२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एएफसी कप २०२१ : त्रिभुवन आर्मीले श्रीलंका पुलिसविरुद्ध खेल्ने

काठमाडौँ — नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को प्रारम्भिक छनोटको पहिलो चरणमा श्रीलंका पुलिसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

एएफसी कप २०२१ : त्रिभुवन आर्मीले श्रीलंका पुलिसविरुद्ध खेल्ने

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार निकालेको खेल तालिकाअनुसार आर्मीले श्रीलंकाली टिमको सामना गर्ने भएको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता आर्मीले अप्रिल ७ मा श्रीलंका पुलिसविरुद्ध खेल्नेछ । फिफा वरियतामा माथिल्लो स्थानमा रहेको देशको मैदानमा खेल सञ्चालन हुने नियमानुसार आर्मीले घरेलु मैदानमै श्रीलंकाली क्लबविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । पछिल्लो फिफा वरियतामा नेपाल १७१ र श्रीलंका २०६ औं स्थानमा छन् । दुवै क्लबले पहिलोपल्ट एएफसीको प्रतियोगिता खेल्न लागेका हुन् ।

एसियाली क्लब फुटबलमा च्याम्पियन्स लिगपछिको महत्वपूर्ण प्रतियोगिताबारे आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने ‘मनाङबाट खेल्दा कोलम्बोमै श्रीलंकाली टिमलाई पराजित गरेका थियौं । यसपाली हाम्रो तयारी राम्रो छ । त्यसैले श्रीलंका पुलिसलाई हराउन सक्छौं । घरेलु मैदानले पनि हामीलाई राम्रो फाइदा गर्नसक्छ ।’ यी पूर्व विंगरको टिम मनाङ मर्स्याङ्दीले एएफसी प्रेसिडेन्ट कप २०१४ को समूह चरणमा श्रीलंकन एयर फोर्सलाई कोलम्बोमा २–१ ले पराजित गरेको थियो । उनका अनुसार आर्मीले मंसिर १७ देखि नै एएफसी कप छनोटको लागि तयारी थालेको थियो । नेपाली सेनाको मुख्यालयमा थालिएको ट्रेनिङ हाल लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भइरहेको छ । पोखरामा भइरहेको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आर्मीका ८ खेलाडी छन् । डिफेन्डर सुमन अर्याल भने चोटमुक्त हुने प्रयासमा छन् ।

नेपालको लागि लिग च्याम्पियनले एएफसी कपमा सहभागी हुने अवसर पाउँछ । तर, लिग च्याम्पियन मछिन्द्रसँग एएफसी क्लब लाइसेन्स छैन, जुन एएफसीको प्रतियोगितामा सहभागी हुनको लागि अनिवार्य गरिएको छ । त्यसैले फेरिएको नाममा बेग्लै फुटबल क्लब दर्ता गरेर यसपाली एएफसी क्लब लाइसेन्स हात पार्दै नेपालको एक्लो क्लब बनेपछि आर्मीले एएफसी कपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । पछिल्लोपल्ट २०१९ मा मनाङले एएफसी कपको समूह चरणमा सीधै खेल्ने मौका पाएको थियो । आर्मीलाई भने समूह चरणमा पुग्न सजिलो छैन ।

एफए कप (घरेलु प्रतियोगिता) विजेता श्रीलंका पुलिसलाई पराजित गर्न सके आर्मीले प्रारम्भिक चरणको दोस्रो खेलमा इन्डियन सुपरलिग क्लब बेंगलुरुको अप्रिल १४ मा सामना गर्नेछ । त्यसपछि प्ले–अफ हुनेछ र त्यसमा जित हात पार्न सके मात्रै आर्मी एएफसी कपको समूह चरणमा पुग्नेछ । सिधा हिसाबले आर्मी छनोटका तीन खेल जितेपछि मात्रै एएफसी कपको समूह चरणमा पुग्न सक्छ । प्रराम्भिक चरणको पहिलो खेलमा माल्दिभ्सको इगल्स र भुटानी लिग च्याम्पियन थिम्पु सिटी पनि भिड्नेछन्, जसको विजेताले दोस्रो खेलमा बंगलादेशको अबहनी लिमिटेड ढाकाको सामना गर्नेछ । प्रारम्भिक चरणका दोस्रो खेलका दुई विजेताले प्ले–अफमा प्रतिस्पर्धा गर्नेछ ।

इन्डियन सुपर लिग क्लब एटीके मोहन बगान (आई लिग वजेता पनि), बंगलादेश प्रिमियर लिग र फेडेरेसन कप विजेता बसुन्धरा किङ्स र माल्दिभ्सको धिवेही लिग च्याम्पियन माजियाले सीधै दक्षिण एसियाली क्षेत्रको समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस क्षेत्रमा छनोट पार गर्ने एक टिमले उनीहरूसँगै खेल्नेछ ।

प्रकाशित : माघ १४, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?