३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहिलो शतकको दुई दशक

फेब्रुअरी १९, २००१ का दिन मुनिकले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाए । योसँगै उनी नेपालका लागि पहिलो शतक बनाउने खेलाडीमा दरिए ।
विनोद पाण्डे

काठमाडौँ — मुनिक श्रेष्ठलाई सम्झिन अलिक पछाडि नै फर्किनुपर्ने हुन्छ । त्यो भनेको रातो बल र सेतो पोसाकले प्रभुत्व जमाएको समयतिर । अहिले सेतो बल र रंगीन पोसाकको समय छ । पिन्क बल परीक्षणकालमै जस्तो छ । त्यस बाबजुद रातो बल र सेतो पोसाकलाई क्रिकेटको आयामका रूपमा लिइन्छ ।

पहिलो शतकको दुई दशक

त्यही रातो बल र सेतो पोसाकमा मुनिकले नेपाली क्रिकेटमा नयाँ आयाम थपेको पनि २० वर्ष भइसक्यो । फेब्रुअरी १९, २००१ का दिन मुनिकले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाए । जुन शतक नेपालका लागि पहिलो थियो । उनी पहिलो शतक बनाउने खेलाडीमा दरिए । बंगलादेशको ढाकास्थित जहाँगिनगर युनिभर्सिटी मैदानमा मुनिकले शतकपछि ब्याट उठाएको समयले २० वर्ष नाघेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको ५ वर्षपछि नेपालको पहिलो शतक सम्भव भएको थियो । मुनिकको शतक त्यतिबेला सम्भव भयो, जतिबेला नेपाली खेलाडीलाई अर्धशतक बनाउन नै धौधौ थियो । पवन अग्रवाल, किरण अग्रवाल, दीपेन्द्र चौधरीले खेलेका इनिङ्समा यदाकदा अन्तर्राष्ट्रिय अर्धशतक बनेका थिए । किरण ‘नर्भस नाइटिज’ भएको एक वर्षपछि मुनिकले तीन अंक स्कोरको इतिहास रचेका थिए ।

मुनिक भर्खर १५ वर्षका मात्र थिए । दाइहरू मोनिष र मोनिरको सिको गर्दै उनी क्रिकेटमा आएका थिए । छोटो समयमै प्रभाव देखाएपछि मुनिकले नेपालको उमेर समूह टिमबाट खेल्न थालिसकेका थिए । एसीसी यू–१७ एसिया कप खेल्न बंगलादेश जाँदा उनलाई पढाइबाट ध्यान बाहिर लान गाह्रो भइरहेको थियो । क्रिकेटमा आफू अझ कस्तो खेलाडी भनेर बुझ्न खोज्दै गर्दा मुनिक यू–१७ एसिया कप खेल्न ढाका पुगेका थिए । नेपालको उमेर समूहमा उनको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

नेपालका पाकिस्तानी प्रशिक्षक अल्ताफ बलुचले मुनिकलाई फ्याट्ट भनिदिए ‘यू मोस्ट स्कोर सेन्चुरी ।’ नेपाल समूह चरणमा सिंगापुरसँग आफ्नो अन्तिम खेल खेल्दै थियो । अघिल्लो दिन प्रतियोगिताको अफिसियल डिनर कार्यक्रम थियो । त्यहीं बलुचले सिंगापुरसँगको खेल केन्द्रित गरेर ‘मुनिकलाई शतक प्रहार गर्नुपर्छ’ भनेका थिए । बलुचको त्यही भनाइपछि मुनिकलाई आफ्नो आत्मविश्वास एकाएक बढेर आएजस्तो भयो ।

मुनिकमाथि बलुचले विश्वास देखाउनुको कारण उनको प्रतिभा त छँदै थियो । अर्को प्रतियोगिताको अघिल्लो तीन खेलमा उनको प्रदर्शन सुधारिँदै आएको थियो । बंगलादेशसँग ८ रन बनाएका मुनिकले पाकिस्तानविरुद्ध नेपालले ठूलो चुनौती तेर्स्याउँदा २५ रन जोडेका थिए । उनी कुवेतसँग ४३ रनमा रनआउट भए । तर खेलका म्यान अफ द म्याच चुनिएका थिए । कुवेतसँगको त्यो रनआउट भएको क्षण २० वर्षपछि सम्झँदा उनी विस्मात मान्छन् । उनलाई अर्धशतक बनाउँछु भन्ने त पूर्ण विश्वास थियो अनि शतकको जोश बलुचले थपिदिएका थिए ।

