कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चुनौतीसामु ह्वाटमोर

‘मैले गरेका प्रत्येक काम चुनौतीसाथ नै आएको थियो । नेपालको प्रशिक्षक बन्नु पनि कम चुनौती थिएन, यो सजिलो खाले होइन ।’
विनोद पाण्डे

काठमाडौँ — डेव ह्वाटमोर भलै विश्वकप विजेता प्रशिक्षक हुन् । उनले श्रीलंकासहित पाकिस्तान, बंगलादेश, जिम्बावे जस्ता राष्ट्रलाई प्रशिक्षण दिएको किन नहोस् । नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक बनेपछि उनीसामु चुनौतीका चाङ छन् । आफू चुनौतीमाझ उभिएको उनले नै स्विकारेका छन् ।

चुनौतीसामु ह्वाटमोर

‘मैले गरेका प्रत्येक काम चुनौतीसाथ नै आएको थियो । नेपालको प्रशिक्षक बन्नु पनि कम चुनौती थिएन, यो सजिलो खाले होइन,’ नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राष्ट्रिय टोलीको प्रशिक्षकमा प्रस्तुत गरेपछि ह्वाटमोरले भने । श्रीलंकालाई सन् १९९६ को विश्वकप दिलाएका उनलाई क्यानले जनवरी १ देखि प्रशिक्षकका रूपमा लिने निर्णय गरेको थियो ।

त्यसैक्रममा उनी आइतबार नेपाल आइपुगेका थिए । रोयल सिंघी होटलमा चार दिन ‘सेल्फ आइसोलेसन’ मा बसेपछि बुधबार राति उनको कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । अर्को दिन उनी नेपालको प्रशिक्षक भएर प्रस्तुत भए । बिहीबार बिहानको पत्रकार सम्मेलनपछि उनी लगत्तै त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेर भीआईपी बक्सबाट प्रधानमन्त्री कप क्रिकेट हेरेका थिए । पवन सर्राफले राष्ट्रिय प्रतियोगितामा अहिलेसम्मकै छिटो अर्धशतक बनाउँदा प्रहार भएका लामा सटहरू ह्वाटमोरतिर सोझिएका थिए ।

नेपालले जिम्बावेमा सम्पन्न सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो २०२३ सम्मका लागि हो । यसबीचमा नेपालले विश्व क्रिकेट लिग २ का खेल खेल्नेछ । ‘हामीले यो निश्चित गर्नुपर्छ कि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नुपर्छ र आफ्नो स्तर निर्धारण गर्नुपर्छ । म यी चुनौतीहरू स्वीकार्न पाउँदा खुसी छु । तत्कालको काम भनेको खेलाडीलाई जित्न तयार बनाउनु नै हो,’ ह्वाटमोरले भने ।

ओमानमा अमेरिकासम्मिलित लिग २ को त्रिकोणात्मक शृंखला नेपालले अब खेल्ने प्रतियोगिता हो । यहींबाट ह्वाटमोरको नेपाली टोली प्रशिक्षकको यात्रा सुरु हुनेछ । २०२३ को फेब्रुअरीसम्म गरी नेपालले लिग २ का ३२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलिसकेको नेपालको लक्ष्य अहिलेलाई एकदिवसीय विश्वकप नै रहेको छ ।

‘बोर्डले मलाई सधैं समर्थन गर्नेछ, तर विश्वकप पुग्न धेरै गाह्रो छ । धेरै देशले हामीले जस्तै ठ्याक्कै प्रयास गरिरहेका छन् । जबसम्म सपना देख्दैनौं वा आकांक्षा बनाउँदैनौं, तबसम्म त्यो सपना प्राप्त गर्न सक्दैनौं,’ ह्वाटमोरले भने, ‘हामी सबै खेल जित्न गइरहेका छौं भनेर म वाचा गर्न त सक्दिनँ तर लक्ष्य बनाएअनुरुप मिहिनेत गर्ने हो भने केही उपलब्धि हासिल गर्न सकिन्छ ।’

बल एन्ड ब्याट फाउन्डेसनले ह्वाटमोरलाई सन् २०१७ मा कोचिङ क्लिनिकका लागि नेपाल ल्याएको थियो । दुई साताको क्लिनिकमा उनले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई पनि प्रशिक्षण दिएका थिए । ह्वाटमोरले त्यही कारण आफूले नेपालमा प्रशिक्षक बन्न आवेदन दिएको जनाउँदै भने, ‘नेपाल क्रिकेट संघले मलाई जुन विश्वास देखाएको छ, त्यसअनुरुप म मेरो आफ्नो विज्ञता नेपालको क्रिकेट प्रगतिलाई प्रयोग गर्नेछु ।’

ह्वाटमोर पछिल्लो पटक गत वर्षको मार्चमा नेपाली क्रिकेट नजिक पुगेका थिए, जतिखेर उनी सिंगापुरका प्रशिक्षक थिए । ट्वान्टी–२० को एसिया क्षेत्रमा छनोट चरणमा नेपालले बैंककमा सिंगापुरसँग खेल्दै थियो । तर वर्षाका कारण नेपाल र सिंगापुरको त्यो खेल रद्द हुन पुगेको थियो । त्यसै प्रतियोगितामा हङकङ र मलेसियासँग हार बेहोरेपछि नेपाल ट्वान्टी–२० विश्वकप एसिया छनोटमै पुग्न असफल भयो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन ।

प्रकाशित : माघ ९, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?