कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रदेश फुटबल अध्यक्षमा १३ जनाको दाबी

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश फुटबल संघ अध्यक्षमा १३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । देशमा संघीयता गएसँगै नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि प्रादेशिक संरचना निर्माण गरिरहेको छ ।

प्रदेश फुटबल अध्यक्षमा १३ जनाको दाबी

सोही क्रममा बुधबार हेटौंडामा भएको वाग्मती प्रदेशस्तरीय भेलाबाट तदर्थ समिति गठन गर्नुपर्ने भए पनि सहमति जुटेन । तदर्थ समितिको प्रदेश अध्यक्षका लागि १३ जनाको उम्मेदवारी दर्ता भएसँगै सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्न केन्द्रीय प्रतिनिधिमण्डल असफल भएको हो ।

अध्यक्ष पदका लागि काठमाडौंका विराटजंग शाही, नुवाकोटका दीपक चित्रकार, दोलखाका गोविन्द श्रेष्ठ, कौरव पाण्डे, मकवानपुरका राजेन्द्र श्रेष्ठ, टीका लामा, भक्तपुरका राम प्रजापति, चितवनका श्रीकृष्ण कार्की, धादिङका दीपक खतिवडा, सिन्धुपाल्चोकका मनकुमार श्रेष्ठ, ललितपुरका शिशिरविक्रम हमाल र सिन्धुलीका लक्षु देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । स्रोतका अनुसार काठमाडौंका शाही र मकवानपुरका श्रेष्ठबीच अध्यक्ष पदका लागि सहमति नजुटेपछि एक दर्जनभन्दा बढीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भेलामा सहभागी आठवटा जिल्लाका प्रतिनिधिहरूले शाहीलाई अध्यक्ष पदमा नियुक्त गर्न समर्थन गर्दै निर्वाचन मण्डललाई पत्र बुझाएका थिए । उनीहरूले मतदान प्रक्रियाबाट यस विषयलाई टुंगो लगाउन आग्रह गरे पनि विधानमा तदर्थ समिति चयनका लागि सहमति हुनुपर्ने व्यवस्था भएको भन्दै निर्वाचन कमिटी पन्छिएको हो । शाही वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका होइनन् । उनी पूर्वअध्यक्ष गणेश थापानिकट हुन् । शाहीको समर्थनमा काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, चितवन र दोलखा जिल्ला रहेका छन् ।

भेलाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए पनि अध्यक्षमा सहमति नजुटेपछि अन्य पदका लागि निर्वाचन मण्डलले प्रक्रिया नै सुरु गरेन । ‘मुख्य पदमै सहमति नजुटेपछि पूर्ण कार्यसमिति चयन नगरिएको हो । नेतृत्वको टुंगो लागेपछि अन्य पद टुंग्याउँदा राम्रो हुने सल्लाह सहभागी प्रतिनिधिहरूबाट आए पनि यसो गरिएको हो ’, प्रमुख निर्वाचन आयुक्त तथा एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले भने ।

‘सर्वसम्मत रूपमा अध्यक्ष चयन हुन सकेन । अब हामी अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकाहरूको सूची र उहाँहरूबाट प्राप्त सुझाव एन्फा केन्द्रीय नेतृत्वलाई प्रतिवेदनको रूपमा बुझाउनेछौं ’, प्रमुख निर्वाचन आयुक्त पूर्णमान चित्रकारले भने, ‘सर्वसम्मत रूपमा अध्यक्ष चयन नभएको खण्डमा केन्द्रीय समितिको बैठकबाट टुंग्याउने व्यवस्था रहेको छ ।’, उनले तदर्थ समितिलाई प्रदेशस्तरीय भेला आयोजना गरेर नयाँ कार्यसमिति चयन गर्ने अधिकार रहेको छ । ‘प्रदेशस्तरीय भेला गरी नयाँ कार्यसमिति गठन गर्नुपर्ने भएकाले सहमति गरेर अगाडि बढ्न खोजिएको थियो । तर, त्यसो भएन ।’, उनका अनुसार एन्फाको माघ ५ गते बस्ने पूर्ण केन्द्रीय समितिको बैठकले यस विषयलाई टुंग्याउनेछ । ‘उम्मेदवारी दिएकामध्येबाट एक जना छनोट बैठकले गर्नेछ’, उनले थपे ।

भेलामा वाग्मती प्रदेशका ११ जिल्लाबाट ३३ जना प्रतिनिधिको सहभागिता रहेको थियो । वाग्मती प्रदेशका रसुवा र रामेछाप जिल्लामा फुटबल संघ छैन । हालसम्म ६ वटा प्रदेशमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भइसकेको छ । मकवानपुर जिल्ला फुटबल संघको आतिथ्यतामा भएको भेलाको उद्घाटन वाग्मती प्रदेश खेलकुद परिषद्का अध्यक्ष सूर्यलाल भण्डारीले गरेका थिए ।

प्रकाशित : माघ १, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?