भारतले इंग्ल्यान्डलाई १० विकेटले हरायो

एजेन्सी

अहमदावाद — भारतले इंग्ल्यान्डलाई तेस्रो टेस्टको दोस्रो दिन बिहीबार १० विकेटले पराजित गरेको छ । यससँगै भारतले चार टेस्टको शृंखलामा २–१ को अग्रता लिएको छ । दुई दिनमात्र चल्न सकेको डे नाइट टेस्टमा भारतले जितका लागि आफ्नो दोस्रो इनिङ्समा ४९ रनको लक्ष्य पाएको थियो । त्यसलाई भारतले बिनाविकेटको क्षतिमा पूरा गरेको थियो ।

भारतले इंग्ल्यान्डलाई १० विकेटले हरायो

प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल १५ र रोहित शर्मा २५ रन बनाएर नटआउट रहे । यसअघि इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा ८१ रन बनाएर अलआउट भएको थियो । त्यसमा अक्षर पटेलले पाँच र रविचन्द्रन आश्विनले चार विकेट लिए । आश्विनले जोफ्रा आचरको विकेट लिने क्रममा टेस्ट क्रिकेटमा आफ्नो चार सयौं विकेट पनि पूरा गरे ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले बनाएको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । नरेन्द्र मोदी क्रिकेट मैदानमा दिनको सुरुआत भने भारतको पहिलो इनिङ्सबाट भएको थियो । भारतले तीन विकेट गुमाएर ९९ रनबाट अगाडि खेल्न सुरु गरेको थियो र पूरा टिम १ सय ४५ रन बनाएर अलआउट भएको थियो । त्यसमा इंग्लिस कप्तान जोए रुटले पाँच र ज्याक लेचले चार विकेट लिए ।


प्रकाशित : फाल्गुन १३, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?