बागी क्रिकेटर

दीपेशले २२ यार्डमा २२ वर्ष बिताइसकेका छन् । क्रिकेटमा उनको समर्पण अझ विशेष छ । संन्यास उनको शब्दमै देखिँदैन । उनी राष्ट्रियस्तरको क्रिकेट छाडे पनि क्लब क्रिकेट खेल्न छाड्ने स्थितिमा देखिँदैनन् । 
विनोद पाण्डे

काठमाडौँ — एक, शून्य, शून्य रन । अघिल्लो साता सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट दीपेश खत्रीले तीन खेलमा बनाएको स्कोर हो । राम्रो लयका साथ काठमाडौं आएका दीपेशले ठूलो स्कोर बनाउन सकेनन् । यो प्रदर्शनले दुई दशकभन्दा लामो दीपेशको खेलाडी जीवनलाई पक्कै न्याय गर्दैन ।

बागी क्रिकेटर

उनी तल्लोक्रमका ब्याट्सम्यान पनि होइनन् । यदि हुने थिए भने नेपाल एपीएफ क्लबविरुद्ध मूलपानी क्रिकेट मैदानमा बनाएको १५ रनलाई सहजै स्वीकार गर्थे । प्रधानमन्त्री कपमा गण्डकी र दीपेशको यो अन्तिम खेल थियो । तर उनको अनुहारमा त्यस्तो कुनै चमक थिएन । उनी माथिल्लोक्रमका ब्याट्सम्यान हुन् । त्यसैले यो फितलो स्कोरमा खुसी हुनुपर्ने कुनै कारण नै उनीसँग थिएन ।

खासमा दीपेश अलराउन्डर हुन् । अझ गहिरिने हो भने बलिङ अलराउन्डर । दीपेश आफ्नो समयमा हुँदा नयाँ बल लिएर मध्यम गतिको बलिङ गर्थे र पाँचौंदेखि सातौं नम्बरमा ब्याटिङ गर्थे । उमेरले ३५ नाघिसकेका छन् । अहिले उनको बलिङमा त्यस्तो चमक रहेन । उनी स्लो मिडियम पेसमा झरिसकेका छन् । अफ स्पिन पनि घुमाउँछन् । ब्याटिङमा भने उनी अझै तिखारिएका जस्ता छन् । यसैले उनको खेलाडी जीवनलाई तानिरहेको छ । उनको समर्पण अझ विशेष छ ।

उनमा बम्बई (मुम्बई) को क्रिकेटको हावा छ । उतै जन्मिए, उतै सिक्दै, खेलेर पोखरा आएपछि कास्की जिल्लाबाट खेल्न लागे । ‘राष्ट्रिय टोलीबाट ब्रेक लिएर’ लन्डन लागे । त्यहाँ पनि क्लबस्तरको क्रिकेट खेले । लन्डनबाट फर्केपछि मैदान भाडामा लिएर चलाउन लागे । यसले उनलाई अझ समर्पित बनायो । यसरी उनको जीवन क्रिकेटमै चलिरहेको छ । सार यही नै हो ।

***

२०५६ को राजविराज जय ट्रफी राष्ट्रिय प्रतियोगितामा उनी कास्कीको टोलीमा थिए । १२ औं खेलाडीभन्दा माथि उठ्न सकेनन् । त्यसलगत्तै काठमाडौंमा यू–१७ राष्ट्रिय प्रतियोगिता र जय ट्रफी भएको थियो । यहींबाट उनको खेल जीवनले रफ्तार लियो । उनी तत्कालीन क्षेत्र नं. ४ (भैरहवा) बाट खेल्थे र पहिलोपटकमै भैरहवालाई यू–१७ राष्ट्रिय च्याम्पियन बनाए ।

स्वयं अभिप्रेरणा नै उनी अहिलेसम्म खेलिरहनुको कारण हो । ‘अरूलाई मौका दिन पर्‍यो’ भनेर भन्न लागेपछि बीचमा ३ वर्ष उनले ‘ग्याप’ लिए । उनका समकालीनहरूले त्यसको एक वर्ष अगाडि नै खेल्न छाडिसकेका थिए । उनलाई पनि युवा खेलाडीलाई मौका दिनुपर्छ भन्ने भयो । यो ब्रेक भनेको राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट मात्र थियो । उनी क्लबस्तरको प्रतियोगिता खेलिरहन्थे । भारतमा गएर लिग क्रिकेट खेलिरहन्थे । यहीबीचमा खुट्टामा चोट लाग्दा ७–८ महिना खेल्न नसक्ने भए ।

