कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै दिन १४ गोल

काठमाडौँ — स्टार स्ट्राइकर सावित्रा भण्डारीको चार गोलको सहयोगमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आइतबार विराटनगर महानगरलाई ७–० ले पराजित गरेको छ ।

एकै दिन १४ गोल

यो सावित्राको लगातार दोस्रो ह्याट्रिक हो । यसअघि उनले बिहीबार चन्द्रपुरविरुद्ध हात पारेको ६–० को जितमा प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेकी थिइन् ।

सावित्राले पहिलो हाफमा दुई गोल गरेकी थिइन् भने दोस्रो हाफमा दुई गोल थपिन् । उनले २५, ४२ औं मिनेटपछि ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । व्यक्तिगत चौथो गोल ८९ औं मिनेटमा गरिन् । राष्ट्रिय टिमका ९ खेलाडीसहित उत्रेको एपीएफले खेलमाथि पूर्णतः नियन्त्रण राख्यो । अनिता केसीले दुई गोल गरिन् भने वुमेन अफ द म्याच सरु लिम्बूको नाममा पनि एक गोल रह्यो । अनिताले छैटौं मिनेटमै गोलको खाता खोलेकी थिइन् । उनले दोस्रो गोल ८० औं मिनेटमा गरिन् । सरुले ७२ औं मिनेटमा बललाई पोस्टको दिशा दिएकी थिइन् ।

विमलाको ह्याट्रिक

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकामाथि पनि ७–० कै जित निकाल्यो । त्यसमा आर्मीकी विमला चौधरीले ह्याट्रिक गरिन् । उनले १५ औं मिनेटमै गोलको खाता खोलेकी थिइन् । उनले ६६ औं मिनेटमा दोस्रो गोल गरिन् भने ७५ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् ।

आर्मीका लागि पहिलो हाफमा दीपा राई (२८ औं मिनेट) र शर्मिला थापा (४४) पनि गोल गरे । वैकल्पिक खेलाडीद्वय हेमा चौधरी (८९) र भुजंगा राई (इन्ज्युरी समय) ले अन्त्यतिर गोल गर्दै आर्मीको जित फराकिलो बनाए । वालिङले तीन अफ्रिकी खेलाडीलाई मैदानमा उतारे पनि ‘टिम–गेम’ मा उनीहरूले प्रभाव पार्न सकेनन् ।

‘खेलको सुरुमै गोल गरेपछि सजिलो भयो र दोस्रो हाफमा थप गोल गर्न सक्यौं,’ आर्मीका प्रशिक्षक राजु तामाङले भने, ‘उपाधि होडमा एपीएफविरुद्धको अर्को खेल निकै महत्त्वपूर्ण छ र त्यसमा कमी–कमजोरी सच्याउनुपर्ने हुन्छ ।’

प्रकाशित : माघ १२, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?