कठिन जितपछि जोकोभिच तेस्रो चरणमा- खेलकुद - कान्तिपुर समाचार

कठिन जितपछि जोकोभिच तेस्रो चरणमा

एजेन्सी

मेलबर्न — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले बुधबार अस्ट्रेलियन ओपनमा कठिन जित निकालेका छन् । सर्बियाली खेलाडीले अमेरिाका फ्रान्सेस टिफोएले प्रस्तुत गरेको कडा चुनौतीलाई ६–३, ६–७ (३/७), ७–६ (७/२) र ६–३ ले पन्छाए र तेस्रो चरण पुगे । खेलपछि जोकोभिचले निकै कडा संघर्षपछि मात्र जित प्राप्त भएको स्वीकारे ।

तर २३ पल्टका ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सले अस्ट्रेलियन ओपनमा आफ्नो यात्रा बुधबार पनि कायम राखिन् र अगाडि बढिन् । पुरुषतर्फ यूएस ओपन च्याम्पियन डोमिनिक थिएमले पनि तेस्रो चरणको यात्रा तय गरे र यसमा पनि उनको जित सजिलो रह्यो । अमेरिकी ३९ वर्षीया खेलाडी सेरेनाले तेस्रो चरणमा प्रवेशका लागि निता स्टोजानोभिचलाई ६–३ र ६–० ले हराइन् ।

उनकी दिदी भेनस विलियम्स भने त्यति धेरै भाग्यमानी रहिनन् र इटालीकी क्वालिफायर सारा इरानीसँग सिधा सेटमा ६–१ र ६–० ले पराजित भइन् । यस्तै अभाग्यशाली खेलाडीमा पेट्रा केभिटोभा पनि रहिन् । उनी तीन सेट चलेको खेलमा पराजित भइन् । दुई पल्टका ग्रान्ड स्लाम विजेतालाई सोरोना क्रिस्टियाले ६–४, १–६ र ६–१ ले पराजित गरिन् ।

पुरुषतर्फ पनि तीन पल्टका ग्रान्ड स्लाम विजेता स्टान वावरिन्का पनि प्रतियोगिताको दोस्रो चरणबाट बाहिरिएकी छिन् । गत वर्ष क्वाटरफाइनलसम्मको यात्रा तय गरेका ३५ वर्षीय स्विस खेलाडी वावरिन्का मार्टिन फुस्कोभिचसँग ७–५, ६–१, ४–६, २–६ र ७–६ (११/९) ले पराजित भएका हुन् । यस्तै तेस्रो वरीयताका थिएमले जर्मनीका डोमिनिक कोफरलाई ६–४, ६–० र ६–२ ले पराजित गरे ।

प्रकाशित : माघ २८, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी, तस्बिर : अनिस रेग्मी

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ । 

पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व गर्न पार्टीले विभिन्न नेताहरूलाई कमान्डर तोकेको छ । सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत भएको छ । दाहाल–नेपाल समूहले प्रतिगमनविरुद्ध सभामा सहभागी हुन जिल्ला–जिल्लाबाट मानिसहरू आएको जनाएको छ । पार्टीले सभामा दुई लाख मानिस उतार्ने दाबी गरेको छ ।

सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाललगायतले सम्बोधन गर्दै छन् । दाहालले फागुन पहिलो साताबाट अझ ठूलो आन्दोलन हुने बताउँदै आएका छन् । दाहाल–नेपाल समूहले यसअघि पनि काठमाडौंमा विरोधसभाका साथै देशव्यापी आमहडताल आयोजना गरिसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । उक्त कदमपछि नेकपा स्पष्ट रूपमा दुई चिरा भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसलगायत दल र नागरिक समाजले पनि सरकारको उक्त कदमको विरोध गर्दै आएका छन् । 

यसअघि गत साता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पनि सरकारी कदमको बचाउ गर्न काठमाडौंमा सभासहित शक्ति प्रदर्शन गरेको थियो ।


प्रकाशित : माघ २८, २०७७ १३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×