१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पेनले मागे माफी

रोयटर्स

सिड्नी — अस्ट्रेलियाली कप्तान टिम पेनले भारतविरुद्धको तेस्रो टेस्टको अन्तिम दिन आफ्नो व्यवहारलाई लिएर बुधबार माफी मागेका छन् । उनले रविचन्द्रन आविश्वनमाथि अभद्र व्यवहार गर्दै दबाब सिर्जना गर्ने प्रयास गरेका थिए ।

पेनले मागे माफी

भारतको दोस्रो इनिङ्सका क्रममा तीन क्याच छाडेका विकेटकिपर पेनले आश्विनमाथि अभद्र शब्द प्रयोग गरेको स्टम्पमा राखिएको माइक्रोफोनबाट सुनिएको थियो । उनले भनेका छन्, ‘म त्यस्तो खराब प्रवृत्तिको होइन, तर मेरो भूल देखियो,’ पेनले भनेका छन् ।

उनको ‘म्याच फी’ बाट १५ प्रतिशत पनि काटिएको थियो । उनले अगाडि भनेका छन्, ‘मेरो नेतृत्व राम्रो रहेन । मैले आफैंमाथि अत्यधिक दबाब सिर्जना गरें । अस्ट्रेलियाली टिमले तय गरेको स्तर र अपेक्षा अगाडि म ठीक सावित हुन सकिनँ ।’ पेनले अस्ट्रेलियाली टेस्ट टिमको नेतृत्व सम्हालेयता खेलाडीको व्यवहारमा सुधार भएको मानिएको छ । दक्षिण अफ्रिकाविरुद्ध केप टाउन टेस्टपछि तत्कालीन कप्तान स्टिभ स्मिथ बर्खास्तीमा परेका थिए ।

त्यसपछि उनी कप्तानको भूमिका छन् । उनले भनेका छन्, ‘म पनि मान्छे हुँ, मबाट मानवीय भूल हुन सक्छ । मैले गरेको गल्तीका लागि म माफी माग्न चाहन्छु । पछिल्लो १८ महिनामा हामीले टिमको व्यवहारमा एक प्रकारको स्तर कायम गरेका छौं । पछिल्लो टेस्टमा हामी यसबाट केही हदसम्म चुक्यौं ।’ अर्कोतर्फ स्मिथले भारतविरुद्धको त्यस तेस्रो टेस्टमा पिचमा छेडछाड गर्न खोजेको आरोप लागेपछि आश्चर्य र स्तब्धता पोखेका छन् ।

पूर्वकप्तान स्मिथमाथि भारतीय ब्याट्सम्यान क्रिजमा छँदा तिनले बनाएको चिह्न जानाजान मेट्न खोजेको आरोप लागेको थियो र यसक्रममा उनको चर्को आलोचनासमेत भएको थियो । उनले भनेका छन्, ‘म खासमा हाम्रा बलरले कहाँ बलिङ गरिरहेका छन्, त्यो स्पष्ट होस् भन्ने पक्षमा थिएँ ।’ पेन पनि उनको बचाउमा उत्रेका छन् र उनले भनेका छन्, ‘म स्थिमलाई राम्रोसँग चिन्छु, उनी पिचमा यस्तो काम पहिले पनि गरेका छन् ।’

अस्ट्रेलिया र भारतबीचको चौथो अन्तिम टेस्ट शुक्रबार ब्रिसवेनमा सुरु हुँदै छ ।सिड्नीको तेस्रो टेस्ट बराबरीमा टुंगिएको थियो । घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्ट जितेको थियो भने दोस्रो टेस्ट जित्दै भारतले शृंखला बराबरीमा ल्याएको थियो ।

प्रकाशित : माघ १, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?