कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई १० दिन कैद सजाय

काठमाडौँ — उच्च अदालत पोखराले बैंकिङ कसुरमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई १० दिनको कैद सजाय सुनाएको छ ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई १० दिन कैद सजाय

उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को सानेपामा मंगलबार भइरहेको १९ औं साधारण सभामा कास्की जिल्ला संघकै प्रतिनिधिको हैसियतमा सहभागी छन् ।

न्यायधीशद्वय किशोर सिलवाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलाशले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसारको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा १५ (१) बमोजिम १० दिनको कैद फैसला गरेको हो ।

१२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा राष्ट्रिय महिला टिमका ३४ खेलाडी पोखरामा रहँदा खाना र बसाइको भुक्तानी गर्न २०७६ साल असोज १३ गते गुरुङले ओम गौरा जोस्टेल होटललाई काटेको २ लाख रुपैयाँको चेक उक्त खातामा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो । त्यसपछि होटल सञ्चालक हरिभक्त आचार्यले उच्च अदालतमा जाहेरी दिएका थिए ।

टिमको बसाइ र खानाको २ लाख १५ हजार रुपैयाँको बिल भुक्तानी माग्दा अध्यक्ष गुरुङले धम्क्याएपछि आचार्यले उच्च अदालतमा जाहेरी दिएका थिए । २०७६ साल माघ १० गते पक्राउ परेका गुरुङलाई अदालतले २ लाख रुपैयाँ धरौटीमा २२ माघमा छाडेको थियो । उनले अदालतलाई राष्ट्रिय खेलकुद परिषदबाट पैसा आउन ढिला भएकोले आफूले चेक काटेको बयान दिएका थिए । तर, मुद्दा चलिरहेकै बेला महिला टिमकी प्रशिक्षक अरुणा गुरुङमार्फत् परिषद्ले होटललाई २ लाख भुक्तानी गरिदियो । ‘आफ्नो खातामा रकम नहुँदा नहुँदै पनि चेक काटिदिएको’ भन्दै उच्च अदालतले गुरुङलाई १० दिनको कैद फैसला सुनाएको हो । उनलाई दुई साताअघिमात्रै एन्फाले गण्डकी प्रदेश फुटबल संघ तदर्थ कमिटिको उपाध्यक्ष बनाएको थियो ।

प्रदेश लिगको दौरान सहभागी टिमलाई समान सुविधा नदिएको भन्दै गण्डकी प्रदेशको सभासद राजीव गुरुङ (दीपक मनांगे) ले मिलन गुरुङलाई रंगशालामै मुक्का हानेका थिए । त्यसपछि फुटबलको नाममा उनले गरेका आर्थिक अनियमितताको श्रृंखला नै बाहिर आयो । उनीमाथि छानबिन गरेर प्रतिवेदन तयार पारेपनि एन्फाले त्यसलाई सार्वजनिक गरेको छैन ।

प्रकाशित : माघ ६, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?