आफ्नो मनमा पाप नभएकाले उनी आफूलाई स्पष्ट वक्ताका रूपमा उभ्याउँछन् । प्रशिक्षक, व्यवस्थापक, छनोटकर्ता वा कप्तान होस्, उनी आफूलाई मन नपरेको कुरा सिधै भनिहाल्छन् । उनी ठाडो रूपमा आफ्नो भनाइ राख्छन् । धेरैलाई उनको यही व्यवहार चित्त नबुझेको हुन सक्छ । ‘सबैले दीपेशले ठाडै बोल्यो भन्छन्, तर मैले जे हो त्यही भन्ने गरेको छु । मलाई चिप्लो हिसाबमा भन्न आउँदैन । अब यो उमेरमा आएर परिवर्तन हुन पनि सकिँदैन । साथीभाइलाई दिने सम्मान दिइरहेको छु,’ आफ्नो स्वभावमा उनलाई कुनै ग्लानि छैन ।

सन् २००३ मा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा उनी भैरहवाबाट क्षेत्र नं. १ विराटनगरविरुद्ध खेल्दै थिए । उनी बलिङ अलराउन्डर जस्तै थिए । नयाँ बल लिएर बलिङ गर्थे र पाँचौंदेखि सातौं नम्बरमा ब्याटिङ गर्थे । कप्तान शक्ति गौचन र उनको प्रशिक्षण टोलीले विराटनगरविरुद्धको फाइनलमा अनौठो निर्णय लिँदै दीपेशलाई ओपनिङ ब्याटिङमा पठायो । उनले १ सय १० रनको सानदार इनिङ्स खेल्दै भैरहवालाई उपाधि दिलाउन ठूलो भूमिका खेले ।

मैले दीपेशको असुहाउँदो शतकमा भैरहवालाई उपाधि भन्ने आशयमा समाचार लेखें । यसैमा उनले मलाई कसरी असुहाउँदो भनेर वर्षौंसम्म प्रश्न गरिरहे । उनी प्राकृतिक ओपनिङ ब्याट्सम्यान थिएनन् । त्यसैले मैले ‘असुहाउँदो’ लेखेको थिएँ । यही शब्दले उनलाई बिझाएको थियो । मध्यक्रम विशेषगरी छैटौं नम्बरदेखि तल ब्याटिङ गर्नेलाई एकदिवसीयमा शतक बनाउन त्यति सहज हुँदैन । आफूलाई माथिल्लोक्रमको ब्याट्सम्यानका रूपमा हेर्ने भएकाले होला दीपेशलाई भने त्यो शतक नौलो लागेको थिएन ।

दीपेश नयाँ मैदान बनाउन व्यस्त थिए । ‘६ जना छनोटकर्ताहरूले फोन गरेर बोलाएर यो तिम्रो अन्तिम सिजन हो, तिमीलाई मान दिनैपर्छ, तिमी नै हो अब प्रदेशको नेतृत्व गर्नुपर्ने । तिमीले नै गण्डकी प्रदेशको कप्तानी गर्नुपर्छ भनेर छनोट भएका खेलाडीको सूची नै देखाए । मैले हुन्छ, हस् भनेपछि सबैले बधाई दिए,’ हालैका एक घटनालाई दीपेश स्मरण गर्दै थिए, ‘केही दिनपछि पत्रपत्रिकामा टिम छनोटको नाम आउँदा कप्तान त अर्कै थियो । त्यहाँ पनि मैले विवाद गर्‍यो भनेर बुझ्छन् । मैले त केही पनि गरेको थिइनँ त प्रश्न मात्र गरेको हुँ, एउटा निर्णय गरेर अर्को कप्तान किन ल्याउनुभयो भनेर । मैले क्रिकेटमा यत्रो समर्पण गरेको छु, अहिले आएर किन यस्तो अपमान गर्नुहुन्छ भनेर भने ।’ छनोटकर्ताको कागजमा मात्र किन कप्तान भएको भन्ने प्रश्नको उत्तर उनले पाएनन् ।

