राष्ट्रिय महिला लिग : उपाधि होडमा एपीएफ अगाडि

एपीएफ क्लबले पुलिसलाई ३–० ले हराएर राष्ट्रिय महिला लिगमा ७ अंकको अग्रता लिँदै उपाधि रक्षा गर्ने सम्भावना बलियो बनाएको छ ।
राजु घिसिङ

काठमाडौँ — सशस्त्र प्रहरी बलको एपीएफ क्लब राष्ट्रिय महिला लिगको डिफेन्डिङ च्याम्पियन हो । यसपालि पनि एपीएफले उपाधि जोगाउने अनुमान गरिएको छ ।

राष्ट्रिय महिला लिग : उपाधि होडमा एपीएफ अगाडि

उपाधि रक्षाको अभियानमा एपीएफलाई विभागीय प्रतिद्वन्द्वीद्वय पुलिस र आर्मीले कडा चुनौती दिने अपेक्षा गरिएको थियो । तर, मैदानमा त्यस्तो भएको छैन । लिगको १२ खेल सकिँदासम्म एपीएफ रोकिने कुनै संकेत देखिएको छैन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार पुलिसमाथि ३–० को जित रचेको एपीएफले शतप्रतिशत नतिजासहित ४ खेलबाट १२ अंक जोडेको छ । अघिल्लो खेलमा आर्मीविरुद्ध गोलको खाता खोल्न नसकेकी सावित्रा भण्डारीले पुलिसविरुद्धका तीनै गोल गरिन् । प्रतियोगितामा तेस्रो ह्याट्रिक गरेसँगै उनी वुमेन अफ द म्याच पनि चुनिइन् । चन्द्रपुरविरुद्ध तीन र विराटनगरविरुद्ध चार गोल गरेकी उनी सर्वाधिक गोलकर्ताको सूचीमा १० गोलसहित शीर्षस्थानमा छन् ।

‘तीन गोल गरेकोमा एकदमै खुसी,’ भारतको महिला लिगमा पनि सर्वाधिक गोलकर्ता भइसकेकी सावित्राले भनिन्, ‘मलाई सर्वाधिक गोलभन्दा पनि उपाधिसँग मतलब छ । जित्दै जाँदा सबैभन्दा बढी गोल पनि गर्छु होला । हामीले उपाधि रक्षा गर्ने हो, मैले नै गोल गर्नुपर्छ भन्ने छैन ।’ वालिङकी क्यामरुनी फरवार्ड मेथो रुथभन्दा ३ गोल बढी गरेकी उनले थपिन्, ‘अरु टिम पहिलाजस्तो कमजोर छैनन् । सबैसँग कठिन खेलको रूपमा लिएका छौं ।’

घरेलु महिला फुटबलमा अनु लामा र जमुना गुरुङको पुस्तापछि खुबै छाएकी फरवार्ड सावित्राले ३२ औं मिनेटमा गोलको खाता खोलिन् । अनिता केसीको पासमा पुलिसकी डिफेन्डर मणि गुरुङलाई छक्याउँदै सावित्राले बललाई पोष्टको दिशा दिएकी थिइन् । चोट लागेकी पूजा रानाको स्थानमा खेलेकी मणिको गल्तीले त्यो गोल भएको पुलिसका प्रशिक्षक सन्जीव जोशीले बताए ।

उत्कृष्ट गोल

सावित्राको दोस्रो गोल उत्कृष्ट रह्यो । मैदानको आफ्नै क्षेत्रबाट अगाडि बढाउँदै पुलिसका तीन खेलाडी उछिनेर उनले सरु लिम्बुलाई बल दिइन् । सरुको ‘वान टच पास’मा बल नियन्त्रण गर्दै सावित्राले चार खेलाडीबाट घेरिएको अवस्थामा पेनाल्टी क्षेत्रको ठीकभित्रबाट बललाई ५६ औं मिनेटमा आकर्षक गोलमा परिणत गर्दै एपीएफको अग्रता दोब्बर बनाएकी थिइन् । डिफेन्सको क्लियर गर्न नसकेको बललाई अनिता केसीले दिएपछि ‘सिक्स यार्ड बक्स’नजिकै नियन्त्रणमा लिँदै सावित्राले ८४ औं मिनेटमा बायाँ खुट्टाले सेकेन्ड बारमा प्रहार गर्दै ह्याट्रिक पूरा गरिन् ।

पुलिसकी कप्तान नीरु थापाले ३० औं मिनेटमा अग्रता दिलाउने राम्रो अवसर पाएकी थिइन् । तर, एपीएफकी गोलकिपर एन्जिला तुम्बापो अगाडि बढेको अवस्थामा खाली पोस्टतिर उचाइ दिँदै नीरुले प्रहार गरेको बल पोस्टबाहिर गएको थियो । त्यसअघि सावित्राको दुई र अनिता बस्नेतको एक प्रहार पनि पोस्ट नजिकिँदै बाहिरिएको थियो । एपीएफबाट पुलिस पुगेकी फरवार्ड रेखा पौडेलसँगै निर्मला बिके र अनुभवी नीरु एपीएफको डिफेन्सलाई चुनौती दिन असफल रहे । पुलिसका प्रशिक्षक जोशीले भने, ‘एपीएफ राम्रो हो । तर, हाम्रै कारण गोल खाँदा हामी दबिएका हौं ।’

