आर्मीमाथि एपीएफको सहज जित, पुलिस र वालिङ बराबरीमा

काठमाडौँ — एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा मंगलबार आर्मीमाथि २–० को सजिलो जित निकालेको छ । एपीएफको यो प्रतियोगितामा लगातार तेस्रो जित हो ।

आर्मीमाथि एपीएफको सहज जित, पुलिस र वालिङ बराबरीमा

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा अञ्जलीकुमारी योञ्जन र सरु लिम्बूले एक एक गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । सावित्रा भण्डारीले यस खेलमा कुनै गोल गर्न सकिनन्, तर टिमका दुवै गोलमा उनको सहयोगी भूमिका रह्यो ।

एपीएफको तीन खेलबाट अधिकतम नौ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । आर्मी तीन खेलबाट चार अंक भएको छ । आर्मीको यो पहिलो हार हो ।

यसअघि मंगलबारको पहिलो खेलमा पुलिसले वालिङ नगरपालिकासँग १–१ को बराबरी खेलेको थियो । गोलरहित बराबरीको पहिलो हाफपछि वालिङले सुरुआती अग्रता लिएको थियो । टिमका विदेशी खेलाडी थियो रुथले ५३ औं मिनेटमा गोल गरिन् ।

तर वालिङको यो अग्रता लामो समय टिकेन र ६५ औं मिनेटमा रेखा पौडेलले बराबरी गोल फर्काइन् । पुलिसको तीन खेलबाट पाँच अंक भएको छ र यो उसको दोस्रो बराबरी हो । वालिङको भने तीन खेलबाट दुई अंक भएको छ ।

प्रकाशित : माघ १३, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?