‘बी’ डिभिजन लिग : दोस्रोमा पुग्नबाट चुक्यो बाँसबारी

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीकुमारी क्लबसँग गोलरहित बराबरी खेलेपछि बाँसबारी क्लब शनिबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लन असफल भएको छ ।

‘बी’ डिभिजन लिग : दोस्रोमा पुग्नबाट चुक्यो बाँसबारी

शनिबार दोस्रो खेलमा बाँसबारीका गोलरक्षक रोशन नेपालले उत्कृष्ट प्रदर्शन गरे । उनका केही सानदार बचाउले बाँसबारीले हार टारेको टार्‍यो । टोली दोस्रो स्थानको खुमलटार युथ क्लबसँग एक अंकको दूरीमा पुग्न सफल भयो । अतिरिक्त समयमा श्रीकुमारीलाई अंक खोस्ने उपयुक्त अवसर थियो । तर सन्तोषकुमार सिंहको हेडरमा रोशन बाधक बने ।

बाँसबारीका प्रशिक्षक युगलकिशोर राईले आफ्नो टोलीको लयबाट सन्तुष्टि व्यक्त गरेका छन् । ‘हामीले छोटो पास खेल्ने शैलीको विकास गरेका छौं । तर जबसम्म हामी गोल गर्न सक्दैनौं, खेल जित्न सक्दैनौं । हामीले विपक्षीलाई रोक्न बनाएको योजनामा सफल भयौं तर जब गोलको अवसर आयो त्यसमा चुक्यौं,’ प्रशिक्षक राईले भने ।

श्रीकुमारीका प्रशिक्षक सन्देशकुमार श्रेष्ठले पनि जित्नुपर्ने खेलमा गोल अवसरमा चुक्नुपरेको बताए । ‘हामीले राम्रो खेल्यौं र थुप्रै अवसर सिर्जना गर्‍यौं, तर हामी सबैमा चुक्यौं । हाम्रा स्ट्राइकरहरूले यो खेलमा कम्तीमा २ गोल गर्नुपर्थ्यो ।’ बराबरीपछि बाँसबारीको ७ खेलबाट १५ अंक भएको छ । समान खेलबाट दोस्रो स्थानको खुमलटारको १६ र शीर्षस्थानको सातदोबाटो युथ क्लबको १९ अंक छ । पहिलो खेल पुल्चोक स्पोर्ट्स क्लब र श्रीभगवती क्लबबीचको खेल पनि गोलरहित बराबरीमै टुंगिएको थियो । दुवै टोली केही अवसर सिर्जना गरे पनि गोलको गतिरोध तोड्न असफल रहे ।

पुल्चोकका प्रशिक्षक मंगल महर्जनका अनुसार आफ्नो टोली पहिलो हाफमा राम्रो खेले पनि दोस्रो हाफमा दबाबमा देखियो र रक्षात्मक हुनुपर्‍यो । ‘मेरा केही खेलाडी चोटग्रस्त छन् । मुख्यगरी उनीहरूलाई प्रतिस्थापन गरेका खेलाडीहरू दोस्रो हाफमा दबाबमा देखिए । हामीले गोलका सुन्दर अवसर पनि सिर्जना गर्न सकेनौं,’ उनले भने ।

भगवतीका प्रशिक्षक शैलेश कर्माचार्यले टिममा केही नयाँ खेलाडीहरू अनुबन्ध भएकाले तालमेल मिल्न समय लाग्ने बताए । ‘मलाई आशा छ कि बाँकी खेलहरूमा हाम्रो प्रदर्शन सुधार हुनेछ । हाम्रो टिम सेट हुन बाँकी छ । यो खेलमा हामी अभागी पनि रह्यौं किनभने बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेनौं ।’ पुल्चोक ७ खेलबाट २ अंकसाथ अन्तिममा छ । समान खेलबाट ६ अंकसहित भगवती क्लब नवौं स्थानमा छ ।


प्रकाशित : फाल्गुन १६, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?