३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

करछलीका आरोपित फिलिप्सलाई जिम्मेवारी

एन्फाले फिलिप्सलाई बिहीबार महिला टिमको जिम्मेवारी दिएको हो
राजु घिसिङ

काठमाडौँ — टेक्निकल डाइरेक्टरका रूपमा नेपालमा वार्षिक करिब १ करोड २० लाख रुपैयाँ (९९ हजार ९ सय ९६ अमेरिकी डलर) तलब थापेर पनि आयकर छलीका आरोपित अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

करछलीका आरोपित फिलिप्सलाई जिम्मेवारी

एन्फाको वेबसाइटमा लेखिएको छ, ‘एन्फामा सन् २०१९ देखि टेक्निकल डाइरेक्टरका रूपमा कार्यरत अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई संघले अर्को जिम्मेवारी दिएको छ । आजदेखि (बिहीबार) सुरु हुने गरी फिलिप्सलाई नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा एक वर्षका लागि नियुक्ति गरिएको छ ।’

उनलाई उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा कुमार राजभण्डारी, उपेन्द्रमान सिंह, दिनेश व्यञ्जनकार र अर्जुन लामा रहेको प्राविधिक समितिको सिफारिसमा नयाँ जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । महिला फुटबलको प्रमुखमा नियुक्ति पाइसकेका हरि खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णको प्रतिस्पर्धामा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका थिए, जहाँ ल्याइएका फिलिप्सले एएफसी वुमेन्स एसियन कप २०२२ को छनोटमा नेपाली टिम सम्हाल्नेछन् ।

मलेसिया, फिलिपिन्स, भियतनाम, पपुवा न्युगिनीमा काम गरिसकेका फिलिप्सलाई एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा १ अगस्ट २०१९ देखि ३१ जुलाई २०२० सम्म टेक्निकल डाइरेक्टर राखेको थियो । कोरोना भाइरस महामारीले प्रभावित सोही कार्यकालमा पाएको करिब १ करोड २० लाख तलबको आयकर नतिरेको भन्दै फिलिप्सविरुद्ध उजुरी परेपछि आन्तरिक राजस्व विभागले अनुसन्धान नै थालेको थियो, जुन अझै निष्कर्षमा पुगेको छैन । एन्फाले १ जनवरी २०२१ देखि लागू हुने गरी एक वर्षका लागि उनको सम्झौता नवीकरण गरेको थियो, जसमा उनलाई कुनै पनि सिनियर टिमको जिम्मेवारी दिनसक्ने सर्त राखिएको थियो ।

गत असारमा ३० लाख रुपैयाँ बढी करछली गरेको आरोपमा उजुरी परेपछि आन्तरिक राजस्व विभागको कर परीक्षण तथा अनुसन्धान शाखाका तत्कालीन निर्देशक गोपी कोइरालाले भनेका थिए, ‘ग्यारी फिलिप्सले करछली गरेको उजुरीमाथि हामीले छानबिन थालिसकेका छौं । यहाँ (नेपाल) आएर कमाएको स्रोत भएकाले उनको कमाइमा कर लाग्नुपर्ने हो ।’ एन्फाको कार्यालय रहेको क्षेत्रलाई नियमन गर्दै आएको आन्तरिक राजस्व कार्यालय, पुल्चोकका तत्कालीन प्रमुख डिलाराम सापकोटाले पनि एन्फाले फिलिप्सको नाममा टीडीएस (स्रोतमा करकट्टी) नगरेको बताएका थिए ।

‘कुनै पनि टिमको मुख्य प्रशिक्षक नभएको खण्डमा त्यो जिम्मेवारी तोक्न सक्ने सम्झौताअनुसार उनलाई थप सुविधा नहुने गरी जिम्मेवारी दिइएको हो,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘उनी एएफसीसँगै सम्झौता भएर नेपालमा काम गर्न आएका हुन्, उतैबाट तलब बुझ्ने हो ।’ फिलिप्सले आयकर नतिरेको सम्बन्धमा उनले भने, ‘धेरै डिटेलमा अहिले केही भन्ने अवस्था छैन, त्यो छुट्टै कुरा पर्‍यो ।’

एन्फासँग फिलिप्सको सम्झौतामा श्रमसम्बन्धी नेपालको नियम–कानुन लागू हुने प्रस्टै लेखिएको छ । करसम्बन्धी नियमानुसार पनि १८० दिन नेपालमा काम गरेपछि उसको आयमा कर लाग्छ । जबकि फिलिप्सले नेपालमै काम गरेको आधारमा मासिक ८ हजार ३ सय ३३ अमेरिकी डलर पाउँछन् । त्यसैले पनि उनको आयमा कर लाग्ने आन्तरिक राजस्व विभागले जनाएको थियो ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?