२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

महिला राष्ट्रिय लिग : निर्णायक ‘साम्बा’

राजु घिसिङ

काठमाडौँ — ‘ब्वाइज कट हेयर स्टाइल’ की सावित्रा भण्डारीले तीव्र गतिमा बल अघि बढाउँदा दर्शक ‘साम्बा साम्बा’ भन्दै हुटिङ गरिरहन्छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबको हरेक खेलमा साम्बाको गति र दर्शकको हुटिङ रोकिएको छैन । रोकिने कुनै संकेत पनि देखिँदैन ।

महिला राष्ट्रिय लिग : निर्णायक ‘साम्बा’

यिनै साम्बा एक्लैको ६ गोल सहयोगमा बुधबार एपीएफले चन्द्रपुर नगरपालिकालाई ८–० ले हराएर उपाधि रक्षाको सम्भावना बलियो पार्‍यो । यसमा मात्रै होइन, हरेक खेलमा साम्बा चम्किरहेकी छन् । जसरी घरेलु महिला फुटबलमा एपीएफले एकछत्र राज गरिरहेको छ, त्यसैगरी अनु लामा र जमुना गुरुङपछि उदाएकी साम्बाले ५ वर्षयता गोलको वर्षा गरिरहेकी छन्, अग्रपंक्तिमा एकमात्र स्टार देखिइरहेकी छन् । यो राष्ट्रिय लिगको तथ्यांकले पनि नेपाली महिला फुटबलको ‘सुपरस्टार’ साबित गर्छ । नेपालका लागि कीर्तिमान ३८ गोल (३८ खेल) गरेको त छँदै छ ।

डिफेन्डिङ च्याम्पियन एपीएफले शतप्रतिशत जितसहित ८ खेलमै ५ अंकको अग्रता लिएको छ । यसक्रममा विपक्षीलाई गोल गर्न नदिएको एपीएफले ६५ गोल गरेको छ । त्यसमा ५८ प्रतिशत अर्थात् ३८ गोल त सावित्रा एक्लैले गरेकी छन् । सात टिमको लिगमा उनको व्यक्तिगत गोलभन्दा बढी (एउटा टिमको रूपमा) दोस्रो स्थानको आर्मी (४७) ले मात्रै गरेको छ । अरू टिमलाई त बिचरा नै भन्नुपर्ने अवस्था छ । उपाधि दाबेदार मानिएको विभागीय टिम पुलिसको खातामा १३ गोलमात्रै छ । दुई चरणको छनोट पार गरेर राष्ट्रिय लिगमा आइपुगेका ‘फोर्स टिम’ बाहिरका चार नगरले गरेका सबै गोल गन्ने हो भने पनि त्यो संख्या साम्बाको जति पुग्दैन । वालिङ (१४), विराटनगर (१३), चन्द्रपुर (९) र चौदण्डीगढी (१) को गोलको योगफल ३७ मात्र पुग्छ ।

घरेलु महिला फुटबलमा गोल गर्न एकदमै सजिलो छ त ? ‘पहिला थियो, अहिले छैन,’ ६ वर्षयता निरन्तर खेलिरहेकी साम्बा भन्छिन्, ‘पहिला उति नै कठिन (प्रतिस्पर्धी) आर्मी र पुलिससँग पनि गोल हानिरहेकी हुन्छु । अहिले पनि म जिल्लाका टिमलाई मात्रै गोल हानेर हिरो भएको त पक्कै पनि छैन । जुनसुकै खेलमा पनि गोल हान्छु भनेरै मैदानमा छिरिरहेको हुन्छु । तर, विस्तारै महिला लिगमा केही परिवर्तन आएको छ, मलाई धेरै चुनौती आइरहेको छ । विदेशी खेलाडी आउन थालेका छन् । अग्रपंक्तिमा हाम्रै खेलाडी आइरहेका छन् । उनीहरूको कौशलले पनि अलिकति फरक पार्छ । त्यसले गर्दा मैले अझै उत्कृष्ट दिन (प्रदर्शन) सक्दिनँ कि भन्ने हुन्छ । परिवर्तनकै कारण पछिल्लो समयमा गोल गर्न एकदमै गाह्रो भइरहेको छ ।’

