कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एपीएफको च्याम्पियन शैली

एपीएफले आर्मीलाई ३–० ले पन्छाउँदै शतप्रतिशत जितसहित महिला राष्ट्रिय लिगको उपाधि उचाल्यो ।
राजु घिसिङ

काठमाडौँ — घरेलु महिला फुटबलमा पहिलोपल्ट टिम बनाउने श्रेय एपीएफलाई जान्छ । नेपालले पहिलोपल्ट एएफसी वुमेन्स च्याम्पियनसिप सन् २००४ (२०६१ साल) मा खेलेको थियो । जमुना गुरुङ, अनु लामा, भगवती थापालगायत चीनमा खेलेको त्यही टिमका अधिकांश खेलाडीलाई आबद्ध गर्दै एपीएफले २०६२ सालमा महिला टिम बनायो । अर्को वर्षदेखि प्रतियोगिता खेलेसँगै त्यो टिमले मैदानमा प्रभाव देखाउन थालेको हो । खेलेका प्रायः सबै प्रतियोगिताको ट्रफी एपीएफले प्रतिस्पर्धीलाई उठाउन दिएन ।

एपीएफको च्याम्पियन शैली

२०६९ सालमा पहिलो राष्ट्रिय लिग धनगढीमा भयो । यसमा भने अन्तिम खेलमा पुलिससँग १–० ले हारेपछि एपीएफले उपाधि नै गुमाउनुपरेको थियो । धेरै वर्षपछिको त्यो हारसँगै एपीएफ ओरालो लाग्न थाल्यो । घुँडाको शल्यक्रियापछि जमुनाले पनि खेल्न छाडिन् । पहिलो टिमको पुस्ता सकिँदै जाँदा एपीएफको प्रदर्शन नै खस्किँदै गयो । लमजुङकी सावित्रा भण्डारी ६ वर्षअघि भित्रिएसँगै एपीएफ फेरि बलियो बन्यो । महिला फुटबलमा फेरि सबैभन्दा प्रभावशाली देखियो । त्यो लय कायम राख्दै एपीएफले शतप्रतिशत जितसहित यसपालि महिला राष्ट्रिय लिगको उपाधि कब्जा गर्‍यो । एपीएफले दशरथ रंगशालामा चिरपरिचित प्रतिद्वन्द्वी आर्मीलाई ३–० ले पन्छाउँदै शुक्रबार लिग उपाधि ह्याट्रिकलाई पूर्णता दियो ।

सबै (१२) खेल जितेको एपीएफले पूरा ३६ अंक नै जोड्यो । दुई खेलअघि नै उपाधि निश्चित गरेको एपीएफले अन्त्यमा आर्मीलाई १० अंकले पछाडि पार्‍यो । पुलिसको अंक त एपीएफको भन्दा आधामात्रै भयो । क्यामरुनका चार खेलाडी ल्याएपछि स्याङ्जाको वालिङ नगरपालिकाले पनि राम्रै गर्‍यो, चौथो (१७ अंक) भयो । भारतबाट चार खेलाडीलाई भित्र्याएको विराटनगर (१६ अंक) ठीकै देखियो । मोफसलका टिममध्ये सबैभन्दा अगाडि रहने लक्ष्य राखेको रौतहटको चन्द्रपुर (९ अंक) पनि फितलो नै रह्यो । महिला खेलाडी उत्पादनका लागि उर्वर थलो भएर पनि चन्द्रपुरले नतिजामा त्यसलाई उतार्न सकेन । चौदण्डीगढी त बिचरा नै देखियो । अंक जोड्न असफल रहेको उदयपुरको यो टिम अरूका गोलको वर्षात् गर्ने अवसरमात्रै बन्यो ।

महिला फुटबलमा विभागीय टिमहरू एपीएफ, पुलिस, आर्मीले रजाइँ गरिरहेका छन् । यसपालिको लिगमा पनि शीर्ष तीनमा विभागीय टिम नै रहे । तर, पुलिसको प्रदर्शन खस्कियो । आर्मी भने केही बलियो र आधुनिक फुटबल खेल्न सक्ने टिम बनेर आयो । आर्मी र पुलिसले एपीएफलाई उपाधि होडमा चुनौती दिने अपेक्षा गरिएको थियो तर, त्यस्तो भएन । पहिलोपल्ट आयोजित ‘डबल लिग’ को पहिलो भेटमा आर्मीले एपीएफलाई टक्कर दिएको थियो । स्टार फरवार्ड सावित्रा रोकिए पनि मञ्जली योञ्जन र सरु लिम्बूको गोलमा एन्फा कम्प्लेक्सको खेल एपीएफले २–० ले जितेको थियो । एपीएफको तेस्रो खेलमात्रै भए पनि त्यही प्रदर्शनबाट एपीएफले च्याम्पियन बन्ने संकेत दिएको थियो । पुलिसविरुद्ध ‘दोस्रो लेग’ मा २–१ को जित हात पार्न एपीएफले संघर्ष गर्नुपर्‍यो । तर, उसलाई बाँकी खेल जित्न गाह्रो भएन । चौदण्डीविरुद्ध त दुई खेलमा ३६ गोल (२२–० र १४–०) नै गर्न भ्यायो ।

