कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सावित्रा ९ महिना बाहिरै

महिला फुटबलकी ‘गोल मेसिन’ लाई दायाँ घुँडाको एसीएल र मिडियल मिनस्कसको शल्यक्रिया गरेपछि खेलमा फर्किन करिब ९ महिना लाग्ने
राजु घिसिङ

काठमाडौँ — महिला राष्ट्रिय लिगमा पुलिसविरुद्ध खेल्ने क्रममा घाइते भएकी एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमबार घाइते भएकी उनको एमआरआई रिपोर्ट मंगलबार आएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएका हुन् ।

सावित्रा ९ महिना बाहिरै

अखिल नेपाल फुटबल संघ (एन्फा) की फिजियोथेरापिस्ट नवीना श्रेष्ठले चिकित्सकको भनाइ उद्धृत गर्दै भनिन्, ‘उनको (सावित्रा) दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) पूर्ण रूपमा च्यातिएको छ । मिडियल मिनिस्कस (घुँडाको बाहिरी भागको लिगामेन्ट) हल्का च्यातिएको छ । मिडियल कोल्याटेरल लिगामेन्ट (एमसीएल) पनि तन्किएको छ । मुख्य समस्या एसीएलमा हो । एसीएल र मिडियल मिनिस्कसको शल्यक्रिया गर्नुपर्छ । दुवै शल्यक्रिया एकैपल्ट हुन्छ । खेलाडीहरू एसीएलको शल्यक्रिया गरेको करिब ९ महिनामा खेलमा फर्किने गरेका छन् । खेलाडीको स्थितिअनुसार यो अवधि ढिलो/चाँडो हुन सक्छ । बढी समय शल्यक्रिया अघि र पछिको रिह्याबमा लाग्ने हो ।’

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिससँग हात पारेको २–१ को जितमा सावित्राले ६९ औं मिनेटमा बल प्रहार गरेपछि ‘ल्यान्डिङ’ गर्ने क्रममा सन्तुलन गुमाएपछि घुँडामा चोट लागेको थियो । तत्कालै सावित्राको प्रारम्भिक उपचार थालेकी नवीनाले भनिन्, ‘ल्यान्डिङ नमिलेर घुँडा ट्वीस्ट भयो । तुरुन्तै टेस्ट गर्दा लिगामेन्टको चोटजस्तो लाग्यो । ६० मिनेट राखेर हेर्‍र्यौं, घुँडा सुन्निएन तर टेस्ट फेरि पोजिटिभ (चोट) आयो । उनले उभिएर खुट्टा थाम्नै सकिनन् । चोट लिगामेन्टमै भएको शंका लाग्यो । त्यसपछि बीएन्डबी अस्पतालमा अर्थोपेडिक चिकित्सकले पनि उस्तै शंका गरे । एमआरआईको रिपोर्टले पनि त्यही देखायो ।’

यो लिगका १० खेलमा सात ह्याट्रिकसहित ४३ गोल गरेकी सावित्रालाई सोमबार डा. विवेक बासुकलाले हेरेका थिए भने एमआरआई रिपोर्टपछि मंगलबार प्रा. अमित जोशीले शल्यक्रिया गर्नुपर्ने बताएका हुन् । फिजियोथेरापिस्ट नवीनाले भनिन्, ‘घुँडा ९० डिग्रीमा खुम्च्याउन सक्ने र तिघ्राको मांसपेशी बलियो बनााएपछि मात्रै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । त्यसका लागि सावित्राको शल्यक्रियापूर्वको रिह्याब बुधबार सुरु गर्दैछु । शल्यक्रियापछि पनि चाँडै खेलमा फर्किने बनाउन तुरुन्तै रिह्याब सुरु गर्नुपर्छ ।’ सावित्रा कहिले मैदानमा फर्किने भन्ने कुरा शल्यक्रिया अघि र पछिको रिह्याबमा लाग्ने समयबाट थाहा हुने उनले बताइन् ।

‘दोहा जाने चाहना’

सावित्राको स्वयम्भूस्थित कोठामा मंगलबार साँझ एपीएफका मिडफिल्डरद्वय सरु लिम्बू र प्रीति राईसहितका खेलाडीहरूले उनलाई सान्त्वना दिइरहेका थिए । प्रीतिले भनिन्, ‘मैले पास दिने हो, तपाईं (सावित्रा) ले गोल गर्ने हो ।’ लगत्तै सावित्रा बोलिन्, ‘म फर्किने हो, गोल हान्ने हो, हामीले अझै धेरै राम्रो गर्नु छ ।’