ह्याट्रिक गरेकी एपीएफकी सावित्रा भण्डारी । तस्बिर सौजन्य : एन्फा

६ खेलाडीको १८ गोल

एपीएफकी डिफेन्डर हीराकुमारी भुजेल चोटसँग संघर्ष गरिरहेकी छन् । अघिल्लो खेलमा आर्मीविरुद्ध बाहिरै रहेकी उनी पुलिसविरुद्ध पनि मैदानमा ओर्लन सकिनन् । उनी मैदानमा फर्कन अझै कति लाग्छ भन्ने निश्चित नभएको एपीएफका सहायक प्रशिक्षक जनकसिं थारुले बताए । तैपनि एपीएफले ४ खेलसम्म विपक्षीलाई गोलको खाता खोल्न दिएको छैन । एपीएफले प्रतिखेल ४.५ को औसतमा कुल १८ गोल गरेको छ । त्यसमा सबैभन्दा ठूलो योगदान सावित्राकै छ । आर्मीको डिफेन्सले रोके पनि उनलाई अरू खेलमा रोक्न नसकिने जस्तै देखिएकी छन् । चन्द्रपुरविरुद्ध ६–० को जितमा एपीएफकी सावित्राबाहेक अनिता बस्नेत, अन्जली (मन्जली) योञ्जन र प्रीति राईले पनि गोल गरेका थिए । विराटनगर महानगरलाई ७–० ले पराजित गर्दा सावित्राले ४, अनिता केसीले २ र सरुले १ गोल गरेका थिए । सरु र मन्जलीको गोलमा एपीएफले आर्मीलाई २–० ले हराएको थियो । ६ खेलाडीले गोल गरेकाले एपीएफ ‘फ्रि–स्कोरिङ टिम’ देखिएको छ ।

हीराकुमारी घाइते भए पनि पछिल्लोपल्ट राष्ट्रिय टिममा रहेका एपीएफका अरु ९ खेलाडी (एन्जिला, सरु, सावित्रा, रेनुका नगरकोटे, मनमाया लिम्बू, अनिता केसी, अनिता बस्नेत, मन्जली, गीता राना) नियमित खेलिरहेका छन् । उनीहरूविरुद्ध प्रतिस्पर्धा गर्न विपक्षीलाई गाह्रो भइरहेको छ । खासगरी एपीएफ मिडफिल्ड र अग्रपंक्तिमा बिलयो देखिएको छ । उसको डिफेन्सलाई आर्मी र पुलिसले चुनौती दिने अपेक्षा गरिएको थियो तर एपीएफलाई खासै समस्या भएको छैन । वालिङकी क्यामरुनी फरवार्ड रुथले शनिबार हुने खेलमा एपीएफको डिफेन्सको परीक्षा लिनेछिन् ।

रोकिए प्रतिस्पर्धी

एपीएफले आफ्नो खेल जितेको त छँदै छ, साथमा प्रतिद्वन्द्वीहरू पनि रोकिँदै गएका छन् । आर्मी र पुलिसले उद्घाटन खेल बराबरीमा टुंग्याउनु र पुलिसले वालिङसँग अंक बाँड्नुले एपीएफलाई प्रत्यक्ष फाइदा भयो । त्यसैले एपीएफले चौथो चरणको खेल नसकिँदै ७ अंकको अग्रता लिएको छ । वालिङ र पुलिसले ५–५ अंक बनाएका छन् । एक खेल कम खेलेका आर्मी र विराटनगरको ४–४ अंक छ । चन्द्रपुरले ३ अंक जोडेको छ भने चौदण्डीगढी अझै अंकको खाता खोल्ने प्रयासमै छ ।

‘गोल भयो, जित भयो, राम्रो पक्ष हो,’ एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले भनिन्, ‘दुई फरवार्ड (सावित्रा र अनिता केसी) को अझै राम्रो समन्वय देखिएको छैन, यस कमजोरीलाई सच्याउनुपर्छ ।’ उपाधि होडबारे सहायक प्रशिक्षक जनकसिं थारुले भने, ‘हामी उपाधि होडमै छौं, ढुक्क भन्न भने मिल्दैन । अझै ८ खेल बाँकी छ । खेलाडीले आराम पाइरहेको छैन । खेल हो भन्न सकिँदैन । डबल लिगमा पुलिस र आर्मीसँग अझै खेल्नुपर्छ । वालिङ पनि राम्रो छ ।’

रुथको ६ गोलको सहयोगमा वालिङले बिहीबार पहिलो खेलमा चौदण्डीगढीलाई १०–० ले हरायो । यो लिगमा वालिङको पहिलो जित र यसैमा उसले सबैभन्दा ठूलो अन्तरको जित दर्ता गर्‍यो । रुथले ७, ९ र १९ औं मिनेटमा गोल गर्दै १२ मिनेटभित्रै ह्याट्रिक गरिन् । उनी ६३, ७१ र ९१ औं (इन्ज्युरी समय) थप गोल गर्दै यो लिगमा एउटै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी भइन् । स्याङ्जाली टिमका लागि अरू गोल अर्का क्यामरुनी ओरानेला नोएल (४९ औं मिनेट), मनमाया दमाई (३३) र सब्स्टिच्युट खेलाडी सम्झना शर्मा (८० र ८२) ले गोल गरे ।

प्रकाशित : माघ १६, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?