दर्शकसहित विश्‍वकप छनोट

महामारीले प्रभावित विश्वकप २०२२ छनोटका तीन खेल एन्फाले दर्शकलाई प्रवेश दिएरै दशरथ रंगशालामा सञ्चालन गर्ने । टिकट बिक्रीबाट १ करोड १० लाख उठाउने लक्ष्य ।
राजु घिसिङ

काठमाडौँ — कोरोना भाइरसको महामारीले विश्व फुटबललाई अस्तव्यस्त बनाइरहेको बेलामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा घरेलु मैदानका तीनै खेल दर्शकसहित सञ्चालन गर्ने भएको छ । उक्त छनोटका तीन खेलको टिकट बिक्रीबाट १ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने एन्फाले आर्थिक वर्ष २०७७–७८ को बजेटमा उल्लेख गरेको छ ।

दर्शकसहित विश्‍वकप छनोट

एन्फाले आर्थिक वर्ष २०७७–७८ को ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बजेटमा २ करोड ७० लाख खेलको टिकट बिक्रीबाट आम्दानी गर्ने लक्ष्य राखेको छ । फिफा र एएफसीको अनुदानमा आधारित उक्त बजेटलाई मंगलबार सम्पन्न एन्फाको १९ औं साधारणसभाले पारित गर्‍यो ।

एन्फाले तीन मैत्रीपूर्ण खेल आयोजना गर्ने र टिकट बिक्रीबाट १ करोड आम्दानी गर्ने पनि बजेटमा उल्लेख गरिएको छ । त्यस्तै, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग तथा राष्ट्रिय लिगको टिकट बिक्रीबाट ६० लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

‘विश्वकप छनोटमा दर्शकसहितको खेल आयोजना गर्दैर्छौं,’ कोरोना महामारीका कारण ठप्प भएको विश्व फुटबलको प्रतिस्पर्धा फर्किए पनि कतै आंशिक र कतै पूर्ण रूपमा दर्शकलाई प्रवेश दिइरहेको सन्दर्भमा एन्फाका प्रवक्ता किरण राईले भने, ‘दशरथ रंगशालाको क्षमताअनुसारै हामीले खेलमा दर्शकलाई प्रवेश दिएर आम्दानी गर्ने प्रस्ताव गरेका हौं ।’ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मर्मतसम्भार र स्तरोन्नति गरिएको दशरथ रंगशाला १५ हजार ६ सय दर्शक क्षमताको छ । एन्फा कम्प्लेक्स करिब २ हजार दर्शक क्षमताको छ ।

नेपाली राष्ट्रिय टिमले कोभिड–१९ को कारण प्रभावित भएको विश्वकप छनोटमा तीन खेलमा प्रतिस्पर्धा गर्न बाँकी छ । तीनै खेल घरेलु मैदानमा खेल्दैछ । नेपालले चाइनिज ताइपेईविरुद्ध चैत १२ र अस्ट्रेलियाविरुद्ध चैत १७ मा दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ भने जेठ २४ मा जोर्डनको सामना गर्नेछ ।

दशरथ रंगशाला तयार नभएको अवस्थामा नेपालले कुवेतविरुद्धको घरेलु खेल गत वर्ष थिम्पु (भुटान) मा खेल्नुपरेको थियो । छनोटको समूह ‘बी’मा रहेको नेपाल ३ अंकसहित चौथो स्थानमा छ । नेपालले एकमात्र जित ताइपेईमा पाएको थियो । नेपालका लागि विश्वकप छनोटको अर्को चरणमा प्रवेश असम्भवजस्तै देखिन्छ । त्यसैले नेपालका लागि बाँकी तीन खेल एसियन कप छनोटमा स्थान बनाउन महत्त्वपूर्ण हुनेछ ।

गत वर्ष विराटनगरमा तयारी पूरा गरेर पनि कोरोनाले स्थगित भएको राष्ट्रिय महिला लिग बुधबारदेखि हुँदै छ । महामारीयता एन्फाले पहिलोपल्ट आयोजना गर्न लागेको प्रतियोगिताको उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ भने अरू खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । महिला लिगमा पनि दर्शक प्रवेश खुला गरिएको उल्लेख गर्दै प्रवक्ता राईले भने, ‘महिला लिगबाटै खेल हेर्न दर्शकलाई खुला गरिएको छ । महिला लिगमा प्रवेश निःशुल्क गरिएको छ ।’