राष्ट्रिय टिमका लागि कीर्तिमान ३८ गोल (३८ खेल) गरेकी २४ वर्षीया सावित्राले भनिन्, ‘एन्फाले धेरै खेलाडीको उपचार कतारमा गराएको छ । मेरो उपचार पनि त्यहीं होस् भन्ने चाहन्छु । किनकि मेरो सपना भनेको देशलाई सागमा स्वर्ण पदक जिताउने हो, योभन्दा माथिको खेल देखाउने हो, अझै राम्रो गर्ने हो ।’ उनले गत वर्ष पोखरामा १३ औं सागमा रजत पदक हात पार्ने क्रममा अनु लामा (३५ गोल) लाई उछिन्दै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी हुन् ।

स्पोर्ट्स मेडिसिजनका लागि विश्वकै आकर्षक मानिन्छ दोहा (कतार) स्थित एस्पेटर (अस्पताल), जहाँ एन्फाले पुरुष खेलाडीहरू प्रदीप महर्जन, चेतन घिमिरे, नीराजन मल्ल, विकास मल्ल, रविन श्रेष्ठ, नवीन महर्जनको उपचार गराएको थियो । हाल विक्रम लामा र विमल घर्तीमगर पनि एस्पेटरमै उपचार गराइरहेका छन् । महिला फुटबलकी ‘गोल मेसिन’ सावित्राले आफ्नो उपचारमा कतारमै गर्ने चाहना व्यक्त गरेकी हुन् ।

‘सावित्रा हाम्रो उत्कृष्ट खेलाडी हुन् । राष्ट्रिय टिममा उनको उपस्थिति धेरै महत्त्वपूर्ण छ । उनलाई जतिसक्दो चाँडै खेलमा फर्काउनुपर्छ,’ एन्फाकी कार्यसमिति सदस्य एवं महिला समितिकी संयोजक पेमा डोल्मा लामाले भनिन्, ‘उनलाई उपचारका लागि दोहा पठाउनुपर्छ भनेर एन्फा अध्यक्षसँग कुरा राखेकी छु, उहाँले सकारात्मक रूपमा लिनुभएको छ । उनको उपचारमा कुनै कमी हुने छैन ।’ राष्ट्रिय टिमका पूर्वकप्तानद्वय जमुना गुरुङ र अनु लामाको एसीएलको शल्यक्रिया ग्रान्डी अस्पतालमा गरिएको थियो । जमुना शल्यक्रियापछि मैदानमा फर्किनन् । उपचारपछि पुनरागमन गरेकी अनु भने अहिले पनि घरेलु फुटबलमा एपीएफबाट खेलिरहेकी छन् । पुरुष टिमका स्टार मिडफिल्डर रोहित चन्दले त एसीएलको शल्यक्रियापछि करिअरकै सबैभन्दा राम्रो लय समातेका थिए ।

एपीएफलाई अप्ठ्यारो

दसौं चरणमा शतप्रतिशत जितसहित उपाधि रक्षाको नजिक पुगेको एपीएफले बुधबार विराटनगरविरुद्ध ३ अंक जोड्न सके एक खेलअगावै उपाधि निश्चित गर्नेछ । त्यसअघि दिनको पहिलो खेलमा पुलिसविरुद्ध आर्मी जितबाट वञ्चित भयो भने त सशस्त्र प्रहरी बलको टिमले दुई खेलअघि नै उपाधि जित्नेछ । तर, सावित्राको अभावमा अन्तिम दुई खेलमा एपीएफलाई समस्या हुन सक्छ ।

‘साम्बा हाम्रो मुख्य खेलाडी हुन्, उनको उपस्थितिले पनि टिममा फरक पार्छ, त्यसैले उनी नहुँदा हामीलाई अग्रपंक्तिमा गाह्रै हुनेछ,’ एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले भनिन्, ‘उनीबिना खेल्नुपर्ने हाम्रो बाध्यता हो र हामी उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हामी बुधबारै उपाधि पक्का गर्न चाहन्छौं ।’ एपीएफ ३० अंकसहित शीर्षस्थान र आर्मी २५ अंकसहित दोस्रोमा छन् ।

प्रकाशित : फाल्गुन ५, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?