२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट

कुशल तिमल्सिना

काठमाडौँ — पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ शनिबार मध्यपुर थिमिको सांस्कृतिक थलो दुईपोखरीमा आयोजित १५ औं एनएनआईपीए स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट चुनिएका छन् । 

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट

अवार्डको यस संस्करणमा वर्ष २०७६ सालभर गरेको उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ । गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा भएको थियो । त्यही प्रतियोगितामा समावेश २६ खेलबाट सम्बन्धित संघको सिफारिसमा एक–एक खेलाडीलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।

उत्कृष्टमध्येबाट गौरिका र मन्देकाजी सर्वोत्कृष्ट चुनिएका हुन् । उनीहरूले जनही एक लाख पुरस्कार पाए । मन्देकाजीले १३ औं सागमा २ स्वर्ण जितेका थिए । घरेलु प्रतियोगिताहरूमा एकछत्र राज गरेका उनले सोही वर्ष बंगलादेशमा आयोजित साफ कराते च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए । १३ औं सागमा ४ स्वर्ण जितेर कीर्तिमान रचेकी गौरिकाले थप २ रजत र ३ कांस्य पनि जितेकी थिइन् । सागको एकै संस्करणमा सबैभन्दा धेरै स्वर्ण जितेर कीर्तिमान राखेकी गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी हुन् । उनी अघिल्लो सातामात्र बेलायतबाट नेपाल आएकी हुन् । सागका स्वर्ण विजेताद्वय गल्फका सुवास तामाङ र कुस्तीकी संगीता धामीले उदीयमान खेलाडीको अवार्ड पाए । दुवैले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए । यो विधा अवार्डमा पहिलोपल्ट समावेश गरिएको हो ।

सागमा दोहोरो स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठले प्रतिभावान खेलाडीको अवार्ड जिते । सुजल नेतृत्वको फुटबल टोलीले सागमा स्वर्ण जितेको थियो । मछिन्द्रले ‘ए’ डिभिजन लिगको उपाधि जित्दा सुजल टोलीका मुख्य खेलाडी थिए ।

गजराज जोशी आदर्श खेल व्यक्तित्व सम्मानबाट यसपल्ट करातेका पूर्वमुख्य प्रशिक्षक अकबर शाह सम्मानित भए । सन् १९९९ मा नेपालमै आयोजित आठौं सागमा करातेले सर्वाधिक १४ स्वर्ण जित्दा उनी नेपाली टोलीका प्रशिक्षक थिए । उनले नेपाली करातेको विस्तार र व्यापकतालाई दिएको योगदानस्वरूप सम्मान गरिएको एनएनआईपीएले जनाएको छ । उनले ३५ हजार रुपैयाँ पाए । उनले प्राप्त पुरस्कार रकम बोसीगाउँ कराते डोजोलाई हस्तान्तरण गरे । खेलकुद पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका खेलपत्रकार रोशनसिंह राउतले पाए । पारा एथलिट अवार्डबाट टेबलटेनिसका केशव थापा सम्मानित भए । अवार्डको स्थानीय आयोजकका रूपमा मध्यपुर थिमि नगरपालिका थियो । अर्को संस्करणको अवार्ड ललितपुरको गोदावरी नगरपालिकामा हुने कार्यक्रममा जानकारी गराइयो ।

एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी गौरिका सिंह र मन्देकाजी श्रेष्ठ । तस्बिर : कान्तिपुर

२६ खेलका उत्कृष्ट खेलाडी

गौरिका सिंह (पौडी), मन्देकाजी श्रेष्ठ (कराते), सुजल श्रेष्ठ (फुटबल), कल्पना परियार (सुटिङ), कुलबहादुर थापा (भलिबल), पुरुषोत्तम वज्राचार्य (टेबलटेनिस), विकास थापा (भारोत्तोलन), प्रदीप खड्का (लनटेनिस), रविना थापा (फेन्सिङ), कल्पना ओली

(ह्यान्डबल), विपना ब्लोन (स्क्वास), मीनु गुरुङ (बक्सिङ), श्याम बुढाथोकी (खोखो), रत्नजित तामाङ (ब्याडमिन्टन), सोनी गुरुङ (ट्रायथलन), अञ्जली चन्द (क्रिकेट), आयशा शाक्य (तेक्वान्दो), सुवास तामाङ (गल्फ), देविका खड्का (जुडो), सनातन मल्ल (आर्चरी), जुनी राई (उसु), अनुशा मल्ल (बास्केटबल), संगीता धामी (कुस्ती), मेनुका राजवंशी (कबड्डी), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र बुद्धिबहादुर तामाङ (साइक्लिङ) ।

महिला भलिबल खोइ ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्ष २०७६ सालमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको नाम सिफारिस गर्न सम्बन्धित खेल संघलाई पत्राचार गरेको थियो । यसपालिको अवार्डका लागि १३ औं सागमा समावेश २६ खेलको मापदण्ड तोकिएका कारण संघहरूलाई उत्कृष्ट खेलाडी सिफारिस गर्दा सागकै प्रदर्शन आधार मान्न भनिएको थियो ।

तर भलिबल संघले भने पुरुष टोलीका खेलाडीलाई सिफारिस गर्‍यो । जबकि सागमा नेपालको पुरुष राष्ट्रिय टोली पदकविहीन थियो भने महिला टोलीले ऐतिहासिक रजत पदक जितेको थियो । नेपाल भलिबल संघले भने पुरुष र महिला दुवै टोलीका उत्कृष्ट एक–एक जनाको नाम आयोजकलाई उपलब्ध गराएको दाबी गरेको छ । ‘उहाँहरूले पुरुष र महिला एक–एक उत्कृष्ट खेलाडीको नाम माग्नुभएको थियो, हामीले पुरुषबाट कुलबहादुर थापा र महिलाबाट प्रतिभा मालीको नाम सिफारिस गरेका हौं,’ भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले कान्तिपुरसित भने ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भने संघबाट एकजनाको नाममात्र आएको प्रस्ट पारे । ‘हामीले सबै खेल संघलाई उनीहरूका पुरुष वा महिलामध्ये उत्कृष्ट एक खेलाडीको सिफारिस माग्ने गर्छौं । संघको सिफारिसकै आधारमा उत्कृष्ट अवार्ड दिइने हो,’ श्रेष्ठले भने ।

लनटेनिसमा संघले प्रदीप खड्काको नाम सिफारिस गरेको थियो । उनीसहित ६ जना सम्मिलित टोलीले सागमा कांस्य पदक जितेको थियो । तर महिलातर्फ प्रेरणा कोइरालाले एकल, युगल र टिममा गरी तीन पदक जितेकी थिइन् ।

राम्रो प्रदर्शन गर्ने खेलाडी नै सिफारिसमा पर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा नेपाल टेनिस संघका महासचिव मनोहरदास मूलले अहिलेसम्म अवार्ड नपाएका खेलाडीलाई प्रोत्साहनस्वरुप सिफारिस गरिएको तर्क गरे ।

‘प्रेरणा र पुरुषमा शीर्ष वरीयताका संरक्षकभूषण वज्राचार्यले यसअघि नै पाइसकेका छन् । यो अवार्ड सबैले पालैपालो पाऊन् भन्ने हाम्रो मान्यता हो, किनभने यसले खेलाडीहरूलाई प्रोत्साहित पनि गराउँछ,’ महासचिव मूलले भने, ‘नियतवश सिफारिस नगरिएको होइन ।’

प्रकाशित : फाल्गुन ८, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?