दीपेशलाई यो तिम्रो अन्तिम प्रतियोगिता हो भनेर प्रलोभन देखाइएको थियो । उनले हुन्छ भन्दै यो सिजन खेल्छु भन्ने उत्तर दिएका थिए । तर उनी अझै क्रिकेट खेल्न छोड्ने कल्पना पनि गर्न सक्दैनन् । ‘मैले क्रिकेट छाड्ने हो भने इंग्ल्यान्डबाट आएपछि नै छाडेर प्रशिक्षणमा जाने थिएँ,’ दीपेश भन्छन्, ‘त्यो ११ वर्ष अगाडिको कुरा हो । खेल्दाखेरि अझै मलाई प्रेरणा आइरहेको छ । क्लब चलाइरहेको छु, त्यसको व्यवस्थापन गर्छु, प्रशिक्षण पनि गर्छु । म त्यसैमा सन्तुष्ट छु । मसँगै खेलेका साथीहरू कोही प्रदेश, कोही जिल्लाको प्रशिक्षक भइसकेका छन् । मलाई त्यस्तो केही चाहना छैन । एउटा खेलाडीकै रूपमा म खुसी छु । म कसैका लागि भार भइरहेको छु भने खेल्दिनँ पनि । म योग्य छैन भने खेल्दिनँ ।’ उनी राष्ट्रियस्तरको क्रिकेट छाडे पनि क्लब क्रिकेट खेल्न छाड्ने स्थितिमा देखिँदैनन् ।

प्रधानमन्त्री कप खेल्न आउनुअघिको छनोटमा उनले शतक प्रहार गर्नुका साथै विकेटहरू पनि लिएका थिए । यसले उनमा आत्मविश्वास झनै बढाएको थियो । सबैले खेल्नुपर्छ भनेर अनुरोध गर्दै तिमी जस्ता वरिष्ठ खेलाडी भए अरूलाई हौसला हुन्छ भनेपछि उनी काठमाडौं खेल्न आएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा भइरहेको प्रधानमन्त्री कप नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक आयोजना गरेको हो । ‘क्यान पनि फर्किने र म पनि फर्किने जस्तो संयोग भयो,’ आफूसँगै खेलेका साथीले पनि छाडेको हुनाले आफू बीचमा तीन वर्ष नखेलेको उनी जनाउँछन् । कसैले प्रेरित पनि नगरेकाले बीचमा ‘ब्रेक’ लिनुपरेको तर्क उनी दिन्छन् ।

यसबीचमा उनी नयाँ मैदान बनाउन व्यस्त भए । भूकम्पपछि उनले नयाँ मैदान भाडामा लिएकाले उनी यसैमा व्यस्त भए । भारत जाने–आउने जारी रह्यो उनको । क्यान नहुँदा प्रतियोगिता नहुने भएकाले खेलाडी छनोट सबै नेट्समा हुन्थ्यो, क्लबस्तर शून्यमा झरेको थियो । दीपेशलाई नेट्समा जाने रहर नै आउँदैथ्यो । ‘ठीक छ अरू खेल्छन्’ भनेर उनी टाढै बसे । उनले २२ यार्डमा २२ वर्ष बिताइसकेका छन् । अब संन्यास लिने हो त ? यो प्रश्नको उनी तत्कालै जवाफ फर्काउँछन्, ‘प्रदर्शन झन् अहिले झरेको छ, रन बन्नै सकेन यो पटक, कहाँ अहिले संन्यास लिनु । अब फेरि राम्रोसँग अभ्यास गर्ने, आफैंबाट प्रेरित हुने, जति सकिन्छ यही रुटिनमा चलिरहन्छु ।’

‘अबदेखि मलाई क्याम्पमा नबोलाउनुहोस्, म खाली रहर पूरा गरेर आफ्नो सन्तुष्टका लागि खेलिरहेको छु,’ उनले २०१२ मा क्यानलाई एक पत्र लेख्दै यसो भनेका थिए । यसपटक उनका क्लबका दुई खेलाडी गण्डकीको टोलीमा परेका थिए । कास्की जिल्लामा पनि उनकै माछापुच्छ्रे क्रिकेट क्लबका खेलाडीको बाहुल्यता हुन्छ । उनी यसैमा रमाउँछन् । कास्कीअन्तर्गतका ५–६ क्लब जिल्ला छनोटमा उत्रन्छन्, त्यसमा पहिलोपटक यसपालि माछापुच्छ्रे उपविजेता भयो । जिल्लाको टोलीमा भने धेरै खेलाडी छनोट माछापुच्छ्रेकै भए ।