सात ह्याट्रिकसहित ४३ गोल गरेकी सावित्राले दसौं खेलमा आएर पुलिसविरुद्ध चोट बोक्दै ६९ औं मिनेटमा मैदान छाडेकी थिइन् । दायाँ घुँडामा एसीएल र मिडियल मिनिस्कसको शल्यक्रिया गर्नुपर्ने भयो, करिब ९ महिना मैदानबाहिरै रहने भइन् । अनि आर्मी पुलिसविरुद्ध १–१ मा रोकिएपछि एपीएफ दुई खेलअघि नै च्याम्पियन भयो । उपाधि सुरक्षित गरेलगत्तै सावित्राबिना एपीएफलाई विराटनगरमाथि १–० को जित निकाल्न निकै गाह्रो भयो । त्यसैले हुन सक्छ, आर्मीले उसको जितको शृंखलालाई अन्तिम खेलमा आएर पूर्णविराम लगाउने योजना बनाएको थियो । तर, सरु लिम्बूको प्रेरणादायी खेलअघि आर्मी कमजोर साबित भयो । तीनै गोलमा आर्मीकी ‘गल्ती’ एपीएफलाई योगदान बन्यो ।


लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित सरुले ४५ औं मिनेटमा अनिता केसीको पासमा पेनाल्टी क्षेत्रको ठीकभित्रबाट आकर्षक गोल गर्दै एपीएफलाई १–० को अग्रता दिलाइन् । अनिताले मञ्जलीको क्रसमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले पर्खिरहेको बललाई हेडद्वारा जाली चुमाउँदै ८६ औं मिनेटमा अग्रता दोब्बर बनाइन् । सरुले मैदानको मध्यभागमा विपक्षी खेलाडीसँग खोसेर दिएको बललाई मञ्जलीले क्रस गरिन् । अर्को गोल चार मिनेटको इन्ज्युरी समयको अन्तिममा भयो । अनिता केसीको हेडरमा अञ्जनाले बल रोकिन्, जसलाई करिब २५ यार्डबाट सरुले सिधै गोलमा परिणत गर्दै एपीएफलाई ३–० को जित दिलाइन् । आर्मीले एउटा पनि गतिलो अवसर बनाउन सकेन ।

च्याम्पियन एपीएफले १५ लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता आर्मीले ८ लाख, तेस्रो भएको पुलिसले ५ लाख र चौथो वालिङले ३ लाख पाए । फेयर–प्ले अवार्ड पाएको चन्द्रपुरले १ लाख ५० हजार हात पार्‍यो । उत्कृष्ट घोषित प्रशिक्षक भगवती थापा (एपीएफ), गोलकिपर उषा नाथ (पुलिस), डिफेन्डर अमृता जैसी (पुलिस), मिडफिल्डर विमला चौधरी (आर्मी) र फरवार्ड सावित्रा भण्डारी (एपीएफ) लाई ५०–५० हजार दिइयो । लिगकै सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बूले यामाहा स्कुटर प्राप्त गरिन् ।

माथिल्लो स्तर

लिगको तयारीमै घुँडामा चोट बोकेकी डिफेन्डर हीराकुमारी भुजेल सुरुतिर मैदानमा देखिएकी थिइन् । चोटमुक्त नभएपछि उनी ‘बेन्च’ मै सीमित भइन् । सिर्जना चेम्जोङले हीराको खासै अभाव महसुस गर्न दिइनन् । दसौं खेलमा आएर सावित्रालाई गम्भीर चोट लाग्यो । उनीबिना पनि रबिना गोलेको गोलमा एपीएफले पुलिसलाई २–१ ले हरायो । लिगको उपाधिमा पहिलो ह्याट्रिककर्ता बन्ने एपीएफको आधार त्यही थियो ।

