कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महिला राष्ट्रिय लिग : साम्बालाई चोट, एपीएफ उपाधितिर

दसौं चरणको समाप्तिमा एपीएफले शतप्रतिशत जितसहित ३० अंक जोडेको छ
राजु घिसिङ

काठमाडौँ — अघिल्ला ९ खेलमा सात ह्याट्रिकसहित ४३ गोल गरेकी ‘गोल मेसिन’ सावित्रा भण्डारी दायाँ घुँडामा चोट बोक्दै दोस्रो हाफमा खेल त्याग्न बाध्य भइन् । तर उनको स्थानमा मैदानमा प्रवेश गरेकी रविना गोलेले निर्णायक गोल गरेपछि एपीएफ ‘विभागीय डर्बी’ मा पुलिसको कठिन चुनौती २–१ ले पन्छाउँदै सोमबार महिला राष्ट्रिय लिग फुटबलमा उपाधि रक्षाको नजिक पुगेको छ ।

महिला राष्ट्रिय लिग : साम्बालाई चोट, एपीएफ उपाधितिर

वैकल्पिक रविनाले अनुभवी फरवार्ड अनु लामाको चलाखीपूर्ण पासमा ८६ औं मिनेटमा पेनाल्टी क्षेत्रमा पाएको बललाई ‘सेकेन्ड बार’ च्याप्दै गोलमा परिणत गरी एपीएफले शतप्रतिशत जित निकालेको थियो । यो लिगमा कुनै पनि खेलमा पहिलो रोजाइमा अवसर नपाएकी उनले दोस्रोपल्ट गोल गरेकी हुन् । वैकल्पिक खेलाडीका रूपमा पनि कहिलेकाहीँ मात्रै मौका पाएकी उनले यसअघि चौदण्डीगढी नगरपालिकाविरुद्ध १४–० को जितमा व्यक्तिगत पहिलो गोल गरेकी थिइन् ।

वैकल्पिक मिडफिल्डर प्रीति राईको पासलाई पुलिसकी रञ्जिता गुरुङले क्लियर गर्न नसकेपछि बल सुष्मा तामाङको खुट्टामा पुग्यो । सुष्माले प्रहार गरेको बललाई क्लियर गर्ने प्रयासमा घिमकुमारी गुरुङले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि एपीएफले ६८ औं मिनेटमा १–० को अग्रता लियो । तर, टोलीको अग्रता धेरैबेर टिकेन । अमृता जैसीले करिब २५ यार्डबाट प्रहार गरेको बलले एपीएफकी डिफेन्डर गीता रानाको ढाडमा लाग्दै आकर्षक गोलको रूप लिएपछि पुलिसले ७५ औं मिनेटमा १–१ को बराबरी गरेको थियो । अमृताको गोलमा निर्मला विकको ‘वान टच पास’ पनि उत्कृष्ट थयो । यससँगै गोलकिपर एन्जिला तुम्बापो र एपीएफको ‘क्लिन–सिट’ ९ खेलमै सकियो ।

‘डबल लिग’ को पहिलो भेटमा पुलिसविरुद्ध हात पारेको ३–० को जितमा तीनै गोल गरेकी सावित्राले ६९ औं मिनेटमा प्रहार गरेको बललाई पुलिसकी कप्तान घिमकुमारीले खाली पोस्टबाट क्लियर गरेकी थिइन् । त्यही प्रहारमा ‘ल्यान्डिङ’ नमिल्दा सावित्राको दायाँ घुँडामा चोट लाग्यो । केही समय उनलाई तयार पार्न एपीएफ टिम प्रयासरत रह्यो । तर, हिँड्न पनि गाह्रो भएपछि उनी मैदान छाड्न बाध्य भइन् । उनको स्थानमा ७९ औं मिनेटमा रविनालाई मैदानमा पठाइएको थियो । त्यसको सात मिनेटभित्रै निर्णायक गोल गर्दै उनले आफ्नो उपस्थिति सही साबित गरिदिइन् ।

निर्णायक गोल गरेपछि अँगालोमा एपीएफका सरु लिम्बू र रविना गोले । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

सावित्रा चोटको कारण बाहिरै रहँदा १० खेलाडीमा सीमित भएको बेला एपीएफले गोल बेहोरेको थियो । सावित्राबारे एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले भनिन्, ‘साम्बालाई तत्कालै राम्रोसँग हिँड्न पनि गाह्रो भएको छ । मुख्य स्ट्राइकर घाइते भएकीले हामी चिन्तित छौं । चोट कति गम्भीर भन्ने मंगलबार एमआरआई रिपोर्ट आएपछि थाहा हुनेछ । लिगको बाँकी दुई खेल उनले खेल्न सक्ने/नसक्ने पनि त्यही रिपोर्टपछि प्रस्ट हुनेछ ।’ सावित्रालाई बीएन्डबी अस्पताल, सातदोबाटोमा एमआरआई गरेपछि सावित्रा घर फर्किएकी छन् ।

एपीएफले भोलि उपाधि जित्न सक्ने

शीर्षस्थानमा रहेको एपीएफले लगातार दसौं जितसँगै फेरि ५ अंकको अग्रता लियो । एपीएफले विराटनगर महानगरपालिकालाई बुधबार पराजित गर्नसके एक खेलअघि नै उपाधि रक्षा गर्नेछ । त्यही दिन पहिलो खेलमा आर्मीले पुलिसलाई हराउन सकेन भने एपीएफ दुई खेल बाँकी छँदै च्याम्पियन हुनेछ । एपीएफले ७ फागुनमा हुने अन्तिम खेलमा आर्मीको सामना गर्नेछ ।

यो लिगकै उत्कृष्ट खेलमा तीन अंक जोडेपछि एपीएफकी मुख्य प्रशिक्षक थापाले उपाधि होडबारे भनिन्, ‘विराटनगर र आर्मीसँग प्रतिस्पर्धा गर्न बाँकी नै छ, त्यसैले अहिले नै अब उपाधि जितिहाल्छौं भन्न सक्ने अवस्था छैन तर पुलिसविरुद्धको जितले उपाधि जित्ने अभियानलाई सजिलो भने पक्कै बनाएको छ । हामी विराटनगरविरुद्धको खेलपछि प्रस्ट पार्नेछौं, एक खेलअघि नै उपाधि जित्न चाहन्छौं ।’ दसौं चरणको समाप्तिमा एपीएफले शतप्रतिशत जितसहित ३० अंक जोडेको छ भने दोस्रो स्थानको आर्मीले ८ जित, १ बराबर र १ हारसहित २५ अंक बनाएको छ ।

सोमबारै दोस्रो खेलमा विराटनगर १–० ले वालिङलाई हराएर तेस्रो स्थानमा उक्लियो । पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रि–किकमा भारतीय खेलाडी आशाकुमारीको गोलसँगै विराटनगरले पाँचौं जित हात पारेको हो । ११–११ खेलबाट विराटनगरले १६ र वालिङले १४ अंक जोडेका छन् । वालिङको समान १४ अंक भए पनि पुलिस ‘हेड टु हेड’ मा पछाडि परेपछि पाँचौंमा रहेको छ तर पुलिसले एक खेल कम खेलेको छ ।

प्रकाशित : फाल्गुन ४, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?