भोलिको खेलमा अर्धशतक बनाउनुपर्छ, टिम मिटिङमा बनेको रणनीतिअनुसार पहिला ब्याटिङ गरेमा ४५ ओभर पूरै खेलेर २ सय ७० को आसपास रन बटुल्ने, त्यसमा ओपनिङ जोडीले १५ ओभर टिकेर खेल्ने भनेर प्रशिक्षक बलुचको रणनीतिअनुरुप खेल्ने कुरा मनमा खेलाउँदा खेलाउँदै मुनिक निदाइसकेका थिए । भोलिपल्ट बिहान ६ बजे टिमको अलार्म घण्टी आउनुअघि नै उनी उठिसकेका थिए । साढे ६ बजे ब्रेकफास्ट खाएर नेपाली टोली सिंगापुरसँग खेल्न मैदान लागेको थियो । टिम बसेको होटल पूर्वाणीबाट जहाँगिनगर विश्वविद्यालय मैदानको यात्रा ३० किलोमिटर दूरीमा थियो । सवा एक घण्टाको यात्रापछि नेपाली टोली ८.२० मा मैदान पुग्यो । एक घण्टाभित्र नेपाली टोलीले खेल सुरु हुनुअघिको सबै प्रशिक्षण सकाइसकेको थियो ।

मुनिकको रूममेट थिए शक्ति गौचन । शक्तिले त्यसै पनि उनलाई जोस्याइरहेका हुन्थे । आफ्नो तुलनामा शक्तिलाई निकै शान्त स्वभावका पाएका थिए मुनिकले । कप्तान भएर होला शक्ति कम बोलेको आँकलन उनको थियो । नेपाली टोलीको रणनीतिअनुसार नै शक्तिले टस जितेपछि ब्याटिङको निर्णय लिए । ‘मेरो स्कोर ७ रन भएको समयमा मैले युइन (सिंगापुर बलर) को बलमा चौका प्रहार गरेको थिएँ, अघिल्लो खेलमा रनआउट भएकाले उक्त बाउन्ड्रीपछि त पूरै ओभर खेलौंला भन्ने आत्मविश्वास बढेर आयो,’ मुनिक २० वर्षअघिको शतकीय इनिङ्स सम्झिँदै थिए, ‘४० देखि ४५ रनमा खेलिरहेको बेला फेरि रनआउट हुने डरले केही अत्तालिएको थिएँ ।’

अर्धशतक बनाएपछि ५५ रनसम्म पुग्दा सबै सिंगल रन लिएको सम्झन्छन् । त्यसपछि भने १६ बलको अन्तरमा ६ चौका प्रहार गर्दै उनी ८० रनमा पुगिसकेका थिए । अनि मुनिकलाई बलुचले ‘यू मोस्ट स्कोर सेन्चुरी’ भनेको अर्थ थाहा हुन लाग्यो । पेट दुखेकाले उनका रनरका रूपमा दीपेश खत्री क्रिजमा थिए । मुनिक त्यसपछि ९० रनसम्म पुग्दा पूरै रक्षात्मक भएर खेल्न लागे । उनी यसबीचमा एक चौकामात्र प्रहार गरे । राजा जैदीलाई चौका प्रहार गर्दै ९८ रनमा पुगे । ४१ औं ओभर फाल्न युईन आएका थिए ।

‘मन्जित दाइ (श्रेष्ठ) ले पहिलो बलमै एक रन लिँदै मलाई स्ट्राइक दिनुभयो । युईनलाई खेलको तेस्रो ओभरमा चौका प्रहार गरिसकेकाले मलाई शतक टाढा जस्तो लागेन । दोस्रो बल हाफ भलीमा थियो । मैले फिल्डरहरूलाई कुनै मौका नदिई कभरमा चौका प्रहार गरेर शतक बनाउन सफल भएँ,’ मुनिकले शतक बनाएको क्षण स्मरण गरें, ‘शतक बनाएपछि मैले ब्याट सामान्य हिसाबले नै उठाएको थिएँ । दीपेश दाइले यो नेपालको पहिलो अन्तर्राष्ट्रिय शतक भएकाले यस्तो रमाइलो र ऐतिहासिक क्षण जीवनमा कमै आउने हुनाले ब्याट अझै उचालेर राख्नु भन्नुभयो । मलाई यो भनाइले भावुक बनायो र एकछिन आफूलाई सम्हाल्न गाह्रो भयो ।’

