कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साहसिक ह्विलचियर दौडको उपाधि रमेश र पूजालाई

विद्या राई

काठमाडौँ — शुक्रबार आयोजित दोस्रो साहसिक ह्विलचियर दौडको उपाधि रमेश खत्री र पूजा चौधरीले चुमेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिद राष्ट्रिय पार्कमा एक किलोमिटरको दूरीमा भएको दौडमा पुरुषतर्फ रमेश र महिलातर्फ पूजाले उपाधि चुमेसँगै जनही १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । रमेशले ५ मिनेट १९ सेकेण्ड र पुजाले ७ मिनेट २४ सेकेन्डमा दौड पार गरेका थिए ।

साहसिक ह्विलचियर दौडको उपाधि रमेश र पूजालाई

रमेश स्पाइनल कर्ड इन्जुरीतर्फ दक्षिण एसियास्तरीय अन्तराष्ट्रिय पौडीबाज पनि हुन् । उनले स्कि, बास्केटबल तथा क्रिकेट प्रतियोगिताहरुमा पनि भाग लिँदै आएका छन् । पूजा दौडसँगै बास्केटबल पनि खेल्छिन् । आफूहरुले उपाधि चुमेसँगै साहसिक खेलमा थप हौसला र उर्जा मिलेको बताएका छन् । ‘ह्विलचियर युजरहरुले पनि साहसिक खेलमार्फत नाम चिनाउन सकिन्छ, निरन्तर मेहनत गर्नुपर्छ भन्ने सिकाइ भएको छ,’ रमेशले भने ।

दौड गराइएको रुट पक्की भएपनि साघुरो, उकालो, ओरालो, भिरालो छ । यस्तो रुटमा ह्विलचियरमै बसेर दौडनु जोखिमयुक्त हुन्छ । ‘गाह्रो भएपनि ‘मोटिभेसन’ मिलेको छ, यसरी साथीहरुसँग बाहिर आएर दौडनु पाउदा खुसी महसुस भएको छ,’ पूजाले भनिन् ।

यसैगरी पुरुषतर्फ विष्णु पुकार ठोकरले ६ मिनेट ४ सेकेन्डमा दौड पार गर्दै द्वितिय तथा खुमबहादुर पाण्डेले ७ मिनेट ३६ सेकेन्डमा पार गर्दै तृतिय स्थान हासिल गरे । महिलातर्फ ऐश्वरी कुमालले ८ मिनेट ३२ सेकेन्ड र रजनी राईले ११ मिनेट ९ सेकेन्डमा दौड पार गर्दै क्रमश: द्वितिय र तृतिय भए । दुवैतर्फ द्वितिय र तृतिय हुनेले जनही क्रमश: १० हजार र ५ हजार नगद, ट्रफी तथा प्रमाणपत्रबाट सम्मानित भए । महिला र पुरुषतर्फ क्रमश: निर्मला भण्डारी र दिवस परियार सान्त्वना भएसँगै नगद एक/एक हजार र प्रमाणपत्र पाए ।

तस्बिरहरु : विद्या राई/कान्तिपुर

प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकामा बस्ने १५ महिला र ४० पुरुष गरी ५५ जनाले भाग लिएका थिए । महिला र पुरुष दुवैको एउटै रुटमा अलगअलग प्रतियोगिता गरिएको थियो । प्रतियोगीहरु सबै स्पाइनल कर्ड इन्ज्युरी (मेरुदण्डीय पक्षघात) भएका व्यक्ति हुन् ।

अपांगता भएका व्यक्तिहरुले पनि अवसर पाएको खण्डमा साहसिक कार्य गर्न सक्छन् भन्ने हौसला प्रदान गर्न गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा स्पाइनल कर्ड इन्जुरी समूह नेपाल र शहिद राष्ट्रिय पार्कले गतबर्षदेखि प्रतियोगिताको सुरुआत गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाले एक लाख ५० हजार नगद सहयोग गरेको छ । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर लगायतले प्रतियोगितामा प्राविधिक सहयोग पुऱ्याए ।

स्पाइनल कर्ड इन्जुरी समूह नेपालका अध्यक्ष ऋषि ढकाल भन्छन्, ‘अपांगता भएपछि समाज, परिवार र सरकारकै लागि बोझ ठानिन्छौं, अवसर र हौसला पाउँदा अरुलेजस्तै साहसिक काम गरेर हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न साथीहरुलाई यो अवसरको सुरुआत गरेका छौ ।’ अहिले नगरपालिकाभरीका स्पाइनल कर्ड इन्जुरी भएकाहरुलाई मात्रै सहभागी गराइएको भएपनि विस्तारै दायरा फराकिलो बनाउदै राष्ट्रिय स्तरको प्रतियोगिता गराउने बताए ।

उनीहरुले सहिद पार्कमै प्रतियोगिता आयोजना गर्नुका पछाडि सार्वजानिक थलोहरु अपागंमैत्री बन्न/बनाउन दबाब दिनु पनि हो । यो पार्कको क्षेत्र फराकिलो छ । नगरप्रमुख सन्तोष चालिसेका अनुसार काठमाडौंमा सबैभन्दा बढी अपांगता भएका व्यक्तिहरु गोकर्णेश्वर नगरपालिकामा बस्छन् । बेलाबखत घुमघाम तथा मनोरञ्जनका लागि पार्क अपागंमैत्री होस्, बनिरहेको संरचनाहरु मैत्रीपूर्ण बनाउन सहायता पुगोस् भन्ने उदेश्यले पार्कमा यस्ता साहसिक खेलहरु सञ्चालन गर्न थालेको बताए ।

प्रकाशित : माघ १७, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?