजार पाउनेछन् । डबल्सतर्फ ३५, ४५ र ५५ वर्षमाथिका विजेता र उपविजेता जोडीले १५ हजार र १० हजार पाउनेछन् । पुरस्कार लागि ३ लाख ५० हजार रुपैयाँ खर्च हुने खेल रूपन्देही लनटेनिस संघका सचिव तथा संयोजक गोपाल ज्ञवालीले बताए ।

प्रेरणा र मायन्काको जोडी विजयी

चौथो बुटवल खुला लनटेनिस प्रतियोगिताको दोस्रो दिन शनिबार महिला सिंगल्सतर्फ प्रेरणा कोइराला र सलोनी तामाङ विजयी भएका छन् ।प्रेरणाले श्रेष्ठा राईलाई ६–०, ६–१ र सलोनीले इशाश्री शाहलाई ६–१, ६–३ को सेटमा हराए । शनिबारै क्वाटरफाइनलमा जित हात पार्दै महिला डबल्सतर्फ सलोनी र अजा रेग्मीको जोडीले श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीसँग सेमिफाइनल भिडन्त पक्का गरेको छ । अर्को सेमिफाइनलमा मायन्का राणा र प्रेरणाको जोडीले अभिलाषा विष्ट र इरा राउतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

पुरुष डबल्सतर्फ रितिक राना र नवीन मगरको जोडी फाइनल पुगेको छ । सेमिफाइनमा उनीहरूले भीष्म काउचा र अन्जन थिङको जोडीलाई ६–०, ६–१ को सेटले हराए । प्रनण खनाल र सन्तोष खत्रीको जोडीले प्रान्जल कायस्थ र नीरज श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटले हराएर फाइनल तय गरेको छ ।

पुरुष सिंगल्सतर्फ प्रनण खनालले इभ्याक जोशीलाई ६–०, ६–०, जेबी थापाले अनिल शाहीलाई ६–२, १–६, ६–४, साबिक विजेता रितिक रानाले अंकित अधिकारीलाई ६–०, ६–०, नीरज गुरुङले भीष्म काउचालाई ६–२, ६–० र नवीन मगरले विष्णु नेपालीलाई ४–६, ६–३, ६–२ सेटले हराए । निशान श्रेष्ठले सौगात बिकलाई ६–४, ६–३ को सेटमा पराजित गर्दै क्वाटरफाइलमा स्थान बनाए ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?