कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सावित्राको ह्‍याट्रिकमा रौतहटलाई एपीएफले ६-० ले हरायो

राष्ट्रिय महिला लिग फुटबल

काठमाडौँ — काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० को फराकिलो अन्तरले हराएको छ ।

सावित्राको ह्‍याट्रिकमा रौतहटलाई एपीएफले ६-० ले हरायो

बिहीबारको पहिलो खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा विभागीय टोली एपिएफले विजयी सानदार विजयी सुरुवात गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व रहेको एपीएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाबमा राखेर खेल देखाएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपीएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बस्नेत, अञ्जली कुमार योन्जन र प्रिती राईले एक/एक गोल आफ्नो नाममा लेखाए ।

अधिकांश समय बलमा पकड जमाएको एपीएफका लागि सावित्रा भण्डारीले १४ औं, ६२औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा २२औं मिनेटमा अञ्जली, ६४औं मिनेटमा कप्तान अनिता र ८९ औं मिनेटमा पूजा राईले गोल गरेका थिए ।

सहज जित निकालेको एपीएफले स्पष्ट ३ अंक जोडेको छ ।

त्यस्तै बिहीबारको अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेलेका हुन । प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा वालिङले लिएको सुरुवाती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँडेको हो । वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो ।

विराटनगरकी आशा कुमारीले ६३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । त्यसपछि खेलमा फर्किन संघर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन । विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अंक बाँडेको वालिङले दोस्रो खेलमा चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।

माघ २१ गतेसम्म सञ्चालन हुने महिला लिगमा तीन विभागीयसहित ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ८, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?