१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आईपीएल अक्सनको ढुकढुकी

भारतको चेन्नईमा बिहीबार आईपीएलको मिनी अक्सन हुँदै छ । दिल्लीले यस सिजन रिलिज गरेपछि सन्दीप लामिछाने पनि अक्सनमा आएका छन् ।
विनोद पाण्डे

काठमाडौँ — विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृंखलाका लागि ओमान भ्रमण स्थगित भएपछि नेपालको अन्तर्राष्ट्रिय खेलतालिका अन्योल छ । त्यसका बाबजुद नेपाली खेलाडीहरू कीर्तिपुरस्थित बन्द प्रशिक्षणमा निरन्तर छन् । बिहीबार भने नेपाली क्रिकेटको ध्यान भारतको चेन्नईतर्फ केन्द्रित हुनेछ ।

आईपीएल अक्सनको ढुकढुकी

इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सत्रलाई चेन्नईमा मिनी अक्सन हुँदै छ । नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेले अक्सनमा भाउ पाउँछन् कि पाउँदैनन् भन्नेमा धेरै नेपालीको चासो हुनेछ । सन्दीप विश्वकै सबैभन्दा धनी र ग्ल्यामर्सपूर्ण आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । दिल्लीले यस सिजन रिलिज गरिदिएपछि सन्दीप अक्सनमा गएका हुन् ।

अक्सनमा सन्दीपसहित विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी गरी ८ खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) मार्फत आवेदन दिएका थिए । त्यसमा सन्दीपमात्र अन्तिम अक्सनलाई छानिए । आवेदन दिएका १ हजार ९७ बाट छाँटेर २ सय ९२ खेलाडीलाई अक्सनमा लगिँदै छ । बढीमा ६१ खेलाडीमाथि भाउ लाग्नेछ, त्यसमा २२ विदेशी खेलाडी हुनेछन् ।

सन्दीपबाहेक एसोसिएट राष्ट्रबाट अक्सनमा लागि छानिनेमा अमेरिकाका अली खान र यूएईका कार्थिक मेइयाप्पन छन् । सिंगापुरबाट खेल्दै आएका टिम डेविडले अस्ट्रेलियाको ‘अनक्याप’ खेलाडीका रूपमा आईपीएल अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् । यो मिनी अक्सन भएकाले सीमित खेलाडीमा मात्र भाउ लाग्नेछ । सन् २०२२ देखि आईपीएलमा ८ बाट बढाएर १० टोली बनाइँदै छ । त्यसअघि ठूलो अक्सन हुँदा सन्दीपसहित अन्यको दायरा फराकिलो हुन सक्छ ।

सम्भावना भएका टोलीहरू

अक्सनलाई लिएर सन्दीप खासै उत्साहित छैनन्, तर आशावादी भने छन् । ‘त्यति सारो उत्साहित पनि भएको छैन, सामान्य हिसाबले लिएको छु । यसअघि नै तीन वर्ष आईपीएल खेलिसकेको भएर अब हाम्रो लागि यो नयाँ विषय रहेन । कुनै टिमले लिएमा त्यो टिमबाट खेल्नचाहिँ उत्साहित हुनेछु,’ सन्दीपले अक्सनमा भाउ लाग्ने सम्भावनाबारे कान्तिपुरसँग भने, ‘सम्भावनाका लागि भाग्य पनि हुन्छ । पछिल्ला वर्षमा मैले प्रदर्शन दिँदै आएको छु । त्यो हिसाबमा सम्भावना त धेरै छ । कुन टिमले लिन्छ, त्यत्तिमात्र हेर्न बाँकी छ । यति खेलिसकेको छु, अरू टिमले पनि हेरिरहेकै होलान् । रिलिज भइसकेपछि सबै भनेको अक्सन कुर्नु नै हो ।’

पछिल्लो तीन सिजन लेग स्पिनर सन्दीपले प्रतिसिजन २० लाख भारुमा खेल्दै आएका थिए । आईपीएल खेल्दा पाउने यो न्यूनतम पारिश्रमिक हो । यसपालि सन्दीपले ४० लाख ‘बेस प्राइस’ राख्दै आईपीएल अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् । एकभन्दा बढी टोलीले अक्सनमा बोली लगाएमा सन्दीपको भाउ बढ्दै जानेछ । अक्सनमा सन्दीपले भाउ पाउलान् त ? बिहीबार चेन्नईमा हुने अक्सनले मात्र यसको उत्तर दिन सक्छ । सन्दीपजस्तै रिलिज भएका भारतका हरभजन सिंह, केदार जादब, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, बंगलादेशका सकिब अल हसन, इंग्ल्यान्डका मोइन अली, साम बिलिङ्स, लिएम प्लुन्केट, जेसन रोय, मार्क उड र दक्षिण अफ्रिकाका कोलिन इन्ग्रामले यसपालि मिनी अक्सनमा आफ्नो बेस प्राइस २ करोड भारु राखेका छन् । विश्वका अन्य प्रायः सबै फ्रेन्चाइज लिग खेलेको भए पनि सन्दीपले मिनी अक्सन र मिनी बजेट भएकाले भाउ पाउन सजिलो होस् भनेर ‘बेस प्राइस’ अन्य ग्लोबल स्टारभन्दा कम राखेका छन् ।

