२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एक्ली महिला प्रशिक्षक

महिलाको लिग भए पनि प्रशिक्षकमा पुरूषकै वर्चस्व छ । एपीएफकी भगवती थापा मुख्य प्रशिक्षक बन्ने पहिलो र एक्ली महिला भएकी छन् ।
राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला खेलाडीलाई पनि पुरुष समान तलब घोषणा गरिसकेको छ । फेरिएको संरचनामा भइरहेको राष्ट्रिय महिला लिगको प्रशिक्षकमा भने पुरुषकै वर्चस्व छ । लिगका सातमध्ये ६ टिम पुरुष प्रशिक्षकले सम्हालेका छन् । महिला लिगको मुख्य प्रशिक्षक बन्ने एक्लो महिला बनेकी छन् एपीएफकी भगवती थापा ।

एक्ली महिला प्रशिक्षक

राष्ट्रिय महिला लिगमा टिमको मुख्य प्रशिक्षकमा कम्तीमा एएफसी ‘सी’ लाइसेन्स प्राप्त गरेको हुनुपर्ने नियम ल्याइएपछि विभागीय टिममा थापाको भाग्य खुलेको हो । यससँगै उनी राष्ट्रिय महिला लिगमा मुख्य प्रशिक्षक बन्ने पहिलो महिला भइन् । उनको जिम्मेवारीबारे सशस्त्र प्रहरी बलको एपीएफ क्लबका व्यवस्थापक अमित मल्लले भने, ‘एन्फाले एएफसी ‘सी’ लाइसेन्स गरेको मुख्य प्रशिक्षक हुनुपर्ने नियम ल्याएपछि हामीले महिलालाई प्राथमिकता दिन भगवतीलाई मुख्य प्रशिक्षक बनाएका हौं । महिला टिममा महिला प्रशिक्षक होस् भनेर नयाँ सुरुआत गर्न खोजिएको हो । उनलाई काममा पुरानै कोच (जनकसिं थारू) ले गाइड गर्छन् । निर्णय गर्ने अधिकार दुवैलाई बराबर छ । मिलेरै काम गर्छन् । दुवैको समन्वय राम्रो भइरहेको छ ।’

दुई दशक फुटबल खेलेकी ३३ वर्षीया थापाले टिम दर्ता (पुस २०) को दुई दिनअघिमात्रै मुख्य प्रशिक्षक आफैं हुन लागेको थाहा पाएकी थिइन् । कागजी रूपमा उनी मुख्य प्रशिक्षक भए पनि पाँच वर्षयता एपीएफको महिला टिम सम्हालिरहेका थारूले नै लिगमा ‘टच–लाइन’ बाट खेलाडीलाई निर्देशन दिइरहेका छन् । ट्रेनिङ पनि हेरिरहेका थारूले नै खेलको रणनीति बनाइरहेका छन् । थापा हरेक खेलमा ‘प्लेयर बक्स’ को बेन्चमै फाइल बोकेर बसिरहेकी हुन्छिन् ।

‘अनपेक्षित रूपमा मुख्य प्रशिक्षक हुँदा राम्रोचाहिँ लागिरहेको छैन,’ राष्ट्रिय टिमकी पूर्वडिफेन्डर थापाले भनिन्, ‘सबै अधिकार पाएको व्यक्ति नै मुख्य प्रशिक्षक हुनुपर्छ । पूर्ण रूपमा काम गर्न पायो भने त्यो चिजमा मजा आउँछ । कारण जेसुकै भए पनि एकमात्र मुख्य प्रशिक्षक महिला हुन पाउँदा खुसी नै लागिरहेको छ ।’ टिममा आफ्नो जिम्मेवारीबारे उनी बोलिन्, ‘निर्णय उहाँकै (थारू) चल्छ । मैलेचाहिँ उहाँलाई साथ दिनेमात्रै हो ।’ यसबारे थारूले भने, ‘ट्रेनिङ खेलमा टिम म आफैंले हेरे पनि भगवती लिगकै एक्लो महिला कोच भएकोमा खुसी छु । हामी एउटा टिम भएर काम गरिरहका छौं । सहकार्य र समन्वय राम्रै भइरहेको छ ।’

खासमा मुख्य प्रशिक्षक भए पनि टिममा उनको जिम्मेवारी सहायक प्रशिक्षकको जस्तै छ । यस्तो जिम्मेवारी उनले पहिलोपल्ट पाएकी होइनन् । सन् २०१९ मा भुटानमा भएको साफ यू–१५ वुमेन्स च्याम्पियनसिपमा उनी नेपाली टिमकी सहायक प्रशिक्षक रहेकी थिइन् । चार देशमध्ये नेपाल तेस्रो हुँदा टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठ थिए । २०६२ साल चैतमा सशस्त्र प्रहरीमा भर्ना भएदेखि चार वर्षअघिसम्म निरन्तर खेलेकी उनी घरेलु फुटबलमा प्रशिक्षकको भूमिकामा देखिएको भने यो नै पहिलो हो । उनी दक्षिण एसियाली खेलकुद (साग) २०१० र २०१६ को रजत पदक र साफ च्याम्पियनसिप २०१० र २०१२ को उपविजेता नेपाली टिमकी महत्त्वपूर्ण खेलाडी हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) को ‘सी’ लाइसेन्स कोचिङ कोर्स (सन् २०१६) को ब्याचकी एक्ली महिला हुन् उनी । त्यो कोर्स उत्तीर्ण गरेपछि उनी हाल ‘बी’ लाइसेन्स गरिरहेकी छन् । ‘महिला टिमलाई महिलाले नै हेर्नुपर्छ भन्ने छैन । तर महिलाको प्रतियोगितामा महिला किन आउन सक्दैनन् ?,’ उनले भनिन्, ‘महिलालाई एकैपल्ट मुख्य बनाउनुभन्दा विस्तारै काम सिकाउनु जरुरी छ । किनभने राम्रो कोच हुन समय लाग्छ । महिलालाई टिममा एउटा अफिसियलको रूपमा राख्नेमात्रै होइन, मैदानमा पनि उतार्नुपर्छ । मौका पायो भने गर्न सक्छन् । त्यसैले महिलालाई प्रोत्साहन दिनुपर्छ ।’ एन्फाका अनुसार एएफसी ‘बी’ लाइसेन्स गरेका ७ जना प्रशिक्षक महिला छन्, सी गरेका ६ जना र डी लाइसेन्सप्राप्त १० जना । सन् २००० को दशक सुरुबाटै आयोजित एएफसी कोचिङमा पुरुषको तुलनामा यो संख्या नगण्य भए पनि भगवती थापा पहिलो मुख्य प्रशिक्षक बनेकी हुन् ।