साधारणसभाले कास्कीमा बहुउद्देश्यीय ट्रेनिङ सेन्टर बनाउने निर्णय गर्‍यो, जसका लागि सन् २०१९–२२ चक्रको विशेष कार्यक्रम ‘फिफा फरवार्ड २.०’ को २३ करोड ४० लाखमध्ये २० करोड ३९ लाख ५ सय रुपैयाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार निर्माणमा एन्फाले विनियोजन गरेको यो नै सबैभन्दा ठूलो बजेट हो ।

कार्यसमिति अब २१ सदस्यीय

साधारणसभाले फिफाको निर्देशन र राष्ट्रिय खेलकुद विकास ऐन २०७६ अनुकूल हुनेगरी एन्फाले आफ्नो विधानमा व्यापक संशोधन गरेको छ । हालको कार्यसमिति १७ सदस्यीय रहे पनि परिस्थितिअनुकूल हुनेगरी उपाध्यक्ष, सदस्यलगायत विभिन्न पदमा नियमितजस्तै पदाधिकारी मनोनयन गरिरहेको छ । त्यसैले, फिफाको निर्देशनमा कार्यसमितिमा पदाधिकारी मनोनयन गर्न पाउने प्रावधान खारेज गर्दै आउने निर्वाचनबाट २१ सदस्यीय कार्यसमिति हुनेगरी विधान संशोधन गरिएको हो ।

तीन सदस्य थप

साधारणसभाले खोटाङ, मनाङ र नवलपरासी (सुस्ता पूर्व) जिल्ला फुटबल संघलाई सदस्यको मान्यता दिने निर्णय गर्‍यो । यससँगै एन्फाको जिल्ला शाखा संख्या ४८ पुगेको छ । एन्फाको निर्वाचनका लागि क्लब, जिल्ला तथा खेलाडी, रेफ्री, महिला, प्रशिक्षक संघ गरी ९२ मतदाता तोकिएको छ ।

भक्तपुर जिल्ला फुटबल संघ विघटन गरी तदर्थ कमिटी बनाएको विरोधमा पुरानो कार्यसमितिका पदाधिकारीहरूले साधारणसभा भएको हेरिटज गार्डेनमै विरोध जनाएका थिए । उनीहरूले एन्फाले विधानविपरीत काम गरिरहेको भन्दै पर्चा पनि बाँडे । यसबारे अदालतमा मुद्दा चलिरहेको अवस्थामा केही बोल्न नमिल्ने प्रवक्ता राईले प्रतिक्रिया दिए ।

गुरुङलाई १० दिन कैद सजाय

उच्च अदालत पोखराले बैंकिङ कसुरमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई १० दिने कैद सजायको फैसला गरेको छ । न्यायाधीशद्वय किशोर सिलवाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसार कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा १५ (१) बमोजिम १० दिनको कैद फैसला गरेको हो । १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा राष्ट्रिय महिला टिमका ३४ खेलाडी पोखरामा रहँदा खाना र बसाइको भुक्तानी गर्न २०७६ साल असोज १३ गते अध्यक्ष गुरुङले ओम–गौरा जोस्टेल होटललाई काटेको २ लाख रुपैयाँको चेक उक्त खातामा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो ।

त्यसपछि होटल सञ्चालक हरिभक्त आचार्यले उच्च अदालतमा जाहेरी दिएका थिए । टिमको बसाइ र खानाको २ लाख १५ हजार रुपैयाँको बिल भुक्तानी माग्दा अध्यक्ष गुरुङले धम्क्याएपछि आचार्यले उच्च अदालतमा जाहेरी दिएका थिए । २०७६ साल माघ १० गते पक्राउ परेका गुरुङलाई अदालतले २ लाख रुपैयाँ धरौटीमा माघ २२ मा छाडेको थियो ।

प्रकाशित : माघ ७, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?