३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्पोर्ट्स अवार्डमा महिला सशक्तीकरणको सन्देश

मन्देकाजी र गौरिका वर्ष खेलाडी

काठमाडौँ — एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ का विजेताको चयन जत्तिको सटीक र अचुक यसअघि कहिल्यै पनि भएको थिएन । यसका प्रमुख विधाका विजेता काट्नै नसकिने गरेर बलिया प्रत्याशी थिए । कारण पनि स्पष्ट थियो, यसपल्टका विजेताका सूची ‘ओपन सेक्रेट’ जस्तै थियो ।

स्पोर्ट्स अवार्डमा महिला सशक्तीकरणको सन्देश

पुरुषतर्फ करातेका मन्देकाजी श्रेष्ठ, महिलातर्फ पौडीकी गौरिका सिंह, युवामा सुवास तामाङ र प्रशिक्षकमा तेक्वान्दोका नवीन श्रेष्ठको चुनौती यस्तै मजबुत रह्यो । यसपल्टको अवार्ड कार्यक्रमको विजेता यतिमै मात्र टुंगिँदैन । यसको प्रमुख विशेषता छ, महिलाको बलियो उपस्थिति, अनि यसमा उठेको महिला सशक्तीकरणको सन्देश । स्पेसल अवार्ड दुई महिला खेलाडीको नाममा रह्यो, तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ । विवाह र दुई सन्तानको जन्मपछि आयशाको खेलजीवन सकिएको अनुमान थियो, अन्य अवस्थामा भए सकिने पनि थियो । तर आयशा हार खाने खालकी थिइनन् ।

उनले १३ औं.दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण जितिन् पुम्सेतर्फ । यसअघि उनी भिडन्तमा आफ्नो चुनोती पेस गर्थिन् र यसमा सफल पनि थिइन् । तर त्यही सागका लागि भनेर उनले विधा फेरिन् । यसमा पनि धेरैको प्रश्न थियो, के उनी नयाँ विधामा सफल हुन सक्छिन् र भनेर ? आयशाले सबै आलोचकलाई शान्त पार्दै अभूतपूर्व सफलता हात पारिन् । जतिबेला स्पेसल अवार्ड उनको हातमा थियो, आफ्नो भावना पोख्न उनले आफूलाई रोक्न सकिनन् । उनले भनिन्, ‘महिलाले सपना देख्न छाड्नुहुन्न । आफ्नो कार्यक्षेत्रमा अब्बल साबित गर्न लगातार मिहिनेत गर्न सक्नुपर्छ, सफलता त अगाडि पक्कै आउने छ ।’

सन्तोषीले भने महिला १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् र यो साग इतिहासमा एथलेटिक्सतर्फ महिला खेलाडीले जितेको पहिलो स्वर्ण थियो । कथा यत्तिकैमा टुंगिँदैन, उनले स्वर्ण पदकका लागि एक सेकेन्डका सयौं हजारौं टुक्रामध्ये केहीमा निर्णायक अग्रता लिइन् र अविश्वसनीय स्वर्ण जितिन् । उनले पनि स्पेसल अवार्ड पाएपछि भनिन्, ‘यो अवार्ड म त्यस्ता सबै महिलालाई समर्पित गर्न चाहन्छुं, जसले गाउँ सहरमा रहेर दिनहुँ अथक मिहिनेत गरिरहेका हुन्छन् ।’ उनको पनि तर्क थियो, महिलाले आफूलाई सिद्ध गर्न मिहिनेत गर्नुपर्छ, त्यसको फल त प्राप्त हुन्छ नै ।’ आयशा र सन्तोषी के पनि मान्छन् भने महिलाका लागि आफ्नो उपस्थिति बलियो साबित गर्ने सबैभन्दा राम्रो माध्यम खेलकुद पनि हुनसक्छ, त्यसैले उनीहरू सन्देश दिन्छन्, ‘नेपाली खेलकुदमा सहभागिता बढाऔं, महिला दिदी बहिनीहरूले ।

