२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

महिला राष्ट्रिय लिग : आर्मीको निरन्तर जित

काठमाडौँ — त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकालाई फेरि ७–० ले पन्छाउँदै बिहीबार महिला राष्ट्रिय लिगमा लगातार छैटौं जित हात पारेको छ । यससँगै आर्मीले शीर्षस्थानको एपीएफ क्लबसँगको दूरी २ अंकमा छोट्याउँदै उपाधि जित्ने आशा कायमै राख्यो ।

महिला राष्ट्रिय लिग : आर्मीको निरन्तर जित

आर्मी शीर्षस्थानको होडमा एपीएफविरुद्ध तेस्रो चरणमा २–० ले पराजित भएपछि पछाडि परेको थियो । त्यसयता लगातार अधिकतम अंक जोड्दै आर्मीले एपीएफलाई पछ्याउने क्रम जारी राखेको छ । आर्मीले उपाधि जित्नका लागि भने एपीएफ दुई खेलमा रोकिनुपर्ने अवस्था छ । पहिलोपल्ट आयोजित ‘डबल लिग’ मा एपीएफले ४ र आर्मीले ३ खेल खेल्न बाँकी छ । शतप्रतिशत जितसहित एपीएफले २४ अंक बनाउँदै उपाधि जोगाउने सम्भावना बलियो बनाएको छ । दोस्रोमा रहेको आर्मीले (७ जित, १ बराबर, १ हार) २२ अंक जोडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार पहिलो खेलमा चौदण्डीगढी नगरपालिकालाई ७–१ ले हराएको वालिङ नगरपालिका १४ अंकसाथ तेस्रोमा छ । डबल लिगको पहिलो भेटमा आर्मीले विराटनगरलाई ७–० ले हराएको थियो । त्यसमा ह्याट्रिक गरेकी शर्मिला थापाले दोस्रो भेटमा दुई गोल गरिन् ।

१८ औं मिनेटमा खेलकै पहिलो गोल गरेकी उनले व्यक्तिगत दोस्रो गोल ५४ औं मिनेटमा गरिन् । यससँगै उनले ९ खेलमा आफ्नो गोलसंख्या १९ पुर्‍याइन् । तीन ह्याट्रिक गरेकी उनी सर्वाधिक गोलकर्ताको सूचीमा एपीएफकी सावित्रा भण्डारी (३८ गोल) पछि दोस्रोमा छन् । विराटनगरविरुद्ध विमला विकले पनि दुई गोल गरिन् । वुमेन अफ द म्याच घोषित सपना लामासहित रश्मि घिसिङ र विमला चौधरीले एक–एक गोल गरे ।

‘विराटनगरले अघिल्ला खेलमा राम्रो प्रदर्शन गरेको थियो । तर, उसले उस्तै खेल दोहोर्‍याउन सकेन । त्यसैले हामीलाई सहज जित हात लाग्यो,’ आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले भने, ‘हामीले एपीएफसँग एक खेल खेल्न बाँकी छ । त्यसैले उपाधि जित्ने हाम्रो सम्भावना अरूको हातमा पनि छ । अर्को टिमले एपीएफलाई रोक्यो भने हाम्रो अन्तिम खेल (एपीएफविरुद्ध) लिगको फाइनल हुनेछ ।

त्यसैको आशामा छौं ।’ उनको टिमले विराटनगरविरुद्ध पहिलो हाफमै ५ गोल गरेको थियो, दोस्रो हाफमा दुई गोल थप्यो । त्यसैले हुनसक्छ, विराटनगरका प्रशिक्षक पारस चौधरीले पहिलो हाफमा खराब प्रदर्शन गरेपछि ठूलो अन्तरको हार खेप्नुपरेको बताए ।

रुथको ५ गोल

यसअघि क्यामरुनी फरवार्ड मेथो रुथ एक्लैले ५ गोल गरेपछि स्याङ्जाली टिम वालिङले चौदण्डीमाथि सहज जित पाएको थियो । रुथले २५ औं मिनेटमा स्याङ्जाली टिमलाई अग्रता दिलाए पनि अञ्जना थुलुङले ३२ औं मिनेटमा चौदण्डीलाई बराबरीमा पुर्‍याएकी थिइन् । चौदण्डी दोस्रो खेलमा चन्द्रपुरविरुद्ध ७–१ ले हारेको थियो । त्यो खेलको पहिलो गोल नै अञ्जनाले गरेकी थिइन् । र, त्यसयताको गोलविहीन यात्रालाई ६ खेलमा पूर्णविराम लगाउने काम पनि उनै अञ्जनाले गरिन् ।

चन्द्रपुरविरुद्ध चौदण्डीले जसरी अग्रता जोगाउन सकेन, त्यसैगरी १–१ भएपछि पनि उदयपुरको टिम वालिङविरुद्ध फिक्का देखियो । रुथले ३३ औं मिनेटमा फेरि वालिङलाई अग्रता दिलाइन् । उनले ४४ औं मिनेटमा गोल गर्दै यो लिगमा आफ्नो दोस्रो ह्याट्रिक गरेपछि वालिङ पहिलो हाफमा ३–१ ले अघि बढ्यो । उनले ४८ र ५५ औं मिनेटमा थप गोल गर्दै लिगमा व्यक्तिगत गोल १५ पुर्‍याइन् । उनले चौदण्डीविरुद्ध १०–० ले जितेको खेलमा ६ गोल गरेकी थिइन् ।

उदयपुरको नगरसँगको दोस्रो भेटको बाँकी दुई गोल अर्का क्यामरुनी ओरानेला नोएलले गरिन् । वालिङले ४ जित, २ बराबर र ३ हारबाट १४ अंक बनायो । सबै (९) खेल हारेको चौदण्डी अंकविहीन पुछारमा छ ।

प्रकाशित : माघ ३०, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?