चितवन च्याम्पियनसिप ट्रफी : मुन स्टोनको विजयी सुरुआत

रमेशकुमार पौडेल

चितवन — मंगलपुरको मुन स्टोन क्रिकेट क्लबले मंगलबारदेखि भरतपुरमा सुरु भएको १७ औं चितवन च्याम्पियनसिप ट्रफीमा विजयी सुरुआत गरेको छ । रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा तयार भएको नमुना क्रिकेट मैदानमा भएको खेलमा मुन स्टोनले भरतपुर–३ को बेलचोक क्रिकेट क्लबलाई नौ विकटले पराजित गरेको हो ।

चितवन च्याम्पियनसिप ट्रफी : मुन स्टोनको विजयी सुरुआत

५० ओभरको खेलमा पहिले ब्याटिङ रोजेको बेलचोकले ९७ रन मात्रै बनाएको थियो । मुन स्टोनले १४ ओभर चार बलमा नै झिनो लक्ष्य पार गरेको थियो । लक्ष्य पार गर्न मुन स्टोनले एक विकेटको मात्रै क्षति बेहोरेको थियो । राष्ट्रिय खेलाडी योगेन्द्रसिंह कार्कीको अलराउन्डर प्रदर्शन मुन स्टोनलाई विजय गराउने प्रमुख आधार बन्यो । कार्कीले ब्याटिङकका क्रममा नट आउट रहँदै ३१ बलमा ३२ रन बनाएका थिए ।

त्यसैगरी बेलचोक विरुद्धको बलिङमा पनि कार्कीले चार विकेट लिएका थिए । नौ ओभर चार बल बलिङ गर्दा कार्कीले विपक्षीलाई २३ रन मात्रै जोड्न दिए । उनले एक ओभर मेडेन राखे । कार्की ‘म्यान अफ दि म्याच’ भए । प्रतियोगिताका संयोजक उमेश पियाले उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरे । टस जितेपछि ब्याटिङ गरेको बेलचोकले जम्मा २९ ओभर चार बल खेल्दा सबै विकेट गुमाएर ९७ रन मात्रै बटुलेको थियो ।

बेलचोकका ब्याट्सम्यान गौतम केसीले २६ बलमा ३२ रन बनाएका थिए । त्यसैगरी रविन्द्रजंग शाहीले ३८ बल खेल्दा १३ रन मात्रै जोडेका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन । यी दुई बाहेक कसैले पनि दोहोरो अंकको रन बनाउन सकेनन् । बेलचोक विरुद्धको बलिङमा कमल थापाले ६ ओभरमा दुई विकेट लिए । उनको बलिङमा बेलचोकका खेलाडीले १४ रन जोडेका थिए ।

जवाफी ब्याटिङमा मुन स्टोनबाट खेलेका राष्ट्रिय खेलाडी लोकेश बमले २० बलमा ४३ रन बनाएर आउट भएका थिए । अविजित रहेका आषिश ढुंगनाले ३७ बल खेल्दै १४ रन बनाएका थिए । रंगशाला बनाइ रहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले ब्याटिङ र वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी शान्तीराज कोइरालाले बलिङ गरेर प्रतियोगिता उद्घाटन गरेका थिए ।

चितवन क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका संयोजक उमेश पियाले दिएको जानकारी अनुसार प्रतियोगितामा चितवन क्रिकेट क्लब, भरतपुर क्रिकेट क्लब, मंगलपुरको मुन स्टोन क्रिकेट क्लब, टाँडीको इस्टर्न क्रिकेट एकेडेमी, बेलचोक क्रिकेट क्लब भरतपुर र गीतानगरको आधुनिक–११ सहभागी छन् । प्रतियोगितामा विजेताले २० हजार रुपैयाँ नगद र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको मुख्य प्रायोजक नारायणगढको प्रेम सुपर मार्केट रहेको छ । प्रतियोगिताको बुधबारको खेल भरतपुर क्रिकेट क्लब र गीतानगरको आधुनिक–११ बीच हुनेछ ।

प्रकाशित : माघ २७, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?