पामचोक, लमजुङकी २४ वर्षीया उनी महिला फुटबलमा देखिएको परिवर्तनबारे भन्छिन्, ‘आधुनिक फुटबलमा हुनुपर्ने बल पोजेसन राखेर सबै टिमले खेलिरहेका छन्, खेल्न खोजिरहेका छन् । पहिला बल पोजेसन राखेर खेल्ने थिइनँ, विङ–प्ले छ, थ्रो बलमा समन्वय छ । खेलाडीहरू खेल्न खोजिरहेका छन् । शारीरिक रूपमा बलिया छन् । नगरपालिकाकै टिमसँग पनि गाह्रो हुन्छ । विदेशी खेलाडी आइरहेका छन्, उनीहरूबाट हामीले केही सिक्न पाएका छौं, हामीबाट पनि उनीहरूले केही सिक्नेछन् ।’

एन्फाले महिला लिगमा यसैपालि विदेशी खेलाडी राख्न पाउने नियम ल्याएको हो, जसलाई मोफसलका चार नगरले उपयोग गरिरहेका छन् । साम्बाले भारतीय महिला फुटबलको शीर्ष लिग दुई सिजन खेलेकी छन् । दुईपल्टै उपाधि जितेकी उनले सेथु एफसीबाट सन् २०१९ मा ७ खेलमा १५ गोल गरेकी थिइन्, जहाँ उनीभन्दा धेरै बालादेवी (२६ गोल) ले गरेकी थिइन् । उनी गोकुलम केरलाबाट २०२० का ७ खेलमा १६ गोल गर्दै लिगकै सर्वाधिक गोलकर्ता भएकी थिइन् ।

८ खेलमै ३८ गोल

साम्बाले यसपालि पहिलो खेलमै चन्द्रपुरविरुद्ध ह्याट्रिक गरिन् । त्यसपछि विराटनगरविरुद्ध चार गोल गरेकी उनी उपाधि होडको प्रतिस्पर्धी आर्मीविरुद्ध मात्रै बललाई गोललाइन पार गराउन चुकिन् । तर, उनले नै आर्मीविरुद्ध २–० को जितमा मन्जली योन्जन र सरु लिम्बुको गोलमा दुवै अवसर सिर्जना गरेकी थिइन् । ‘पुलिस डर्बी’ मा ३–० को जितमा तीनै गोल गरेकी उनले वालिङसँग २ गोल थपिन् । उदयपुरको चौदण्डीगढीविरुद्ध यो लिगकै सबैभन्दा ठूलो २२–० को जितमा उनी एक्लैले १२ गोल गरिन् । पहिलोपल्ट आयोजित ‘डबल लिग’ को चौदण्डीविरुद्ध दोस्रो भेटमा हात पारेको १४–० को जितमा पनि ८ गोल गरेकी उनले चन्द्रपुरविरुद्ध एपीएफको आठमध्ये ६ गोल गरेकी हुन् । बाँकी दुई गोल अनिता बस्नेतको नाममा रह्यो ।

८ खेलमा ६ ह्याट्रिक गरेकी उनले यो लिगमा प्रतिखेल औसत ४.७५ गोल गरेकी छन् । उपराष्ट्रपति राष्ट्रिय महिला लिग २०७५ मा प्रतिखेल ३ गोलको औसतमा १२ गोल गरेकी उनले त्यो फाइनलमा आर्मीविरुद्ध ३–१ को जितमा ह्याट्रिक गरेकी थिइन् । उनको गोल औसत त्योभन्दा उच्च थियो २०७४ को लिगमा । उनले ६ खेलमा ४.८३ को औसतमा २९ गोल गरेकी थिइन् । त्यो बेला नै उनले एउटै खेलमा दर्जन गोल गरेकी थिइन्, जुन मध्यपश्चिमविरुद्ध २६–० को जितमा सम्भव भएको थियो ।

कमै खेलमा मात्रै गोलबाट चुक्ने गरेकी साम्बाका लागि ह्याट्रिक त सामान्य खाना–खाजाजस्तै बनेको छ । ‘ह्याट्रिक वा धेरै गोलभन्दा महत्त्वपूर्ण खेलको जितमा १ गोल गर्न पाएकोमा नै धेरै खुसी हुन्छु,’ उनी गोलको दबाब र सहकर्मीको साथबारे बोल्छिन्, ‘स्ट्राइकरको रूपमा गोल हान्नुपर्ने दबाब नै हुन्छ, जुन सहकर्मीको विश्वासले हो, त्यसैले पनि सफल भएकी छु । सुरुमा मैदान जाँदै गोल हान्छु भन्ने हुन्छ । कतिपय गोल हान्ने अवस्थामा पनि मैले पास दिइरहेकी हुन्छु । तर, खेलमा यत्ति नै गोल हान्छु भन्ने लक्ष्य हुँदैन ।’