सन्दीप हालैमात्र एक लाख पाउन्डमा इंग्ल्यान्डको द हन्ड्रेडमा पुनः अनुबन्धित भएका थिए । अस्ट्रेलियाको बिग बास खेल्दा पनि सन्दीपले ६०–७० हजार डलर पारिश्रमिक पाइरहेका छन् । आईपीएलको अक्सनमा छिर्नका लागि बेस प्राइस घटाएको उनी स्विकार्दैनन् । सन्दीपले भने, ‘मैले अहिले पैसाका लागि नभई अवसरका लागि खेलिरहेको छु । त्यही भएर बेस प्राइस कमै राखेको छु । आशा छ यसले राम्रो नै गर्नेछ । यसले मलाई मात्र होइन आउँदा वर्षहरूमा अन्य नेपाली खेलाडीका लागि ढोका खोलिदिने विश्वास लिएको छु ।’

खेलाडी रिलिज गरेको र बाँकी खर्च गर्न पैसाको हिसाबमा किंग्स इलेभेन पन्जाब सन्दीपको गन्तव्य हुन सक्छ । यसपालि अक्सनमा सन्दीपका लागि भाउ लगाउन सक्ने सम्भावना बोकेको टोली नै पन्जाब देखिन्छ । पन्जाबले यसपालि नाम परिवर्तन गरेको छ । अब पन्जाब किंग्सको हुनेछ । पन्जाबले ग्लेन म्याक्सवेल, सेल्डोन कोट्रेल, कृष्णपा गोवथाम, मुजिव उर रहमान, जेम्स निसम, हार्दुस भिज्लोन, करुण नैर, जगदिशा सुचिथ र ताजिन्दर सिंहलाई रिलिज गरेको थियो । तीमध्ये रहमान, गोवथाम, नैर, सुचिथ, ताजिन्दर सिंह स्पिनर नै हुन् ।

पन्जाबमा अहिले रवि विष्णोइ, दीपक हुडा, सरफराज खान, मुरुगन अश्विन, हरप्रित बरारमात्र स्पिनरका रूपमा छन् । हाल रहेका खेलाडीमा पन्जाबमा कुनै विदेशी स्पिनर छैनन् । पन्जाबले ५ विदेशी खेलाडी लिन बाँकी छ । टोलीसँग सबैभन्दा बढी ५३ करोड भारुभन्दा बढी रकम खर्चिन बाँकी छ । अहिलेसम्म एउटै आईपीएल जित्न नसकेको पन्जाबका प्रशिक्षकमा भारतका पूर्वकप्तान एवं प्रशिक्षक अनिल कुम्बले छन्, जो आफैं लेग स्पिनका अद्भुत खेलाडी हुन् ।

च्याम्पियन मुम्बई इन्डियन्स र बेंग्लोरले ३ विदेशी खेलाडी लिन बाँकी छ । मुम्बईले रिलिज गरेकामध्येका विदेशी खेलाडीहरू लासिथ मालिङ्गा, नाथन कोट्लर नील, जेम्स प्याटिन्सन, सेरफन रदरफोर्ड, मिचेल म्याकलेनघलान गरी सबै पाँच खेलाडी तीव्र गतिका बलर हुन् । त्यस हिसाबमा अक्सनमा मुम्बई तीव्र गतिको बलिङमा केन्द्रित हुन सक्छ ।

बेंग्लोरसँग बजेट पनि प्रशस्त छ । टोलीले मोइन अली, शिवम दुबे, गुरकिरात सिंह मन, आरोन फिन्च, क्रिस मोरिस, पवन नेगी, पार्थिव पटेल, डेल स्टेयन, इसुरा उडाना र उमेश यादवलाई रिलिज गरेको थियो । अली, नेगीलाई फुकुवा गरे पनि टोलीसँग युजभेन्द्र चाहल, वासिङ्टन सुन्दर, एडम जाम्पा, शहवाज अहमद, पवन देशपाण्ड्ये गरी ५ स्पिनर सुरक्षित छन् । बेंग्लोरले दिल्लीबाटै डानियल्स साम्स र हर्सल पटेललाई ‘ट्रेड’ गरेर लिएको थियो ।

राजस्थानले पनि तीन विदेशी खेलाडी लिन बाँकी छ । टोलीले स्टिभ स्मिथ, टम कुरान, बरुण अरुण, ओसन थोमस, आकाश सिंह, अंकित राजपुतलाई रिलिज गरेको थियो । राहुल टेवाटिया, श्रेयस गोपाल, रियान पराग, महिपाल लोमरोर, यशस्वी जैसवाल, मायंक मारकन्डे जस्ता घरेलु स्पिनर छन् । चेन्नईसँग स्पिन मोर्चा सम्हाल्ने कुनै ठूलो नाम टिममा छैन । तर टोलीसँग विदेशी खेलाडीको एक कोटामात्र बाँकी छ । चेन्नईले स्पिनरहरू पीयूष चावला, हरभजन सिंह, केदार जादबसहित शेन वाटसनलाई रिलिज गरेको थियो ।

कोलकाता र दिल्लीले २–२ तथा सनराइजर्स हैदराबादले १ विदेशी खेलाडी लिन बाँकी छ । २०१८ को जनवरीमा बेंग्लोरमा भएको अक्सनबाट सन्दीप दिल्लीको टोलीमा पुगेका थिए । उनले पहिलो वर्ष ३ खेल खेल्दै ५ विकेट लिएका थिए । दोस्रो सत्रमा ६ विकेट लिएका सन्दीपलाई पछिल्लो सिजनमा दिल्लीले एउटै खेलमा खेलाएन । त्यसपछि रिलिज गरेको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?