कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एन्फा बैठक : चर्काचर्कीपछि अध्यक्ष बैठकबाट बाहिरिए

राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा वाग्मती प्रदेश फुटबल संघको तदर्थ कमिटी गठन, आन्तरिक लेखापरीक्षणको रिपोर्ट सार्वजनिक नगरेको, बिना छलफल र एजेन्डा निर्णयलाई माइन्युटमा घुसाइएको विषयमा चर्काचर्की परेपछि सोमबार कार्यसमिति बैठक नसकिँदै बाहिरिएका छन् ।

एन्फा बैठक : चर्काचर्कीपछि अध्यक्ष बैठकबाट बाहिरिए

विधान संशोधनको एजेन्डामा बैठक प्रवेश गरेलगत्तै ‘महत्त्वपूर्ण काममा जाने’ भनेर बैठक छाडेका अध्यक्ष शेर्पा बौद्धमा आयोजित एक फुटसल प्रतियोगितामा पुरस्कार वितरण गर्न पुगेका थिए । एन्फाको १९ औं साधारणसभा मंगलबार हुँदै छ ।

त्यसकै सम्बन्धमा छलफलका लागि अघिल्लो दिन (सोमबार) कार्यसमिति बैठक बसेको हो । यसपालि साधारणसभामा फिफाको निर्देशन र राष्ट्रिय खेलकुद विकास ऐन २०७६ अनुसार एन्फाको विधानमा व्यापक संशोधन प्रस्ताव गरिएको छ । तर, त्यही विधान संशोधनबारे छलफल हुनुअघि अध्यक्ष शेर्पा बैठक छाडेर एन्फा कम्प्लेक्सबाट बाहिरिएका हुन् । उनी ‘बैठकमा बाँकी छलफल वरिष्ठ उपाध्यक्षले सम्हाल्ने’ भन्दै निस्किए । अध्यक्ष बैठक छाडेर हिँडेको पहिला कहिल्यै नदेखेको एन्फाका पदाधिकारीहरूले बताए ।

‘महत्त्वपूर्ण छलफल बाँकी छ, नजानुहोस् भन्दा उहाँ एक घण्टामा आउँछु भनेर निस्किनुभयो,’ वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले भने । निर्वाचित १७ सदस्यीय कार्यसमितिसँगै मनोनीत र आमन्त्रित पदाधिकारीसहित करिब तीन दर्जन सहभागी बैठक अध्यक्ष बाहिरिएपछि पनि झण्डै ४० मिनेट चलेको थियो । उपाध्यक्ष वीरबहादुर खड्काले भने, ‘विधानको एजेन्डामा आउनेबित्तिकै अध्यक्षज्यू बैठक छाडेर हिँडनुभयो । विधानको महत्त्व बुझ्नुपर्ने हो तर, त्यही बेला उहाँ किन हिँड्नुभयो भन्ने थाह भएन ।’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘अध्यक्षज्यू अर्को बैठकमा जाने भनेर निस्किनुभयो । त्यसपछि वरिष्ठ उपाध्यक्षज्यूले बैठकको नेतृत्व गर्नुभयो ।’

बैठकबाट बाहिरिएपछि अध्यक्ष शेर्पा क्याप्टेन विजय लामाको निमन्त्रणा स्विकार्दै एरिना फुटसलमा आयोजित प्रतियोगितामा पुरस्कार वितरण गर्न पुगेका थिए । उनीसँगै केन्द्रीय सदस्यहरू पेमा डोल्मा लामा र रत्नकुमार श्रेष्ठ पनि बैठक छाडेर फुटसलमा अतिथि बन्न पुगेका थिए । त्यसअघि दिउँसो २ बजे बोलाइएको बैठकमा केही पदाधिकारी र अध्यक्षबीच चर्काचर्की नै परेको थियो ।