अनु–जमुनाको पुस्तापछि केही खस्किए पनि एपीएफको टिममा ५ वर्षयता राम्रै परिवर्तन आएको उनी बताउँछिन्, ‘वातावरण राम्रो छ, जुनियर पनि राम्रा आइरहेका छन् । सबै राम्रो भइरहेको छ । त्यसैले राष्ट्रिय टिममा एकछत्र राज हाम्रै छ, जसले गर्दा टिममा खेल्न सजिलो भइरहेको छ । यो सकारात्मक पक्ष हो ।’

‘साम्बाको विकल्प छैन’

एपीएफले सहजै जितेको गोलको वर्षा गरेको खेलमा पनि साम्बालाई आराम दिइरहेको छैन, पूरा समय नै खेलाइरहेको छ । जुन कुनै पनि बेला टिमकै लागि घातक हुनसक्छ ।

‘एक हिसाबले सावित्रा निर्णायक (खेलमा) देखिएकी छन् । उनले सहकर्मीको साथले भन्दा आफैंले सिर्जना गरेको अवसरमा धेरै गोल गरेकी छन् । एसिस्ट पनि उस्तै गरिरहेकी छन्,’ साम्बाको खेलबारे एपीएफकी मुख्य प्रशिक्षक भगवती थापा भन्छिन्, ‘टिमको रूपमा सबै खेलाडीको महत्त्व हुन्छ । मुख्य खेलाडी उनी नै हुन् । उनले खेल पल्टाउन सक्छन् । उनी बराबरका खेलाडी कुनै पनि टिममा छैन । साम्बाको वैकल्पिक फरवार्ड नै छैन ।’ राष्ट्रिय टिमका नौ खेलाडीको साथ रहेको एपीएफमा साम्बारहितको टिमबारे उनले कल्पना गरिन्, ‘उनी नभएको भए गोल स्कोर कम हुन्थ्यो । टिम अलि औसतमा जान्थ्यो । खेल अलि गाह्रै हुन्थ्यो ।’

साठीको दशकमा महिला फुटबल टिम बनाएको एपीएफमा अहिले चार फरवार्ड छन् साम्बा, अनिता केसी, अनु र रबिना गोले । पहिलो रोजाइमा साम्बासँगै अनिता खेलिरहेकी छन् । हालसम्म अनुले ६, अनिताले ४, र रबिनाले १ गोल गरेका छन् । अनिता बस्नेत (८), सरु लिम्बु (३), प्रीति राई (२), मन्जली (२) र रेनुका नगरकोटे (१) ले पनि गोल गरेका छन् । साम्बालाई बिर्सने हो भने एपीएफ ‘फ्रि–स्कोरिङ टिम’ देखिएको छ । तर, यथार्थमा यी ‘गोल मेसिन’लाई भुल्ने गल्ती कसैले गर्ने छैन ।

आफ्नो अनुपस्थितिको एपीएफ टिमबारे साम्बाले सोच्दै भनिन्, ‘मचाहिँ टिमलाई चाहिने खेलाडी हो । मबिना अधुरै हुन्छ जस्तो लाग्छ । तर, मैले आफैंलाई कहिल्यै राम्रो मान्नुहुँदैन । आफू तलै छु जस्तो मान्नुपर्छ । सधैं एउटै किसिमको प्रदर्शन दिन नसकिएला त्यो बेला प्रश्न उठ्न सक्छ । फुटबल टिम गेम हो । सहकर्मीहरूकै साथले यहाँ आइपुगेकी छु ।’ उनले घरेलु फुटबलमा हालसम्म कति गोल गरिन् भन्ने न एन्फालाई थाहा छ न उनी आफैंलाई । भन्छिन्, ‘यत्तिका गोल गर्छु भन्ने सोचेकी थिइनँ । त्यसैले कति गोल गरें यादै छैन ।’

प्रकाशित : माघ २९, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?