भलिबललाई केल्मीको साथ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय भलिबल टोलीले अब स्पेनिस खेल सामग्री उत्पादन कम्पनीका सामग्री प्रयोग गर्ने भएको छ । केल्मीका लागि नेपाली आधिकारिक विक्रेता कामारू ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच सोमबार दुईवर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भलिबललाई केल्मीको साथ

रकम नखुलाइए पनि नेपालको पुरुष र महिला राष्ट्रिय टोलीलाई आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा आवश्यक सम्पूर्ण खेल सामग्री केल्मीले उपलब्ध गराउने छ । त्यसअनुसार दुवै राष्ट्रिय टोलीका लागि खेल पोसाक, प्रशिक्षक जर्सी, पोलो टी–सर्ट, नी क्याप, जुत्ता/मोजा उपलब्ध गराइने छ । त्यसबाहेक संघलाई वर्षको २ सय ५० थान बल र ५० थान नेट केल्मीले दिनेछ ।

त्यसबापत नेपाल भलिबल संघको केल्मीको ब्रान्ड विस्तारका लागि प्रचारप्रसारको सहयोग गरिदिनुपर्ने सम्झौतामा उल्लेख छ । स्पेनबाट चीन हुँदै नेपाल प्रवेश गरेको केल्मी ब्रान्डले राष्ट्रिय फुटबल टोलीसँगको तीनवर्षे सम्झौता हालै सकिएको छ । यसबीचमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन फुटबल क्लबदेखि मोफसलका प्रतियोगितामा समेत केल्मीको उत्पादन प्रयोग हुन थालेको छ । विभागीय टोलीहरूले पनि अहिले केल्मीकै खेल सामग्री प्रयोग गर्छन् ।

‘नेपालमा फुटबलबाट सुरु भएको केल्मीले देशभरका खेलकुद प्रतियोगितामा आफूलाई विस्तार गरिसकेको छ,’ केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘नेपालको राष्ट्रिय खेल भलिबलसँग सम्झौता गर्न पाउँदा खुसी छौं ।’

उनले फुटबलमा जस्तै भलिबलमा पनि केल्मी ब्रान्ड प्रयोग सफल हुने विश्वास व्यक्त गर्दै खेलकुदमा व्यवसायीकरणले मात्र खेलाडीको जीवन सुरक्षामा सहयोग पुग्ने बताए । भलिबल संघका अध्यक्ष शर्माले केल्मीको साथले नेपाली भलिबलको स्तरोन्नतिमा एक खुट्किलो माथि उठ्न सकिएको बताए ।

प्रकाशित : फाल्गुन ११, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?