छोराकी आमा

छोरा किओनलाई जन्म दिएपछि थापाले बुट थन्क्याएकी थिइन् । उनी अहिले तीन वर्ष पुगे । एकताका रेफ्री कोर्स गरेकी थापाले भनिन्, ‘१२ औं साग २०१६ पछि गर्भवती भएँ, बच्चा जन्माएँ । त्यसपछि के गर्ने, कसो गर्ने भन्दाभन्दै कोचिङ रोजें ।’ उनका पति नीरज श्रेष्ठ पनि एपीएफकै पूर्वखलाडी हुन् ।

खेलाडी हुन गाह्रो कि प्रशिक्षक ? उनी भन्छिन्, ‘खेलाडी हुँदा कोचले दिएको निर्देशनमात्र मान्नुपर्थ्यो, आफ्नो शरीरलाई फिट राख्नुपर्थ्यो । तर कोच भएपछि आफ्नो टिमलाई कसरी ट्रेनिङ गराउने, खेलाडीलाई कसरी फिट राख्ने, बल पोसेसन कसरी राख्ने, कसले कहाँ प्रगति गरिरहेको छ, कुन खेलाडीको कमजोरी के छ, त्यसलाई कसरी सुधार गर्ने भनेर हेर्नुपर्छ । हरेक कुरा कोचले अध्ययन गर्नुपर्छ, प्रत्येक ट्रेनिङमा योजना बनाउँदै जानुपर्छ, नतिजा राख्दै जानुपर्छ । फुटबल भनेको रिजल्टको बिजनेस पनि हो, राम्रो रिजल्टबिना कुनै पनि कोचलाई राम्रो मानिँदैन । त्यसैले कोच हुन धेरै नै गाह्रो छ जस्तो लाग्छ ।’

बलियो टिम

स्थापनादेखि नै घरेलु महिला फुटबलमा राज गर्दै आएको एपीएफ राष्ट्रिय लिगको डिफेन्डिङ च्याम्पियन हो । टोलीलाई १३ औं सागमा रजत दिलाएकी फरवार्ड सावित्रा भण्डारीसहित नेपाली टिमका ९ खेलाडीको साथ छ । एपीएफले चन्द्रपुरलाई ६–०, विराटनगरलाई ७–० र आर्मीलाई २–० ले पराजित गर्‍यो ।

एपीएफलाई उपाधि होडमा आर्मी र पुलिसले चुनौती दिनेछन् । ‘डबल लिग’ को पहिलो भेटमा मंगलबार आर्मीविरुद्ध ३ अंक जोडेपछि एपीएफ सबैभन्दा बलियो देखिएको छ । ‘उपाधि रक्षा गर्न धेरै नै गाह्रो छ,’ मुख्य प्रशिक्षक थापाले भनिन्, ‘खेल सदावहार एकै किसिमले खेलिन्छ भन्ने छैन । हामीले ७ गोल गरे पनि पहिलो हाफमा ६० प्रतिशतमात्रै खेल्यौं । पुलिस र आर्मी त्यत्तिकै राम्रा टिम हुन् । अरू टिमसँग पनि सजिलो छैन, एक ढिक्का भएर आएका छन् । उपाधि जित्छौं होला तर त्यसका लागि हामी आफैंले धेरै मिहिनेत गर्नुपर्छ ।’ आर्मीविरुद्धको जितपछि भनिन्, ‘लिग हो, अझै ९ खेल बाँकी छन् । त्यसैले अहिल्यै केही भन्न मिल्दैन । हामी राम्रो खेल्दै जितको लय कायम राख्ने प्रयास गर्नेछौं ।’

उनी खेल्दा दशकअघि एपीएफले एउटै खेलमा २०–२१ गोल गर्थ्यो । अचेल गोलको संख्याले दोहोरो अंक दुर्लभै छुने गर्छ । यसबारे उनी भन्छिन्, ‘महिला फुटबलमा वृद्धि–विकास भएको छ । प्राविधिक रूपमा खेल्न सक्ने भएका छन् । गोल गर्न, रोक्न कसरी खेल्नुपर्छ भन्ने ज्ञान भइसक्यो । कोच एजुकेसनको प्रभावले खेलाडीमा चेतना र आत्मविश्वास देखिएको छ । त्यसैले अहिले गोल कम भएजस्तो लाग्छ ।’ आफ्नो टिमको बलियो पक्षबारे उनले भनिन्, ‘बल पोसेसन राख्ने । किपरदेखि नै बल बिल्डअप गर्दै जाने । सबै तालमेल मिलाउने ।’

प्रकाशित : माघ १४, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?