कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही प्रदेश च्याम्पियन बनेको छ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन

बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । बाँके उपविजेता बन्यो । टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १ सय ८७ रनको योगफल तयार गर्‍यो । उसका लागि सन्दिप रजालीले सर्वाधिक ८९ रन बनाए ।

त्यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाएका थिए । बलिङमा बाँकेका अजय साहनी र आकाश विष्टले ३/३ तथा दीपेन्द्र राउत र सिद्धान्तराज शाहीले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो । उसका लागि रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बाँकेलाई रोक्न रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए । यस्तै, नितेश थापाले २, धिरज शाही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।

प्रतियोगितामा रुपन्देहीका सन्दिप रजाली म्यान अफ द फाइनल भएर ५ हजार रुपैयाँ नगद पुरस्कारसहित पुरस्कृत भए । रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरीज भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि लुम्बिनी प्रदेश स्तरीय टिम छनोट गरिने नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव सन्जय गुरुङले बताए ।

प्रकाशित : माघ १, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?