शतक बनाउनेक्रममा प्रहार गरेको बाउन्ड्री मुनिकको इनिङ्सको १३ औं चौका थियो । त्यसक्रममा उनले १ सय ७० मिनेट क्रिजमा बिताउँदै १ सय २५ बल खेलिसकेका थिए । शतकपछि थाकिसकेकाले कमै स्ट्राइक लिएको उनी सम्झन्छन् । शतकसँगै मुनिकलाई टिमको स्कोरले खुसी तुल्यायो । मुनिकको अविजित १ सय १३ रनमा नेपालले ६ विकेट गुमाई २ सय ९५ रन बनाएको थियो । प्रशिक्षक बलुचले दिएको लक्ष्यभन्दा नेपाली ब्याट्सम्यानले राम्रो खेलेका थिए ।

नेपालले खेल जित्न धेरै कुर्नुपरेन । इरफान सिद्दिकीले ४ विकेट लिएपछि सिंगापुर २१ ओभरभित्र ७१ रनमा अलआउट भयो । २ सय २४ रनको जित नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो थियो । सेमिफाइनल पुग्न नसके पनि नेपालका लागि मुनिकको शतक र अन्तिम दुई खेलको जित विशेष बनेको थियो ।

नेपालले सन् २००० मा गरेको पाकिस्तान भ्रमण मुनिकको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यहाँ उनले खासै राम्रो गर्न सकेका थिएनन्, न त नेपालको प्रदर्शन नै राम्रो भएको थियो । ‘पाकिस्तान र बंगलादेशजस्ता स्तरीय टोलीसँग खेल्दा हामीले धेरै सिक्न पाएका थियौं । यो हामीलाई अनुभव भएको थियो । त्यसपछि हामीले राम्रो तयारी गर्नैपर्छ भन्ने भयो । साथीहरू सागर पन्त, शरद भेषावकर, अभय राणा मिलेर आफैंआफैं खेलिरहेका हुन्थ्यौं । हामीले राम्रो तयारी गर्दै गएका थियौं । मेरो खेल पनि त्यहीअनुसार सुध्रिएको थियो,’ मुनिकले सुनाए ।

त्यसपछि आफ्नो खेल अझ सुध्रिएको उनी मान्छन् । ‘बंगलादेशसँग हाम्रो खेल राम्रो भयो । पाकिस्तानलाई हामीले ठूलो चुनौती दिन सक्यौं । सलमान बट पाकिस्तानी कप्तान थिए । हाम्रो खेलबाट प्रभावित भएर नजिक आएर उनले कुरा गर्न थालेका थिए । कुवेतसँग मैले राम्रो गरेको हुनाले प्रशिक्षकले मलाई शतक हान्नुपर्छ भन्नुभएको थियो,’ मुनिकले सम्झिए, ‘सिंगापुरसँग हाम्रो राम्रोसँग सुरुआत भएको थियो । आउटफिल्ड निकै फास्ट थियो, ब्याटमा राम्रोसँग लाग्यो भने बल सिधै बाउन्ड्रीलाइन पुग्थ्यो । कभर ड्राइभ राम्रो भएको थियो । साथीहरूसँग खेल्दा यही शट ट्राइ गरेको थिएँ । २०–२२ रनमा एउटा लाइफ पाएको थिएँ, क्याच सजिलो त थिएन । प्वाइन्टमा डाइभ हान्नुपर्ने खालको थियो ।’

पेभेलियन फर्किंदा सबै खुसी हँॅदै मुनिकलाई ‘वेलडन’ भनिरहेका थिए । ‘इनिङ्स सकिएर गएपछि लन्च ब्रेकमा सबैले मलाई बधाई दिए, नेपालबाट पहिलो शतक हान्यौं भनेर । शतक बनाउनुअघिको समयमा दौडिन सकेको थिइनँ । रनर राख्नुपरेको थियो । पेट दुखेको हो कि क्र्याम्प भएको अहिले मैले सम्झिन सकिनँ,’ मुनिक शतकीय क्षण स्मरण गर्दै थिए, ‘९० को स्कोरमा पुगेपछि दबाबले होला मेरो खेल केही स्लो भयो । विश्वविद्यालयको मैदान, स्ट्यान्ड नभए पनि पालभित्र दर्शक राम्रै देखिएको थियो ।’

