३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

टेस्ट भारतको पकडमा

एजेन्सी

अहमदाबाद — भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो दिनै खेलमाथि पकड राखेको छ । बुधबार दिवारात्रि टेस्टको पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर ९९ रन बनाएको छ ।

टेस्ट भारतको पकडमा

घरेलु टोली १३ रनले मात्र पछाडि छ । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा ५७ र अजिन्क्या रहाने एक रन बनाएर क्रिजमा छन् ।

कप्तान विराट कोहली २७ रन बनाएर आउट भए । कोहली र शर्माले तेस्रो विकेटमा ६४ रनको साझेदारी गरेका थिए । लयमा देखिएका रोहितले ९ चौका प्रहार गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल ११ रन बनाएर आउट भए भने चेतेश्वर पुजाराले खाता खोल्न सकेनन् । चार टेस्टको शृंखला १–१ को रोमाञ्चक मोडमा छ । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने इंग्लिस कप्तान जो रुटको निर्णय सही देखिएन । पूरा टिम १ सय १२ रनमात्र बनाएर अलआउट भयो । भारतका लागि सय टेस्ट खेलिरहेका तीव्र गति बलर इशान्त शर्माले डोम सिब्लीलाई शून्यमा आउट गरेपछि इंग्ल्यान्डको पतन सुरु भएको थियो ।

ज्याक क्राउली इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहे । प्रारम्भिक ब्याट्सम्यान क्राउलीले ५३ रन बनाए । उनले तेस्रो विकेटमा १७ रन बनाएका कप्तान रुटसँग ४७ रनको साझेदारी गरे । यो नै पाहुना टिमका लागि एकमात्र उल्लेखनीय पक्ष रह्यो । त्यसयता इंग्ल्यान्डले ३८ रनमा बाँकी सबै विकेट गुमाएको थियो । भारतीय बलरमध्ये अक्षर पटेल सर्वाधिक घातक साबित भए । उनले ३८ रनमा ६ विकेट लिए भने रविचन्द्रन अश्विनले तीन विकेटका लागि २६ रनमात्र खर्चे ।

इंग्लिस टिम ४८.४ ओभरमात्र टिकेको थियो । पटेल र अश्विनको निर्णायक स्पिन बलिङ आक्रमणमै टिकेर भारतले दोस्रो टेस्ट जितेको थियो । दिनको सुरुमा मोटेरा क्रिकेट मैदानको नाम परिवर्तन गरेर त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा राखिएको थियो ।

पूरा स्पोर्टस कम्प्लेक्सको नाम सरदार बल्लबभाइ पटेलको नाममा रहे पनि मैदानको नाममात्र ‘नरेन्द्र मोदी’ राखिएको हो । मैदानको नाम परिवर्तन गरिएकोमा त्यसको चर्को आलोचना पनि भएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?