३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शरद, विनोद र विभागीय प्रतिष्ठा

विनोद पाण्डे

काठमाडौँ — शरद भेषावकर घरेलु क्रिकेटका सफल कप्तानमध्ये एक हुन् । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबविरुद्ध फाइनल खेल्दा नेपाल एपीएफ क्लबका कप्तान उनलाई फेरि प्रमाणित गर्ने अवसर रहनेछ । 

शरद, विनोद र विभागीय प्रतिष्ठा

गत वर्ष पोखरा प्रिमियर लिगलाई छाड्ने हो भने शरदले नेतृत्व गरेको टोलीले सबै फ्रेन्चाइज लिग क्रिकेटको कम्तीमा फाइनल खेलेको छ । एकदिवसीयमा शरदका लागि कप्तानी नौलोजस्तै नै हो । उनले पाएको मौकामा घरेलु क्रिकेटको सफल टोली एपीएफलाई पनि उपाधि नजिक उभ्याएका छन् ।

‘टिम खेल भएकाले व्यक्तिगत रूपमा हामीलाई उपाधिको खासै महत्त्व नहोला, बक्सिङ खेल भए कुरा फरक हुन्थ्यो । पछि गएर जीवनमा कुनै क्षण याद गर्दा व्यक्तिगतभन्दा एउटा टिमका रूपमा कस्तो प्रदर्शन दिएका थियौं, त्यसको खुसी कसरी मनाइएको थियो, ती कुराहरू बढी याद आउँछ जस्तो लाग्छ,’ शरद टिमको सफलतालाई महत्त्व दिन्छन् ।

यसपालि प्रतियोगितामा उनको ब्याट खासै चलेको छैन । फाइनलसम्म उनले ५ खेलमा ७५ रनमात्र बनाउन सकेका छन् । त्यसमा उनको उच्च स्कोर २४ रन छ । ‘अहिलेसम्म जे भयो भयो, म पनि प्रदर्शन देखाउन भोको छु,’ आफ्नो टोली उपाधि जित्न आतुर रहेको जनाउँदै शरदले भने, ‘एकरूपले खेलिरहेका छौं । गाह्रो र चुनौतीपूर्ण स्थिति पार गर्दै खेल जितेका छौं । यसले टोली उपाधिको भोको छ भन्ने पनि देखाउछ । व्यक्तिगतभन्दा पूरा टिमले प्रदर्शन दिएकोमा म अझ सन्तुष्ट छु । आशा छ फाइनलमा पनि यही दोहोर्‍याउने छौं ।’

वसन्त रेग्मीको कप्तानीमा एपीएफले २०७५ सालमा दोस्रो संस्करण जित्दा आर्मीलाई नै फाइनलमा पराजित गरेको थियो । यसैपालिदेखि शरदले वसन्तको स्थानमा एपीएफको नेतृत्व गर्न लागेका हुन् । नेपाल पुलिस क्लब र आर्मीको वर्चस्व तोड्दै शरदको कप्तानीमा एपीएफ फाइनल पुगेको हो । यसक्रममा एपीएफले सेमिफाइनलमा दुई वर्षअघिको साबिक विजेता पुलिसको चुनौतीलाई ३० रनले पन्छाएको थियो । ‘फाइनल पुग्दा सबै उत्साही छन् । फाइनल पुग्नु नै ठूलो सफलता हो, उपाधिका लागि एक खेलमात्र बाँकी हो,’ उनी यसै भन्छन् ।

शरदको कप्तानीजस्तै प्रतियोगितामा आर्मीको रेकर्ड छ । आर्मी सबै चार संस्करणको फाइनल खेल्दै छ । तर, विनोद भण्डारीको नेतृत्वमा रहेको आर्मी पहिलो स्पष्ट उपाधिको आशामा हुनेछ । २०७४ सालको पहिलो संस्करण वर्षाले बीचैमा बिथोलिएपछि पुलिससँगै आर्मी संयुक्त विजेता बनेको हो । दोस्रो संस्करणमा एपीएफसँग पराजित आर्मीलाई पछिल्लो संस्करण (२०७६ वैशाख–जेठ) मा पुलिसले माथ दिएको थियो ।