त्रिभुवन आर्मी क्लबसँगको पहिलो खेलमा उनले अर्जुन कुमालसँग ओपनिङ ब्याटिङ गरेका थिए । १५ वर्षको उमेरमै आफ्नो खेलले लोभ्याएका अर्जुन राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेका छन् । आर्मीसँगको खेलमा चनाखो भएको भए दीपेशले ओपनिङमा ब्याटिङ गर्न पनि पाउँदैनथे । म्यान अफ द म्याच पुरस्कार वितरण समारोहमा राष्ट्रिय टोलीका पूर्वकप्तान एवं हाल क्यानका क्रिकेट व्यवस्थापक विनोद दास अनौपचारिक प्रसंगमा आफ्ना पूर्वसहकर्मी दीपेशलाई बधाई दिँदै थिए । दासको बधाई झर्नै नपाउँदै दीपेशले प्रश्न गरिहाले, ‘१ रन बनाएकामा केको बधाई ?’ ५० ओभर पूरै फिल्डिङ गरेको भनेर दास भूमिका बाँध्दै थिए । जबकि दीपेश अम्पायरलाई नै सोधेर अन्तिम ७ ओभरभन्दा बढी ड्रेसिङ रुममा बसेका थिए । अम्पायर, रिजर्भ अम्पायर र म्याच रेफ्रीले यो चाल पाएको भए दीपेशले ओपनिङ ब्याटिङ गर्न जान पाउँदैनथे ।

नयाँ मैदान लिएसँगै उनी नयाँ प्रतिभा खोज्न जोसिएका छन् । यू–१६ र यू–१९ मा केन्द्रित हुने उनी जनाउँछन् । खासमा उनी यू–१२ र यू–१४ मा लक्षित हुन खोज्छन् तर क्यानसँगै यो उमेर समूहको कुनै कार्यक्रम नभएकाले दीपेशसँग यू–१६ बाट उमेर समूहको क्रिकेट सिकाउनुको विकल्प छैन । आर्सनल फुटबल क्लबको लन्डनमा हाइबरीबाट इमिरेट्स रंगशालामा सरे जस्तो भयो उनको नयाँ मैदान । लामो समय उनले भाडामा लिएर चलाएको पोखरा लर्डस मैदानबाट उनी अहिले इडेन हेभेन्समा सरेका छन् ।

नेपाली क्रिकेटमा सबैभन्दा लामो समय निलम्बन खेप्ने पनि दीपेश नै हुन् । सात वर्षअघि माछापुच्छ्रेका एक खेलाडी दोस्रो सर्वाधिक विकेटकर्ता थिए, तर उनी छनोट भएनन् । ‘क्लबको कप्तानका रूपमा मैले त्यो छनोटका बारेमा आवाज उठाउनुपर्ने भयो । सबैले पत्रकार सम्मेलन गरेर खेलाडी छनोटका बारेमा बोल्ने भयौं । पत्रकार सम्मेलनमा योग्य खेलाडी नपरेको भन्दै खेलाडी छनोट अस्वस्थ भयो भनेर मैले आफ्नो भनाइ राखें । त्यो रिसमा कास्कीले मलाई तीन वर्ष, प्रशिक्षकलाई एक वर्ष निलम्बन गर्‍यो । जो भाइ राम्रो प्रदर्शन दिएर पनि टिममा परेका थिएनन्, उनले नै पत्रकार सम्मेलन गरेका थिए, उनलाई केही भएन । हामीमाथि त रिस नै फेरेको जस्तो भयो,’ उनी त्यो निलम्बनलाई आश्चर्य मान्छन् ।

दीपेश खत्री विवादमा रहन्छन् वा उनलाई विवादले खोजिरहेको हुन्छ । ‘मेरो अरू कुनै विवाद छैन, क्रिकेट मात्र छ । सबैसँग घुलमिल हुन्छु । कसैले घमण्डी भन्छन् । घमण्डी भएको भए कसैसँग बोल्दिनथें होला । कसैसँग मिल्दिनथें होला । मैले कसैलाई गाली गरेको छैन, कसैलाई मुख छाडेका छैन । मेरो साथी १० वर्षका पनि छन्, ६० वर्षका पनि छन् । मिलनसार नै छु जस्तो लाग्छ,’ स्पष्ट वक्तालाई नराम्रो गर्ने गरेको उनले अनुभव गरे । उनले आफू विवादमा आउनुको कारण अझै थाहा पाउन सकेका छैनन् ।

चाहिने म्याच पनि जिताउँदैनन् भन्ने आरोप पनि उनले खेपेका छन् । तर उनलाई आएर कसैले अहिलेसम्म यस्तो भनेका छैनन् । आफ्नै क्लब र आफ्नै मैदान भएकाले उनलाई धेरैले क्रिकेटका बागी पनि भन्छन् । ‘मैले अलिकति राम्रो प्रतियोगिता गरें भने धेरैलाई बिझिरहेको हुन्छ, हाम्रो नाम जोडिदिएन भन्छन् । तपाईंहरू मिहिनेत गर्नुस्, प्रायोजक खोज्नुस् भनेपछि कित्ता फरक हुन्छ,’ उनले यस्तै अनुभव भोगेका छन् ।

