कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी र वाग्मती प्रदेश विजयी

काठमाडौँ — काठमाडाैंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी र वाग्मती प्रदेश विजयी

गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा वाग्मतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो ।

संघर्षपूर्ण जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो । यसअघि पहिलो खेलमा आर्मीसँग पराजय भोगेको गण्डकीका लागि विशाल पौडेलले बलिङतर्फ ह्याट्रिक गर्दा गण्डकीले समूह तालिकामा स्पष्ट दुई अंक जोडेको हो ।

१ सय ३ रनको समान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो । संघर्षपूर्ण जित निकाल्दा गण्डकीका ओपनर अर्जुन कुमालले ३५ रनको पारी खेल्दा दीपक डुम्रेले पनि समान ३५ रन नै जोडे । अभिषेक थापाले अविजित १३ रनको स्कोर बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर जोड्न सकेनन् । पराजित भए पनि किफायती बलिङ गरेको प्रदेश १ का लागि शुभशंकर उराले समान २/२ विकेट हात पार्दा दिपेश कँडेल र हेमन्त राईले एक/एक विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २ रन बनाउन सक्यो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए । यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश काडेलले १० रन बनाए । प्रदेश १ को पारीलाई सस्तैमा समेट्ने विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए । यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश १ को यो लगातार दोस्रो हार हो । प्रदेश १ पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत दिनको अर्को खेलमा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । वाग्मतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो ।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । सुदूरपश्चिमका लागि अर्का खेलाडी अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलियन फर्किएका थिए ।

सुदूरपश्चिम प्रदेशलाई सस्तैमा समेट्न वाग्मतीका रामनरेश गिरीले ४ विकेट लिए । नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १/१ विकेट आफ्नो लेखाए ।

यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको स्कोर बनाएको थियो । युवा ब्याट्सम्यान पृथु बाँस्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदिल खानले ६३ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए पवेलियन फर्किए । इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरी १० रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए । लगातार जित निकालेको वाग्मतीले २ खेलमा ४ अंक जोडेको छ । वाग्मती समूह ‘बी’ को शीर्ष स्थानमा अटाएको छ । यसअघि वाग्मतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो भने पराजयबाट सुदूरपश्चिमले प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित : माघ ५, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?