विनोद विगततर्फ फर्कन चाहन्नन् । ‘पछाडि फर्केर हेर्ने हो भने जित्न सकिन्न । अगाडिको खेल सोच्ने हो, त्यो सोच जित्नका लागि हो,’ कप्तान विनोदले, ‘फाइनलअघि सोच्नुपर्ने केही छैन । हरेक खेल हेर्ने हो भने आर्मीबाट एकजनाले मात्र प्रर्दशन दिएका छैनन् । नतिजा आउने भनेको सामूहिक प्रयासबाट नै हो ।’

समूह चरणमा एपीएफले आर्मीलाई ६ विकेटले पराजित गरेको थियो । विभागीय टोलीबीचको प्रतिस्पर्धामा दुवै टोलीको सम्भावना समान भएर होला एपीएफप्रति विनोद सम्मान दिन्छन् ।

‘एपीएफ सन्तुलित टोली छ । हाम्रा तीन खेलाडी नहुँदा सन्तुलित नमिलेजस्तो देखिएको छ तर भित्रबाट हेर्दा एकरूप नै छ,’ सोमपाल कामी, करण केसी र कुशल मल्ल टी–१० लिग खेल्न यूएई गएका कारण आफ्नो टोलीलाई असर परेको जनाउँदै विनोदले भने, ‘सोमपाल, करण र कुशल नहुँदा टिम मिलाउन निकै गाह्रो भएको र त्यसैले पनि यताउता गर्न हामीसँग समय छैन ।’

सेमिफाइनलमा आकाश चन्दको स्थानमा ल्याइएका जितेन्द्र मुखियाले ४ विकेट लिँदै आर्मीलाई जिताउन सहयोग गरेका थिए । फाइनलमा कसलाई खेलाउनेबारे केही नसोचिएको उनी बताउँछन् ।

भेट्रान स्पिनर वसन्त रेग्मीको अन्योलता एपीएफका लागि चिन्ताको विषय छ । आर्मीसँगको समूह चरणको खेलमा घाइते वसन्तले पुलिसविरुद्ध सेमिफाइनल खेल्न सकेनन् । फाइनलअघि फिटनेस टेस्ट हेरेरमात्र वसन्तको स्थिति भन्न सकिने शरद जनाउँछन् ।

वसन्तको उपस्थिति निकै महत्त्वपूर्ण हुने जनाउँदै शरदले सेमिफाइनलमा घाइते भएका अलराउन्डर भुवन कार्की फिट भएको र उनले बिहीबार पनि प्रशिक्षण गरिसकेको बताए । उनी उत्कृष्ट प्लेइङ ११ नै फाइनलमा उतार्ने बताउँछन् ।

एपीएफका सिमरहरू अविनाश बोहरा र कमलसिंह ऐरीले राम्रो गर्दै आएका छन् । ‘विकेटको गणना गर्ने हो भने हाम्रा सबै बलरले नै राम्रो गरेका छन् । एकजनाको प्रदर्शनले मात्र एपीएफ फाइनल पुगेको होइन । सिम बलरले राम्रो गरेका छन्, एकरूपको प्रदर्शन देखाइरहेका छन्,’ फाइनललाई लिएर उत्साहित शरदले भने, ‘फाइनल खेल्दा जहिल्यै रमाइलो हुन्छ, दुवै टोलीका लागि दबाबको खेल हो । आशा छ राम्रो टोलीले जित्ने छ । फाइनल खेल भनेको दबाब कसरी लिने हो, त्यो कन्डिसनमा जुन टिम भिज्न सक्छ त्यसैले जित्ने हो ।’

प्रकाशित : माघ १७, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?