एन्फाले गत साता हेटौंडामा बोलाएको वाग्मती प्रदेशको भेलामा १३ जनाले अध्यक्षमा दाबी गरेपछि प्रदेशको तदर्थ समिति गठन गर्न सकेको थिएन । त्यो भेलामा पछि ११ जिल्लामध्ये ८ जिल्लाले काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीलाई अध्यक्षमा प्रस्ताव गरेको थियो । तर, उनको नेतृत्वमा कमिटी गठन गर्न एन्फा प्रतिनिधि पूर्णमान चित्रकार तयार भएनन् । त्यसैले चित्रकारले प्रतिवेदन प्रस्तुत गरेपछि कार्यसमिति बैठकमा चर्काचर्की परेको थियो ।

एन्फाका पूर्वकोषध्यक्ष रहेका शाही प्रदेशको नेतृत्वमा बस्न अयोग्य भएको दाबी गर्दै बैठकमा अध्यक्ष शेर्पाले भने, ‘विराट राष्ट्रिय खेलकुद परिषदका कर्मचारी (प्रशिक्षक) हुन्, खेलकुद ऐनअनुसार उनी संघमा बस्न पाउँदैनन् । उनको नाममा राखेपमा ७ करोड पेश्की पनि । त्यसैले उनी संघमा बस्न योग्य छैनन् ।’

राखेपको प्रशिक्षकबाट पुसमै राजीनामा दिइसकेका शाहीबारे अध्यक्षको भनाइको प्रतिवाद गर्दै उपाध्यक्ष खड्काले भने, ‘त्यो पेश्की व्यक्तिगत होइन, संस्थागत (एन्फाको) हो । पेश्की भएको भए पछिल्लो चुनावमा उहाँ एन्फा उपाध्यक्षमा कसरी उम्मेदवार हुन पाउँथ्यो ? राखेपको तलब खाइरहेका राजेश मानन्धर खेलाडी संघका अध्यक्ष हुन् । विधानले तटस्थ हुनुपर्छ भने पनि संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर एन्फाका महासचिव छन् । उनीहरूलाई चाहिँ त्यो नियम (खेलकुद ऐन) नलाग्ने ?’

उपाध्यक्ष खड्काको प्रश्नमा अध्यक्षले शेर्पा जवाफ नै नदिई बैठकबाट बाहिरिएको सहभागीले बताए । अध्यक्ष शेर्पाले वाग्मती प्रदेश संघ गठनको जिम्मा आफैंले लिने बताए र केही पदाधिकारीले असहमति जनाएपछि बहुमतबाट निर्णय गराए । जबकि एन्फाकै विधानमा एन्फाको प्रतिनिधिले कमिटि गठन गर्न नसके कार्यसमितिले गर्ने प्रष्टै लेखिएको छ । त्यसबारे पनि अध्यक्षले जवाफ दिएनन् । खड्काले एन्फा मुख्यालयको २ करोड ५१ लाख रुपैयाँको योजनालाई टुक्र्याएर ६ वटा ठेकेदार कम्पनीबाट काम गराएर नेतृत्वले भ्रष्टाचार गरेको आरोप लगाए ।

बैठकमा सहभागी फ्रेन्ड्स क्लबका अध्यक्ष राजीवराज पौडेलले एन्फाले आन्तरिक लेखापरीक्षण प्रतिवेदन लुकाएको आरोप लगाउँदै भने, ‘पारदर्शिता, विकेन्द्रीकरण, सामूहिक नेतृत्व भनेर हामीले उहाँहरूलाई एन्फाको नेतृत्वमा पुर्‍याएको थियौं । आज त्यो देखिएन । सबै प्वाल परिसकेको छ । सीईओ नियुक्ति खोइ ? आर्थिक रिपोर्ट किन लुकाइन्छ ? आर्थिक नियमावलीअनुसार अडिट एन्ड कम्प्लायन्सको डीडीआर खोइ ? यसरी आफ्नो कमजोरी ढाकछोप गर्नका लागि लेखापरीक्षण प्रतिवेदन लुकाउन मिल्दैन ।’

अडिट कमिटीका संयोजक दीपक खातीले आफ्नो कमिटीलाई एन्फाले असहयोग गरेको, विधि र विधानअनुसार स्वतन्त्रपूर्वक काम गर्न नदिएको आरोप लगाए ।

प्रकाशित : माघ ६, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?