बाँसबारीको आरामदायी जित

कान्तिपुर संवाददाता

काठमाडौँ — टुसाल युथ क्लबलाई ३–१ गोलले पराजित गरी तेस्रो स्थानको बाँसबारी क्लबले शीर्ष दुई स्थानका टोलीसँगको दूरी कम गरेको छ । कोरोना महामारीका कारण बीचैमा स्थगित भएर मंगलबारदेखि सुरु ‘बी’ लिगको छैटौं चरणमा बाँसबारीले आरामदायी जित निकालेको हो ।

सातदोवाटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा बाँसबारीबाट भीष्मराज घिमिरेले दुई गोल गरे । अर्को एक गोल अनिल गुरुङले थपे । टुसालबाट दोस्रो हाफमा सुनील धामीले एक गोल फर्काएका थिए ।

भीष्मले पाँचौं मिनेटमै गोल गरी बाँसबारीलाई अग्रता दिलाए । ३४ औं मिनेटमा उनैले गोल गरेपछि पहिलो हाफमा बाँसबारीले २–० को अग्रता बनायो । अनिलले ५४ औं मिनेटमा गोल गरेर अग्रता फराकिलो पारे । टुसालका सुनीलले ७० औं मिनेटमा एक गोल फर्काएका थिए ।

खेलको अन्त्यतिर एलोन राईले पेनाल्टीमा गोल गर्न नसक्दा टुसालले अन्तर घटाउने अवसर खेर फालेको हो । ६ खेलबाट १४ अंकसहित बाँसबारी तेस्रो स्थानमा छ । टोलीले ५ जित र १ हारको नतिजा निकालेको छ । रेलिगेसनको व्यवस्था नभएको अघिल्लो सिजनको लिगमा पुछारमा रहेका कारण बाँसबारीले यो सिजन एक अंकको कारबाही भोगेको छ । समान खेलबाट ८ अंक रहेको टुसालले भने बाँसबारीलाई हराएर तेस्रो स्थानमा उक्लने अवसर गुमायो । दोस्रो खेलमा श्रीकुमारी क्लबले भगवती क्लबमाथि ४–१ को सहज जित हासिल गर्‍यो ।

दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा खेलेको कुमारीका लागि आशिष राईले ह्याट्रिकसहित ४ गोल गरे । उनले २०, ५३, ६४ र ७७ औं मिनेटमा गोल गरेका हुन् । ५८ औं मिनेटमा विवेक पुनले दोहोरो पहेँलो कार्ड पाएपछि कुमारी १० खेलाडीमा समेटिएको थियो । खेलको इन्जुरी समयमा भगवतीका नवराज गुरुङले एक गोल फर्काए । जितपछि कुमारीले अंकतालिकामा दुई स्थान सुधार गरेको छ । ६ खेलबाट ६ अंकसाथ कुमारी आठौं स्थानमा पुगेको छ । समान खेलबाट ३ अंकसहित भगवती दसौं स्थानमा छ ।


प्रकाशित : फाल्गुन १३, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?