केही वर्षअघि गण्डकी अञ्चल र धौलागिरि अञ्चललाई जोडेर एक फ्रेन्चाइज प्रतियोगिता आयोजना गरेका थिए । राखेपले ५ लाख सहयोग गर्ने भयो । घोषणा गरेबमोजिम उनले विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ दिए । अर्थात् राखेपको सहयोग बराबरको रकम उनले पुरस्कार राशिमा दिए । बजेटमा मिलेन भनेर राखेपबाट त्यो पैसा निकास भएन । कुनै पार्टीको झन्डा नबोकेको भएर आफ्नो लिंक नपुगेको जस्तो लाग्यो उनलाई । उनी आफैं क्रिकेटका सामानको व्यापार गर्छन् र यसैबाट घरपरिवार चलाउँछन् ।

भारतबाट टिमहरू बोलाएर खेलाउँछन्, मैदान भाडामा दिन्छन्, पसल नभए पनि क्रिकेटको सामान भारतबाट मगाएर बेच्छन् । ‘बुबा बितिसक्नुभयो, आमाले पनि छोरा बिग्रिएको छैन, एउटा मात्र लाइन छ त्यो क्रिकेट हो भनेर बुझ्नुभएको छ । मामाघरबाट पनि सहयोग छ,’ परिवारकै समर्थनका कारण आफूले क्रिकेटलाई समय दिन पाएको जनाउँदै भन्छन्, ‘श्रीमतीको पनि समर्थन छ । श्रीमतीले पनि पोखरामा तपाईंलाई हल्लाउने अझै कोही छैन भनेपछि झन् जोसिन मन लाग्छ ।’

व्यवस्थापक जिम्मी गुरुङ वा प्रशिक्षक रिजन प्रजु उनलाई फिट नै छौ भनेर हौस्याइरहेका हुन्छन् । दीपेशभन्दा एक वर्ष कान्छा छन् गण्डकी प्रदेशका व्यवस्थापक जिम्मी र प्रशिक्षक प्रजु ।

***

उनले नेपालबाट उमेर समूह र राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे । उमेर समूहमा आफूलाई ब्याट्सम्यानका रूपमा नहेरेकामा उनलाई अहिले पनि आश्चर्य लाग्छ । त्यसै पनि मिडियम पेसरले कम ओभर बलिङ गर्न पाउँथ्यो । सबै आशा स्पिनरमाथि नै हुन्थ्यो । २००७ मा कुवेतमा गएर नेपालले पहिलोपटक ट्वान्टी–२० खेल्नुअघि आयोजित छनोट प्रतियोगितामा दीपेश उत्कृष्ट बलर बने । तर कुवेतमा कुनै खेल खेल्न पाएनन् । त्यसबेला उनलाई निकै खल्लो लाग्यो । प्रदर्शन गरेर पनि खेल्न नपाएपछि उनको ध्यान पढाइतिर मोडियो र इंग्ल्यान्ड पढाइका लागि गए । नेपालबाट खेलेको भन्ने एकपटक त महसुस हुन्छ उनलाई, त्यो पनि इंग्ल्यान्ड जाँदा बिर्सिएको जस्तै भएछ ।

नेपालले सन् २००३ मा पाकिस्तान गएर युथ (यू–१९) एसिया कप खेलेको थियो । दीपेश खत्रीको नाम आउनेबित्तिकै पत्रकार महेश आचार्य र पुरुषोत्तम कट्टेल यही भ्रमणको स्मरण गर्छन् । दीपेश एक खेलमा प्लेइङ–११ मा थिएनन् । प्लेइङ बाहिरका तीनमध्येका एक खेलाडी स्कोररसँग बस्नुपर्ने हुन्थ्यो ।

प्रशिक्षक रोय डायसले दीपेशलाई स्कोररसँग बस्नुपर्ने भूमिका दिएछन् । दीपेश चुप लागेर बस्ने स्वभावका थिएनन्, उनी बोलिरहन्थे । जबकि स्कोररको काम खेलाडीको प्रदर्शन र अम्पायरको संकेत हेर्दै संयमसाथ कपीमा उतार्नु हुन्थ्यो । दीपेशलाई ती स्कोररले धैर्य हुन आग्रह गर्दै ‘सब्र कर’ भनेछन् । दीपेशको जवाफ उनले तत्कालै पाइहाले, ‘अगर मै सब्र होता त कभरमे होता ।’

तस्बिरहरू : केशव थापा/कान्तिपुर

प्रकाशित : माघ २४, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?