कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानलाई गाह्रो

एएफपी

कराँची — तीव्र गतिका बलर कागिसो राबाडाले ८ रनमा २ विकेट लिएपछि दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध पहिलो टेस्टको पहिलो दिन मंगलबार उत्कृष्ट पुनरागमन गरेको छ ।

पाकिस्तानलाई गाह्रो

दिनको खेल सकिँदा पाकिस्तान ३३ रनमा ४ विकेट गुमाएर गाह्रो स्थितिमा छ । यसअघि पाकिस्तानले पाहुना टिमलाई २ सय २० रनमा अलआउट गरेको थियो । यो पाकभूमिमा दक्षिण अफ्रिकाको अहिलेसम्मको दोस्रो कम स्कोर हो ।

नेसनल स्टेडियमका पिचमा एकै दिन १४ विकेट झरे र यसमा पहिलो दिनदेखि नै स्पिनरलाई मद्दत मिल्ने विश्वास गरिएको छ । लन्चलगत्तै दक्षिण अफ्रिका दुई विकेट गुमाएर १ सय ८ रनको बलियो स्थितिमा थियो, तर अन्तिम आठ विकेट १ सय १२ रनमै गुमाएको हो । दक्षिण अफ्रिकाको पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा कम स्कोर २ सय १४ रन रहेको छ । यो सन् १९९७ मा फैसलाबादको टेस्टमा बनेको थियो ।

स्पिनर यासिर शाहले ५४ रनमा ३ विकेट लिए भने डेब्यू गरिरहेका नौमन अलीले ३८ रनमा २ विकेट हात पारे । साहिन शाह अफ्रिदीले ४९ रनमा २ विकेट लिएर दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न मद्दत गरे । तर पाकिस्तानले यसको धेरै फाइदा लिन सकेन र राबाडाले दक्षिण अफ्रिकालाई खेलमा फर्काउने काम गरे । उनले तेस्रो ओभरमै अविद अलीलाई चार रनमा आउट पारे । लगत्तै डेब्यू खेलाडी इमरान बट ९ रनको स्थितिमा उनकै सिकार बने ।

यससँगै राबाडाले ४४ टेस्टमा १ सय ९९ विकेट लिएका छन् । पाकिस्तानी टिमको पहिलोपल्ट नेतृत्व गरिरहेका बाबर आजम पनि स्पिनर केशव महाराजको बलमा एलबीडब्लू आउट भए । यस्तै नाइटवाचम्यानको भूमिकामा आएका साहिनबिना रन बनाएर एनरिच नोरकिआको बलमा बोल्ड भए । दिनको अन्त्यमा अजर अली र फवाद आलम समान ५ रनमा नटआउट छन् । पाकिस्तान अझै १ सय ८७ रनले पछाडि छ । टोलीको ६ विकेट बाँकी छ ।

यसअघि डिन एल्गरले दक्षिण अफ्रिकाका लागि सर्वाधिक ५८ रन बनाए । यस्तै जर्ज लिन्डेले ३५ र राबाडाले नटआउट २१ रन बनाए । एल्गरले आफ्नो खेलजीवनको १६ औं टेस्ट अर्धशतक बनाए । त्यसमा ९ चौका सामेल थियो । उनी नौमनको बलमा स्लिपमा आजमबाट समातिए । एल्गरले २३ रन बनाएका फाफ डु प्लेसिससँग तेस्रो विकेटमा ४५ रनको साझेदारी गरे । शृंखला दुई टेस्टको हो । दक्षिण अफ्रिका १४ वर्षयता पहिलोपल्ट पाकिस्तान भ्रमणमा आएको छ ।

प्रकाशित : माघ १३, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?