एपीएफ फाइनलमा, डिफेन्डिङ च्याम्पियन पुलिस बाहिरियो

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबको चुनौतीलाई ३० रनले पन्छाउँदै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको फाइनल पुगेको छ ।

एपीएफ फाइनलमा, डिफेन्डिङ च्याम्पियन पुलिस बाहिरियो

भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा एपीएफ दोस्रोपल्ट उपाधि नजिक पुगेको हो । भुवनले निर्णायक समयमा ४२ रन बनाएपछि टस हारेर ब्याटिङ आएको एपीएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाई २ सय ३ रन बनायो । जवाफमा पुलिस ४९.२ ओभरमा १ सय ७३ रनमा आउट हुँदा भुवनले ४ विकेट लिए । बिहीबार वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को सेमिफाइनल हुनेछ । त्यसको विजेतासँग एपीएफले शनिबार फाइनल खेल्नेछ ।

फिल्डिङका क्रममा घाइते भएका आरिफ शेख उभिनै नसक्ने स्थितिमा पुगेका थिए । एङ्कल दोब्रिएपछि उनको खुट्टा सुन्निएपछि अस्पताल लैजानुपरेको थियो । अस्पतालबाट ब्यान्डेज लगाएर फर्किंदा आरिफलाई उभिन दुई सहयोगी चाहिएको थियो । ४७ औं ओभरमा राशिद खान ३४ रनमा आउट भएपछि सबैलाई आश्चर्यमा पार्दै आरिफ आफैं ब्याटिङ गर्न मैदान पुगे, जतिखेर पुलिसलाई जितनिम्ति ४७ रन चाहिन्थ्यो ।

चोभार इन्डतर्फ सीमित संख्याका दर्शकले ब्याटिङ गरुन्जेल आरिफलाई हौस्याइरहे । एक रन दौडिन हम्मे परेका आरिफले कमलसिंह ऐरीलाई स्ट्रेट छक्का प्रहार गरे । ४९ औं ओभरको पहिलो दुई बलमा अविनाश बोहरालाई लगातार दुई चौका प्रहार गरेका आरिफले उनै अविनाशको बलमा आउट हुनुपूर्व १४ बल खेल्दा १६ रन बनाए । जोखिम मोलेर ब्याटिङ गरेका आरिफलाई प्रतिद्वन्द्वी टोलीका कप्तान शरद भेषावकरसहितले प्रंशसा गरे ।

पुलिसबाट पवन सर्राफले सर्वाधिक ४० रन बनाए । ६१ बलमा २ चौका र १ छक्का प्रहार गरेका उनी आउट हुँदा पुलिस ४१ ओभरमा १२५–७ को स्थितिमा थियो । कुशल भुर्तेल शून्य, सुनील धमला ३ र अमित श्रेष्ठ ८ रनमा आउट भएपछि पुलिसले सुरुदेखि दबाबमा खेल्नुपरेको थियो । दीपेन्द्रसिंह ऐरी र अनिल साहले चौथो विकेटमा ४६ रनको साझेदारी गरे । यी दुईले एपीएफले छाडेका एक दर्जनको क्याचको फाइदा पूरा उठाउन सकेनन् ।

कमलले अनिललाई २१ रनमा बोल्ड गरे । उनले ४० बलमा ३ चौका प्रहार गरे । दीपेन्द्र ३३ रन बनाई शरदको बलमा विकेटकिपर सुवास खकुरेलबाट समातिए । दीपेन्द्रले ६९ बल खेल्दै २ चौका प्रहार गरे । कप्तान मन्जित श्रेष्ठ ३ र राशिद आउट भएपछि आरिफ ब्याटिङमा आएका थिए । राशिदले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । आउट हुने अन्तिम खेलाडी सागर ढकालले ११ रन बनाए ।

भुवनको हालत पनि आरिफकै जस्तो थियो । फिल्डिङका क्रममा चोट लागेका उनी मैदान बाहिर बस्नुपरेको थियो । पुनः मैदान छिर्दै उनले थप २ विकेट लिए । भुवनले ९.२ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर कुल ४ विकेट लिए । शरदले १० ओभरमा ३६, अविनाशले ३१ र कमलले ५२ रन खर्चेर २–२ विकेट लिए ।

आशिफ शेख १, सुवास १९, शरद १८ र सुमित महर्जन १ रनमा आउट भएपछि यसअघि १४ औं ओभरमा ४३–४ को स्थितिमा पुगेको एपीएफलाई शंकर राना, सन्दीप जोरा र भुवनले उकासेका थिए । शंकर र सन्दीपले पाँचौं विकेटमा ६४ रनको साझेदारी गरे । सन्दीप ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३४ रनमा आउट भए । शंकरले ९६ बल खेल्दै ४ चौका मदतमा ४४ रन बनाए ।

अमरसिंह राउटेला ४ रनमा आउट भएपछि भुवनले कमलसँग आठौं विकेटमा ३८ रनको साझेदारी गरे । कमलले १३ बलमा २ चौकासहित १९ रन बनाए । भुवनले ५६ बलमा १ चौका र २ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम दुई बलमा छक्का र चौका प्रहार गरेका अविनाश ११ रन (५ बल) अविजित रहे । राशिदसँग नयाँ बल लिएर आएका आरिफले लगातार १० ओभरमा १ मेडन राखेर ३१ रन दिई ३ विकेट लिए । ललितनारायण राजवंशी र दीपेन्द्रले २–२ तथा राशिद र सागरले १–१ विकेट लिए ।

प्रकाशित : माघ १४, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?