प्रधानमन्त्री कप क्रिकेट : दुर्लभ ‘टाइ’ पछि वाग्मतीको यात्रा

काठमाडौँ — वाग्मती र लुम्बिनी प्रदेशबीचको खेल क्वाटरफाइनलजस्तै थियो । जित्ने टोलीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउँथ्यो । लुम्बिनीको समीकरण अलि फरक थियो, टोलीलाई सिधा जितले पनि नपुग्न सक्थ्यो । समूह चरणका तीन खेल जिते पनि वाग्मतीको सेमिफाइनल पक्का भएको थिएन ।

प्रधानमन्त्री कप क्रिकेट : दुर्लभ ‘टाइ’ पछि वाग्मतीको यात्रा

टस जितेको वाग्मतीले आइतबार मूलपानी क्रिकेट मैदानमा ९ विकेट गुमाई २ सय २० रन बनायो । ३ खेलमा ४ अंक बटुलेको लुम्बिनीले ४०.३ ओभरभित्र खेल जितेमा वाग्मतीलाई रनरेटमा उछिन्दै सेमिफाइनल पुग्ने थियो । सन्दीप सुनार र देव खनालले ६.२ ओभरमा ६० रन जोड्दै लुम्बिनीलाई चाहेजस्तो सुरुआत दिलाए । मध्यक्रममा अंकुश लागे पनि लुम्बिनीको जित सहज देखियो । लुम्बिनी ४७ औं ओभरमा जितभन्दा ५ रनमात्र टाढा थियो र ३ विकेट सुरक्षित थियो । कप्तान कृष्ण कार्की क्रिजमै थिए । इशान पाण्डेको बलमा विजयी रन बटुल्नेक्रममा कृष्णले लङअनमा रामनरेश गिरीलाई क्याच दिन पुगे । अर्को ओभरमा जितेन्द्र सहनीलाई विपिन आचार्यले आउट गर्दा लुम्बिनीलाई जितनिम्ति २ रन चाहिन्थ्यो ।

जितेन्द्र आउट भएपछिको अर्को बलमा लुम्बिनीले लेग बाईबाट १ रन लिएपछि स्कोर बराबर भयो । ४८ औं ओभरको अन्तिम बलमा अनिल खरेलले प्रहार कभरमा गयो, जसमा आरामदायी हिसाबमा १ रन सम्भव थियो । अनिल र उनका जोडी दीपेन्द्र राउत हिच्किचाउन पुगे । नन्दन यादवले फालेको थ्रोमा विकेटकिपर आकाश थापाले स्ट्राइकमा विकेट ढालेपछि दीपेन्द्र रनआउट भए ।

यसैसँगै घरेलु क्रिकेटको ५० ओभर खेलमा दुर्लभ ‘टाइ’ को नतिजा आयो । चौथो संस्करणमा यो पहिलो ‘टाइ’ खेल थियो । लुम्बिनीको इनिङ्सलाई ४१ ओभरमा लम्ब्याएपछि नै सेमिफाइनलमा पुगिसकेको वाग्मती ‘टाइ’ नतिजापछि समूह विजेता बन्यो । सेमिफाइनल नजिक पुगेको लुम्बिनी विजय हात नपार्दा बाहिरिने स्थितिमा छ । लुम्बिनीसँग ५ अंक छ । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले सोमबारको खेलमा प्रदेश २ लाई पराजित गरेमा लुम्बिनीलाई उछिन्दै समूह ‘बी’ को उपविजेता भई सेमिफाइनल तय गर्नेछ । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले यस्तो खाले म्याचले युवा खेलाडीलाई अझ सिक्न मौका दिने बताए । समूह ‘ए’ मा एपीएफ र त्रिभुवन आर्मी क्लब तीन खेल जितेर सेमिफाइनल पुगिसकेका छन् । यी दुई टोली सोमबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छन् । पराजित हुने टोलीसँग वाग्मतीले फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मी जुनै टोली आए पनि आफूहरूलाई कुनै प्रभाव नपर्ने कप्तान मल्लले जनाए ।