राइट–ब्याक मनमाया लिम्बू, विंगर मञ्जलीको करार लिग नजिकमात्रै एपीएफले नवीकरण गरेको थियो । एपीएफलाई खास समस्या गोलकिपरमा थियो । अरू टिममा २३ खेलाडीमध्ये तीनजना किपर थिए भने एपीएफमा दुई जनामात्रै । राष्ट्रिय टिमकी पहिलो रोजाइकी एन्जिला तुम्बापो सुब्बा र रूपा रानामगरले लिग धान्नुपर्ने अवस्था थियो । एन्जिला अनुभवी पनि हुन् भने रूपाले गोलपोस्ट सम्हाल्ने मौका कमै पाएकी थिइन् । त्यसैले हुनुपर्छ, एपीएफले चौदण्डीविरुद्ध दुवै खेलमा एन्जिलालाई आराम दिएर रूपालाई खेलाइएको थियो । विराटनगरविरुद्ध ७–० (पहिलो लेग) मा पनि दोस्रो हाफमा रूपाले पोस्टको सम्हालेकी थिइन् ।

एपीएफको पोस्टमा विपक्षीले कमै आक्रामण गरे । उसले ११ खेलमा विपक्षीलाई गोल गर्न दिएन । यू–१७ विश्वकप खेलेकी वालिङकी क्यामरुनी फरवार्ड मेथो रुथ पनि एपीएफविरुद्ध गोल गर्न असफल भइन् । तर, एपीएफ र एन्जिलाको गोलविहीन यात्रालाई पुलिसकी अमृता जैसीले पूर्णविराम लगाइदिइन् । विराटनगरमा दुई वर्षअघि भएको महिला साफ च्याम्पियनसिपमा नेपाली टिमको विंग्समा अनिता बस्नेत र मञ्जली योञ्जन खुबै चलेका थिए । तर, यो लिगमा त्यस्तो क्रस, पास र गोल यी दुईबाट देखिएन ।

पास खेल्ने शैली, मिडफिल्डमा पकड, विपक्षीमाथि निरन्तर आक्रमण र बलियो फरवार्डलाई पनि नियन्त्रणमा राख्ने डिफेन्सको प्रदर्शन हेर्दा एपीएफ लिगकै सबैभन्दा बलियो टिम हो । अनिता–मञ्जली धारिलो नहुँदा सेन्ट्रल मिडफिल्डर सरु परिपक्व भएर आइन् । उनको सटीक पास, अचुक प्रहार, बल खोस्ने कला र ट्याकल मन लोभ्याउने खालको रह्यो । मिडफिल्डमा रेनुका नगरकोटेको प्रदर्शन पनि कम थिएन । अनिता केसी केसीले ५, अनिता बस्नेतले ८ गोल, अनुभवी अनु लामाले ६ गोल गर्दै अग्रपंक्तिमा सावित्रालाई साथ दिएका थिए ।

आर्मी दुवै खेलमा पुलिसँग बराबरीमा रोकिनु एपीएफको भाग्य पनि हो । त्योभन्दा बढी खेलाडीको मिहिनेत र कौशल, दशकयता एउटै टिममा खेलेका अनुभवी र नयाँ खेलाडीको संयोजनले एपीएफ च्याम्पियन भएको हो । त्यसैले त एपीएफ लिगका सात टिममध्ये अर्कै अर्थात् मथिल्लो स्तरको टिम प्रस्टै देखियो, साबित भयो ।

प्रीतिको प्रभाव

लिगबाटै एपीएफ पुगेकी १६ वर्षीया प्रीति राईले तीन खेलमात्रै पहिलो रोजाइमा खेलिन्, बाँकीमा दोस्रो हाफमा मौका पाइन् । उनले हरेक क्षण मैदानमा आफूलाई सिद्ध गरिन् । विशेषगरी उनको पास र प्रहार सुझबुझपूर्ण थियो । उनको प्रवेशसँगै एपीएफले आक्रामक रूप लिएको प्रस्टै देखिन्थ्यो ।

कागजी रूपमा लिगकै एकमात्र महिला मुख्य प्रशिक्षक हुन् भगवती थापा । उनले लिगकै उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि हात पारिन् । तर, टिम सहायक प्रशिक्षक जनकसिंह थारूको निर्देशनमा चल्थ्यो । उनले परिस्थितिअनुसार ४–४–२ र ३–५–२ को संरचनामा टिमलाई उतारेको थियो । तीन डिफेन्स हुँदा निशा थोकर मैदानबाहिर हुन्थिन् भने मञ्जली–प्रीति–रेनुका–सरु–अनिता बस्नेत मिडफिल्डमा । एक महिना चलेको लिगमा एपीएफका सबै खेलाडीले धेरथोर खेल्ने मौका पाए । दस वर्षअघि राष्ट्रिय टिममा रहेकी रञ्जना दर्जी पनि मैदानमा ओलिइन् । यसैपालि सुष्मा तामाङ, सुस्मिता तामाङ, रोशनी बोहरा क्षत्री एपीएफ पुगेकै सिजन लिग च्याम्पियन भए ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?