कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रिन्स जुनियरतर्फ विश्‍व नम्बर-३

कुशल तिमल्सिना

काठमाडौँ — युवा खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर विश्व वरीयतामा तेस्रो स्थानमा पुगेका छन् । विश्व ब्याडमिन्टन महासंघले शुक्रबार जारी गरेको नयाँ वरीयतामा प्रिन्स ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेका हुन् ।

प्रिन्स जुनियरतर्फ विश्‍व नम्बर-३

अब उनीभन्दा अगाडि डेनमार्कका माड्स जुएल मोलर र भारतका वरुण कपुर छन् । उनीहरूले क्रमशः ३ र ४ स्थान सुधार गरेका हुन् ।

दसौं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताका लागि अहिले सिरहामा रहेका प्रिन्सले वरीयता शीर्ष तीनभित्र परेकामा खुसी व्यक्त गर्दै शीर्षस्थानका लागि प्रयास गर्ने बताए । ‘कोरोना महामारी सुरु भएपछि नै अन्तर्राष्ट्रिय सिरिजहरू भएका छैनन् । अहिले वरीयतामा सुधार आएको छ । प्रतियोगिता सुरु भएको भए सुनमा सुगन्ध हुन्थ्यो,’ उनले भने ।

शीर्ष १० स्थानमा रहेकामध्ये ८ खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि प्रिन्स तेस्रो स्थानमा पुगेका हुन् । गएको डिसेम्बरमा आएको नयाँ वरीयतामा उनी चार स्थान खस्किएर ११ औंमा पुगेका हुन् ।

कोरोना महामारी सुरु हुनुअघि गत वर्षको मार्चमा जर्मन जुनियर अन्तर्राष्ट्रिय सिरिजमा क्वाटरफाइनलसम्म पुगेका प्रिन्सले त्यसयता प्रतियोगिता खेल्न पाएका छैनन् । त्यसअघि उनले डच इन्टरनेसनल सिरिजमा क्वाटरफाइनलमा पुगेपछि मार्च ४ मा सार्वजनिक भएको नयाँ विश्व वरीयताको सातौं स्थानमा पुगेका थिए । कान्तिपुरसाग उनले त्यतिबेला सन् २०२० भित्र शीर्ष पाँचभित्र पुग्ने लक्ष्य राखेको बताएका थिए । कोरोनाका कारण सन् २०२० भरि खेलकुद प्रभावित हुादा लक्ष्य पूरा गर्न नसकेका उनलाई नयाँ वर्षको पहिलो महिनामै त्यो सफलता हात लागेको छ ।

कोरोना भाइरसका कारण देशव्यापी लकडाउनका कारण समग्र खेल क्षेत्रमा असर पुगेको भए पनि तुलनात्मक रूपमा ब्याडमिन्टनलाई कम असर परेको थियो । लकडाउनकै अवधिमा गत असारदेखि राष्ट्रिय टोलीको प्रशिक्षक कोरियाली प्रशिक्षकले सञ्चालन गरेका थिए ।

प्रिन्सले घरेलु प्रतियोगितामा सिनियरतर्फ पनि सफलता हासिल गर्न थालेका छन् । अघिल्लो वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा २ कांस्य जितेका प्रिन्सले गएको मंसिर २६ मा सिन्धुपाल्चोकमा आयोजित प्रथम तोप–२१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरी उपाधि जितेका थिए ।

उनले रत्नजितलाई हराएको त्यो पहिलोपल्ट थियो । सिरहाको गोलबजारमा जारी र्‍याङकिङ प्रतियोगितामा उनी सेमिफाइनल पुगेका छन् । फाइनल प्रवेशका लागि सिल्क ग्रुपका लागि खेलिरहेका प्रिन्सले त्रिभुवन आर्मी क्लबका रत्नजितसाग खेल्नेछन् ।

सन् २०१८ मा दुबई जुनियर इन्टरनेसनल सिरिजमा यू–१५ तर्फ स्वर्ण जितेका प्रिन्स सन् २०१९ को मे महिनादेखि जुनियर विश्व वरीयतामा समावेश भएका हुन् । उनले त्यही वर्ष दुबई इन्टरनेसनल सिरिजमा त्यतिबेला पनि दोस्रो स्थानमै रहेका भारतका वरुण कपुरलाई हराएर स्वर्ण जितेपछि १ सय ३ वरीयताबाट एकैपल्ट ५४ औं स्थानमा पुगेका थिए । त्यसयता उनी निरन्तर उकालो लागिरहेका छन् ।

वरीयतामा समावेश भएयताको आधिकारिक ११ प्रतियोगितामा उनले एकलतर्फ २९ खेल खेलेका छन् । तीमध्ये १९ खेल जितेका छन् भने १० खेलमा पराजित भएका छन् । ११ मध्ये पहिलो चरणबाटै बाहिरिएको ३ प्रतियोगिताको नतिजा वरीयतामा समावेश गरिएको छैन ।

प्रकाशित : माघ ३, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?