प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही प्रदेश च्याम्पियन बनेको छ ।

बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । बाँके उपविजेता बन्यो । टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १ सय ८७ रनको योगफल तयार गर्‍यो । उसका लागि सन्दिप रजालीले सर्वाधिक ८९ रन बनाए ।

त्यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाएका थिए । बलिङमा बाँकेका अजय साहनी र आकाश विष्टले ३/३ तथा दीपेन्द्र राउत र सिद्धान्तराज शाहीले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो । उसका लागि रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बाँकेलाई रोक्न रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए । यस्तै, नितेश थापाले २, धिरज शाही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।

प्रतियोगितामा रुपन्देहीका सन्दिप रजाली म्यान अफ द फाइनल भएर ५ हजार रुपैयाँ नगद पुरस्कारसहित पुरस्कृत भए । रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरीज भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि लुम्बिनी प्रदेश स्तरीय टिम छनोट गरिने नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव सन्जय गुरुङले बताए ।

प्रकाशित : माघ १, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

ओली पक्षले नगरसभा बहिष्कार गर्यो

नेकपा फुटको असर
नगेन्द्र अधिकारी

काभ्रे — सत्तारुढ नेकपा फुटको असर स्थानीय तहमा पनि देखिन थालेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका जनप्रतिनिधिले मण्डनदेउपुर नगरपालिकाको आठौं सभा बहिष्कार गरेको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल–नेपाल समूहका जिल्ला सचिव टोकबहादुर वाइवा नगरप्रमुख छन् ।

उपप्रमुख निर्मला शाही स्वास्थ्यको कारण देखाउँदै सहभागी भइनन् । नगरसभा सञ्चालनको विधि र प्रक्रिया मिचेको, बजेट विनियोजन एकलौटी गरेको र तयारी बिना नै सभा सञ्चालन गरेकाले बहिष्कार गरेको ९ नम्बर वडाका अध्यक्ष जितबहादुर तामाङले जानकारी दिए । ‘पार्टीका फुटको कारणले मात्रै हैन, नगर परिषद्का विधि र प्रक्रिया मिचेका कारण सहभागी नभएका हौं,’ अध्यक्ष तामाङले भने ।

तामाङ र ८ नम्बर वडाका अध्यक्ष झलकप्रसाद पौडेलसहित २४ जना नगरसभा सदस्यले सभा बहिष्कार गरेका हुन् । ६४ सदस्यीय नगरसभामा कांग्रेसका १७ र दाहाल–नेपाल समुहका २३ जना छन् । ओली समूहले नगरसभामा गणपुरक संख्या नपुगेको र बैठकमा सहभागी नभएकालाई पनि हस्ताक्षर गराइएको दाबी गरेको छ ।

वडाअध्यक्ष समेत रहेका नगर प्रवक्ता डिल्लीप्रसाद आचार्यले भने नगरसभा बैठक सुरु भएको दाबी गरे । ‘अस्वस्थताको कारण उपप्रमुख ४–५ दिनदेखि बिदामा हुनुहुन्थ्यो, अरु केही साथीहरु सहभागी हुनुभएन,’ प्रवक्ता आचार्यले भने, ‘विधिवत रुपमा नगरसभा सुरु भएको छ, गणपुरक संख्या नपुगेको भन्ने हैन, ५० जनाजति सहभागी हुनुहुन्थ्यो ।’ पहिलो बैठकमा ७ वटा संशोधन विधेयक समेत पेश भएको छ । नगरसभाको दोस्रो बैठक अर्को सूचना जारी भएपछि मात्रै बस्ने जानकारी नगरसभा सदस्यहरुलाई गराइएको छ ।

ओली र दाहाल–नेपाल समूहमा विभाजित नेकपाले जिल्लाका १३ मध्ये ९ स्थानीय तहमा जितेका छन् ।

प्रकाशित : माघ १, २०७७ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×