बढाइयो जिल्लागत निगरानी
परीक्षणलाई छैन प्रयोगशाला
काठमाडौँ — कर्णालीमा पनि बर्डफ्लु (एच५एन८) देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । किसानले पालेका स्थानीय कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
‘उपत्यकामा बर्डफ्लु देखिएपछि जिल्लागत रूपमा निगरानी बढाएका छौं, सोही क्रममा कर्णाली प्रदेशको सुर्खेतमा पनि देखियो,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘रोग भेटिएका क्षेत्रमा पशुपन्छीलाई नियन्त्रणमा लिएर थप निगरानी गरिरहेका छौं । संक्रमण क्षेबाट अन्य क्षेत्रमा पशुपन्छी ओसारपसार गर्दा प्रमाणपत्र अनिवार्य चाहिने निर्णय गरेका छौं ।’
बर्डफ्लु देखिएको क्षेत्रबाट २७९ कुखुरा, १०२ परेवा, २२ अन्डा र ३१ किलो दाना नष्ट गरी सुरक्षित रूपमा तह लगाइएको विभागले जनाएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमणसमेत गरिसकिएको ढकालको दाबी छ । ‘पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय, वीरेन्द्रनगर नगरपालिकालगायत निकाय परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरी रोग नियन्त्रण गरिएको छ,’ उनले भने ।
बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकाय परिचालन गरिएको थियो । रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न केन्द्रीयस्तरबाट समेत पशु चिकित्सकको विज्ञ टोली सुर्खेत पठाइसकिएको ढकालले जानकारी दिए । यसअघि माघ १६ मा उपत्यकामा बर्डफ्लु देखिएको थियो ।
तारकेश्वर नगरपालिका–७ साङ्लेखोलास्थित फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु रोग पुष्टि भएको थियो । त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ किलो दाना नष्ट गरिएको थियो । त्यसको करिब १२ दिनपछि तारकेश्वर नगरपालिकामै पुन: बर्डफ्लु देखिएको थियो । अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु लागेको पाइएको थियो । बर्डफ्लु देखिएको क्षेत्रमा १४ सय २१ हाँस र ४२ वटा लोकल कुखुरा, २६ अन्डा र ८ सय किलो दाना नष्ट गरिएको थियो ।
मुख्यत: चराबाट बसाइँसराइका क्रममा बर्डफ्लु सर्ने जानकार बताउँछन् । भारतमा समेत बर्डफ्लु देखिएपछि यहाँ थप चुनौती बढेको हो । भारतमा बर्डफ्लु देखिएपछि संक्रमित क्षेत्रबाट माछा–मासु आयात बन्देज गरिएको छ । यद्यपि खुला सीमाका कारण तस्करी व्यापक छ । सीमा सुरक्षा, भन्सार र स्थानीय प्रशासनसँग समन्वय भइरहे पनि तस्करी रोकिएको छैन । पछिल्लो समय लुकिछिपी धेरै आयात भइरहेको सूचना अधिकारी ढकालले बताए । ‘चोरी पैठारीबाट आयात भएका कुखुरा सीमामै नष्ट गरिएको छ,’ उनले भने, ‘यद्यपि चुनौती धेरै छ ।’
नेपालमा बर्डफ्लु प्रवेश गरिसकेकाले विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र अनिवार्य माग्न थालेको छ । यद्यपि तस्करीबाट प्रशस्त आयात भइरहेको छ । बर्डफ्लु फैलिन थालेपछि स्थानीय तहलाई पनि सुरक्षाका विधि अपनाउन आग्रह गरिएको जनाइएको छ । जंगली पशुपन्छीसँग सम्पर्क हुने गरी पन्छी नपाल्न पनि आग्रह गरिएको विभागले बताएको छ ।
‘प्रदेश मन्त्रालय र निर्देशनालयमार्फत ७७ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवालाई जानकारी गराएका छौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट ७ सय ५३ वटा पशु सेवा शाखा कार्यालयलाई पनि पत्र पठाएका छौं,’ ढकालले भने, ‘कुनै पनि आशंका देखिए वा बिरामी भए त्यो ठाउँबाट नमुना संकलन गर्छौं ।’
यता विभागले भने बर्डफ्लु रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको जनाएको छ । विभागअन्तर्गत सञ्चालनमा रहेका ७ मध्ये ५ प्रयोगशाला कोभिड–१९ भाइरस परीक्षणमा प्रयोग भइरहेको ढकालले जानकारी दिए । यसले पनि देशव्यापी रूपमा बर्डफ्लु परीक्षण गर्न समस्या भएको उनको भनाइ छ । ‘धेरै क्षेत्रमा फैलियो भने प्रयोगशाला अभाव हुन्छ,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले पनि प्रयोगशालाको अभाव रहेको स्विकारे । ‘भएकै स्रोतसाधनबाट काम गरिरहेका छौं । बर्डफ्लुको लक्षण देखिएका ठाउँमा प्राविधिक कर्मचारी पुगेर नमुना परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘व्यापक रूपमा फैलिए प्रयोगशालाकै अभाव हुन्छ ।’
प्रकाशित : फाल्गुन ११, २०७७ ०६:५९