एपीएफ अन्तिम चारमा, आर्मी पनि सेमिफाइनलमा- खेलकुद - कान्तिपुर समाचार

एपीएफ अन्तिम चारमा, आर्मी पनि सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एपीएफले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको अन्तिम चारको यात्रा तय गरेको छ । यसका लागि उसले शनिबार कर्णाली प्रदेशलाई टीयू मैदानमा भएको खेलमा ७१ रनले हरायो ।

एपीएफको यो लगातार तेस्रो जित हो । यो नतिजाले समूह ए बाट एपीएफसँगै आर्मी पनि सेमिफाइनल पुगेको छ । पहिले ब्याटिङ गरेको एपीएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन बनायो ।

त्यसमा सन्दीप जोराले सर्वाधिक ६० रन बनाए । जवाफमा कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ४७ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि हेमन्त ओलीले ५८ रन बनाए पनि यो निर्णायक सावित हुन सकेन ।

यसअघि मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले रहयो । लुम्बिनीको यो दोस्रो जित हो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा अलआउट भएर ६२ रन मात्र बनाएको थियो । जवाफमा लुम्बिनीले १४.५ ओभरमा चार विकेट गुमाएर ६४ रन बनायो । सुदूरपश्चिमको यो तेस्रो हार हो र यो नतिजापछि टिम प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित : माघ १०, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ३८६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ छ । साथै काठमाडौं उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् । काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रकाशित : माघ १०, २०७७ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×