रुटलाई सय टेस्टमा गर्व

एएफपी

चेन्नई — इंग्लिस कप्तान जो रुट शुक्रबार आफ्नो सय टेस्ट खेल्नेक्रममा छन् । उनका लागि अहिलेसम्मको यात्रा गर्विलो छ । सय टेस्टको उपलब्धि छुने उनी १५ औं इंग्लिस क्रिकेट खेलाडीमात्र हुनेछन् ।

रुटलाई सय टेस्टमा गर्व

उनकै नेतृत्वमा इंग्ल्यान्ड भारतविरुद्धको पहिलो टेस्टका लागि मैदानमा उत्रँदैछ । श्रीलंकामा प्रभावशाली प्रदर्शनपछि उनी भारतमा आफ्नो चुनौती पेस गर्दैछन् । श्रीलंकामाथि प्राप्त २–० को क्लिन स्विप जितमा योर्कसायर ब्याट्सम्यानले २ सय २८ र १ सय ८६ रनको प्रदर्शन गरेका थिए ।

नागपुरमा ९ वर्षअगाडि भारतको टेस्टबाट डेब्यू गरेका रुटले ४९ को औसतले ८ हजार २ सय ४९ रन बनाएका छन् । तर उनको आलोचना हुने सबैभन्दा ठूलो पक्ष हो, ठूलो स्कोर बनाउन नसक्नु । उनले १९ शतकमात्र बनाएका छन् । त्यसको तुलनामा उनको अर्धशतकीय इनिङ्सको प्रदर्शन ६८ छ । ‘शतक बनाउन चुक्ने प्रवृत्तिले मलाई दुःख त दिन्छ, तर अहिलेसम्म मैले सय टेस्ट खेल्नेक्रममा जुन यात्रा तय गरें, त्यसमा मलाई गर्व नै लाग्छ ।’

रुटले यो यात्रालाई अविश्वसनीय भनेका छन् । उनले भनेका छन्, ‘इंग्लिस क्रिकेटले अहिलेसम्म केही निकै राम्रा खेलाडी देख्न पाएको छ । मलाई विश्वास छ, अबका दिनमा मलाई पनि लामै समयसम्म सम्झिने छ । अझ केही उत्कृष्ट खेलाडीसँग ड्रेसिङ रूममा साझेदारी गर्न पाउनु पनि गज्जब छ ।’ इंग्लिस टिममा रुटमात्र छैनन्, उनीभन्दा अनुभवी ३८ वर्षीय जेम्स एन्डरसन पनि छन् । उनले १ सय ५७ टेस्ट खेलिसकेका छन् ।

एन्डरसनमाथि प्रारम्भिक बलरको बोझिलो जिम्मेवारी छ । तर कप्तानका रूपमा समेत रुटसामु अझै लामो अन्तर्राष्ट्रिय क्रिकेट खेलजीवन रहेको छ । उनी भन्छन्, ‘मलाई लाग्छ, म पक्कै आफ्नो खेलजीवनको अन्त्यतिर पुगेको छैन । मलाई के पनि लाग्छ भने विश्व क्रिकेटका लागि अझै म धेरै योगदान दिन सक्छु । व्यक्तिगत रूपमा मभित्र इंग्ल्यान्डका लागि खेल्ने र राम्रो प्रदर्शन गर्ने लोभ कायम छ ।’

उनको यो आसय श्रीलंकाविरुद्ध प्रस्ट देखिएको छ । उनी कप्तानको भूमिका जमेका छन् नै । उनी टिमको प्रमुख स्टार ब्याट्सम्यान रहेका छन् । उनी मान्छन्, ‘पछिल्लो दुई खेलमा मैले सायद केही आफ्नै खेलमा बढी ध्यान दिएर खेल्ने प्रयास गरें । यो स्वार्थीपन नै हो । मैले के सोचेको थिएँ भने जति धेरै समय क्रिजमा बिताउन सकिन्छ, त्यत्तिकै बढी रन बनाउन सकिन्छ । मलाई फेरि यो सामान्य नै लाग्छ, तर मैले यो तथ्य बुझ्न किन ९९ टेस्ट कुर्नुपरेको थियो भन्ने प्रश्न हुन सक्छ ।’

‘राम्रो प्रदर्शनका लागि म पछिल्लो समय बढी केन्द्रित हुने प्रयास गरिरहेको छु । मैले यसरी नै खेल्ने प्रयास गरिरहेको थिएँ,’ उनी भन्छन् । इंग्ल्यान्डका लागि अलराउन्डर बेन स्टोक्स र तीव्र गतिका बलर जोफ्रा आर्चर भारतविरुद्धको चार टेस्टको सिरिजका लागि फर्कने निश्चित छ । दुवै खेलाडीलाई श्रीलंकाविरुद्धको सिरिजका लागि आराम दिइएको थियो । यस विषयमा रुट भन्छन्, ‘यी दुई खेलाडीको टिममा पुनरागमनले हामीलाई राम्रो नै गर्नेछ ।’

प्रकाशित : माघ २३, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?