मुनिकको परिवार नै शतकमय थियो । उनका माहिला दाइ मोनिरले २००० मा दिल्लीमा लाला हरिराम क्रिकेट प्रतियोगितामा आसाम टोलीविरुद्ध १ सय २३ रन बनाएका थिए । मोनिर १९९८ मा काठमाडौंमा भएको एसीसी ट्रफीमा नेपाली टोलीका सदस्य थिए । ठूलो दाइ मोनिष घरेलु क्रिकेटका स्थापित खेलाडी थिए । शतक उनको वरिपरि घुमिरहन्थ्यो । बंगलादेशमा बनाएको त्यही शतकपछि मोनिक सिधै क्यानडा आईसीसी ट्रफी खेल्न जाने नेपाली टोलीमा परेका थिए । उनले जय ट्रफी पनि खेलेका थिएनन्, जुन छनोट आधार मानिएको प्रतियोगिता थियो । मुनिकलाई प्रशिक्षक बलुचले सोझै राष्ट्रिय टोलीमा तानेका थिए । मुनिक राष्ट्रिय प्रतियोगिता नै नखेली नेपाली राष्ट्रिय टोलीमा पर्ने पहिलो खेलाडी पनि हुन् । संयोगले त्यही राष्ट्रिय टोलीबाट नै उनको पहिलो र अन्तिम भ्रमण बन्यो ।

बंगलादेश एसीसी यू–१७ एसिया कप खेल्न जाँदा मुनिकको १० कक्षाको टेस्ट परीक्षा छुटेको थियो । बंगलादेशबाट फर्किएपछि उनको स्कुल सिद्धार्थ वनस्थलीले छुट्टै परीक्षा दिने व्यवस्था मिलाइदिएको थियो । नेपालले २००१ मा एसीसी यू–१९ कप आयोजना गर्दै थियो । मुनिक त्यसको क्याम्पमा त थिए । भर्खर हिमालयन ह्वाइटहाउसमा प्लस टु पढाइ सुरु भइसकेकाले उनले निवेदन दिएर क्याम्प छोडे । उनले खेल्नै छाडेका चाहिँ थिएनन् । स्कुल र कलेजका प्रतियोगिता खेलिरहेका थिए । पढाइ उनको मुख्य रोजाइ भयो । त्यसपछि मात्र क्रिकेट । उनी पढाइमै केन्द्रित हुन थाले । तत्कालीन प्रशिक्षक रोय डायसले उनलाई क्रिकेट खेलिराख्नु भनेर सम्झाएका थिए ।

घरेलु प्रतियोगितामा भने उनी यंगाल क्लब, महावीर क्लब, यती एयरलाइन्स, सिर्जनशीलबाट खेलिरहेका थिए । उनले अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न २००४ को आईसीसी यू–१९ विश्वकप कुर्नुपर्‍यो । बंगलादेशमा उनी नेपाली टोलीको मुख्य आशा बनेर गएका थिए । तर हातको औंलामा चोट लागेपछि उनी बीचैमा फर्किनुपरेको थियो । उनको स्थान लिन प्रेम चौधरी ढाका उडेका थिए ।

अध्ययनका लागि त्यही वर्ष मुनिक अमेरिका लागे । तर अमेरिकामा पनि उनको क्रिकेट प्यासन रोकिएन । कलेज नै परिवर्तन गरे । २००९ सम्म खेले नियमित । वासिङटन क्रिकेट लिग खेल्थे उनी । २०१० पछि क्रिकेटबाट छुट्टिन थाले । यद्यपि वर्षको एकपल्ट हुने कलेज प्रतियोगितामा उनी अहिले पनि सहभागिता जनाउँछन् । फिजिक्समा पीएचडी सिध्याएका उनले पोस्ट डक्टरल रिसर्च गरिरहेका छन् । कोभिड–१९ को महामारीमा यही विषय उनलाई काम लागेको छ । अहिले पनि उनी नेपाली क्रिकेटलाई पछ्याइरहन्छन् । गत वर्ष नेपाल आउँदा दक्षिण एसियाली खेलकुदमा श्रीलंकासँगको खेल कीर्तिपुरमै गएर हेरेका थिए । विश्व ट्वान्टी–२० को सफलता, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त सबैको चासोसाथ अपडेट लिइरहेको उनी सुनाउँछन् । उनले भने, ‘नेपाल ट्वान्टी–२० विश्वकप छनोटमा पुगेको अमेरिकामा राति २–३ बजेसम्म बसेर हेरेको थिएँ ।’

मुनिकको शतकयता नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा २३ शतक बनिसकेको छ । राजु खड्काले नेपाली राष्ट्रिय टोलीबाट पहिलो शतक बनाए । परेश लोहनीले तीनदिवसीयमा दुई शतक बनाएका छन् । पारस खड्का ५ शतक बनाउने एक्लो खेलाडी हुन् । रित गौतमले उमेर समूहमा दुई शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यी सबैभन्दा मुनिकको शतक फरक छ । किनभने उनको शतक नेपालको आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो थियो ।

प्रकाशित : फाल्गुन १५, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?