प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा- खेलकुद - कान्तिपुर समाचार

प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

एपीएफ र त्रिभुवन आर्मी क्लबबीचको खेलमा त्रिभुवन आर्मीका ब्याट्सम्यान रन लिँदै । तस्बिर : हेमन्त श्रेष्ठ

विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबारकै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसको जितमा अनिल साहले अविजित रहँदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबीका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, हिमान्शु दत्तले १६ रन जोडे । आदिल अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।

सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो ।

एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

अन्तिम चारमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्दा आर्मीले वाग्मती प्रदेशसँग भिड्ने । बुधबार पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ ।

प्रकाशित : माघ १२, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी राजदूत बेरी र दाहालबीच भेटवार्ता

नेपालको आन्तरिक राजनीति र अमेरिकी नयाँ प्रशासनको प्राथमिकताबारे छलफल
कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो आन्तरिक राजनीतिक घटनाक्रम र केही दिन अघिमात्र आफ्नो ४ वर्षे कार्यकाल सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको थियो ।

भेटपछि ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

स्रोतका अनुसार उक्त भेटमा बेरीले दाहालसँग नेपालको आन्तरिक राजनीतिक घटनाक्रमको बारेमा पनि जिज्ञासा राखेका थिए । दाहालले बेरीसँग राजनीतिक घटनाक्रमबारे आफ्ना कुराहरु पनि राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै नेपालको आन्तरिक राजनीतिमा फेरि अन्योल सिर्जना भइरहेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले सबैभन्दा पहिले नेकपा (ओली समूह) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । अमेरिकी दूतावासका अनुसार यी भेटवार्ताहरु नेपाल सरकार र राजनीतिक दलका नेताहरुसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरुबारे छलफल गर्न राजदूत बेरीले उच्चस्तरीय बैठकहरु गरेका हुन् ।

प्रकाशित : माघ १२, २०७७ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×