वाग्मतीलाई पराजित गर्न सकेको भए पनि लुम्बिनीले पुलिसमाथि रनरेटको दबाब सिर्जना गर्ने थियो । लुम्बिनीले त्यो मौका गुमाएको थियो । टोलीले आक्रामक शैलीमा जवाफी ब्याटिङ गरेको थियो । सन्दीप सुनारले २ छक्का प्रहार गर्दै २४ बलमा २५ रन बनाए । अर्का ओपनर देव खनालले १६ बलमा ५ चौकासहित २६ रन जोडे । विपिनले देवलाई बोल्ड गरी यो साझेदारी तोडे । त्यसपछि सन्दीप रजाली ११ रनमा आउट भए ।

सौरभ खनाल र प्रकाश केसीले चौथो विकेटमा ७३ रन जोडे । ३३ औं ओभरमा टोलीको स्कोर १ सय ५० रन भएको समयमा सौरभ ३४ रनमा आउट भए । निकै संयमित खेलेका सौरभले ७७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । प्रकाश र कृष्णले समान ४१ रन बनाए । प्रकाशले ७२ बलमा ५ चौका र कृष्णले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । प्रनीत थापामगर ९, विक्रम भुसाल १ र जितेन्द्र ७ रनमा आउट भए । म्यान अफ द म्याच विपिन आचार्यले ७ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । गौतम केसीले २, रामनरेश, तिलक भण्डारी र इशानले १–१ विकेट लिए ।

अर्धशतक बनाएपछि ईशान पाण्डे ।तस्बिर : हेमन्त श्रेष्ठ

वाग्मतीको राम्रो सुरुआतले पनि निरन्तरता पाउन सकेन । आकाश थापा र आदिल खानले पहिलो विकेटमा १९ ओभरभित्र ६३ रनको साझेदारी गरे । आकाशलाई ३९ रनमा दीपेन्द्रले एलबीडब्लू आउट गरे । आकाशले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दुई बल खेलेका विभत्सु थापालाई दीपेन्द्रले बोल्ड गरे । आदिलले ५५ रन बनाए । उनले ८७ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । उत्कृष्ट फर्ममा रहेका पृथु बाँस्कोटा ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रनमा आउट भए ।

ईशानले ५४ रन जोडे । इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भएका इशानले ५३ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । ज्ञानेन्द्र १ छक्का र १ चौका प्रहार गरी १४ रनमा आउट भए । विपिन शून्य, गौतम ८ र रामनरेश ३ रनमा आउट भए । नन्दन १४ बलमा ११ रनमा अविजित रहे । लुम्बिनीका दीपेन्द्रले ९ ओभरमा ४० रन खर्चेर ३, कृष्ण र सन्दीपले २–२ तथा विक्रम भुसाल र अनिलले १–१ विकेट लिए ।

सुदूरपश्चिमको पहिलो जित

सुदूरपश्चिमले प्रदेश २ लाई ३ विकेटले पराजित गरी सान्त्वना जितसाथ प्रतियोगिता टुंग्याएको छ । पहिला ब्याटिङमा आएको प्रदेश २ लाई सुदूरपश्चिमले ४२ ओभरमा १ सय ९५ रनमा अलआउट गर्‍यो । हरिशंकर शाहले ७३ बलमा ९ चौकासहित ६०, विवेक यादवले ५२ बल खेली २ चौका र ३ छक्कासहित ४१, महबुब आलमले २३, राहुलप्रताप सिंहले १२ र कुमार थापाले अविजित ११ रन बनाए । सुदूरका नरेन्द्र साउद र शेर मल्लले ३–३, अरुण ऐरीले २ तथा हेमन्त धामी र भोजराज भट्टले १–१ विकेट लिए ।

गजेन्द्र बोहराले ४७ बलमा ६ चौकासहित ३९, कप्तान खडक बोहराले ७३ बलमा ६ चौकासहित ४३, म्यान अफ द म्याच सन्जु दमाईले ३५ बलमा ८ चौका र २ छक्कासहित ५७ र अरुणले १९ रन बनाउदै सुदूरपश्चिमलाई ३३ ओभरमै विजय दिलाए । प्रदेश २ का कुमार थापाले ३, हरिशंकरले २ तथा विवेक र रवि साहले १–१ विकेट लिए । प्रदेश २ ले खेलेका सबै ३ खेलमा हार बेहोरेको छ ।

प्रकाशित : माघ १२, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?