चर्चित बनिन् अरुणा

नेपालमा सर्वाधिक लोकप्रिय खेलमध्ये भलिबल सबैभन्दा अगाडि आउँछ, त्यसमाथि महिला भलिबल हुनुपर्छ, यसको रौनकता नै बेग्लै । नेपालमा महिला भलिबल हुनुपर्छ, दर्शकको थामी नसक्नु हुन्छ । यस्तो हो भने यही महिला भलिबल टिमका कप्तान, अहिलेका सबैभन्दा सफल र चर्चित खेलाडी अरुणा शाही कसरी ‘पपुलर’ हुन सक्दैनन् र ? अरुणाले मन्देकाजीको कडा चुनौतीलाई पार गर्दै पिपल्स च्वाइसको अवार्ड जितिन् । उनले ई–सेवा मतदान, फेसबुक लाइक, खेलपत्रकार र प्रशिक्षकले दिएको मतमा आफ्नो सबै प्रतिस्पर्धीलाई मज्जाले उछिन्न सफल रहिन् ।

उनी पनि के कम ? प्रतिक्रिया दिइहालिन्, ‘महिलालाई कमजोर मान्ने चलन अझै पनि हाम्रो समाजमा छ । तर महिला खेलाडीले साबित गरिरहेका छन्, हामी पनि कोही कसैसँग कम छैनौं भनेर ।’ उनकै नेतृत्वमा रहेको महिला भलिबल टिम वर्ष २०७६ को ‘टिम अफ द इयर’ पनि रह्यो । हुन पनि यो टिमले १३ औं सागमा खाली रजत पदक मात्र जितेको थियो, त्यो पनि भारतविरुद्ध जितको केही नजिक पुगेर पनि बेहोरेको हारमा । तर यो रजतको सान त्यही सागको केही स्वर्णभन्दा बढी चम्किलो थियो ।

फाइनल हारपछि खेलाडीहरूले आफूलाई रोक्नै सकेका थिएनन् र मैदानमै सबै रोए पनि । तिनलाई स्वर्ण पदकबाट चुकेकोमा दुःख थियो । यो दुःख मेटिएकै थिएन, सम्भवतः कहिले पनि मेटिने पनि छैन । तर यही महिला भलिबल टिम वर्षको टिम घोषित हुनु अनि यसका कप्तान अरुणा वर्षकी लोकप्रिय खेलाडी साबित हुनुले देखाउँछ, अब तिनै भलिबल खेलाडीले आफ्नो उपलब्धिमा फर्केर हेर्दा सन्तोष मान्नसक्ने छन् र यो अब आउने दिनका लागि शिक्षा हुनेछ ।

पिपल्स च्वाइस अवार्डमा एउटा मीठो संयोग पनि देखियो । स्पोर्ट्स अवार्डमा यो विधा थपिएको ०६५ सालयता मात्र हो । तर यो विधामा अहिलेसम्मका विजेता खेलाडीको सूची बनाउने हो भने भलिबलको बाहुल्य छ, त्यो पनि महिला खेलाडीको । उनी यो अवार्ड जित्ने छैटौं भलिबलका महिला खेलाडी हुन् । यसअघि यही अवार्ड मञ्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तण्डुकार, सरस्वती चौधरी र रेश्मा भण्डारीले जितिसकेका छन्, यसमा अब अरुणा पनि थपिएको छ ।

गीता र सिजरिनको फरक कथा

कथा अब केही पुरानो । भलै घरमा कुनै प्रकारको रोकटोक थिएन, तर त्यो समय पनि महिला खेलाडीका लागि अहिले जस्तो सजिलो कहाँ थियो र ? सन् ८० को दशकमा गीता क्षेत्री र सिजरिन शाहले यस्तै बाधामात्र तोडेनन्, नेपाली खेलकुद इतिहासकै एक सर्वकालीन गौरवको उपलब्धि पनि हात पारे । फेरि यो उपलब्धि कस्तो भने यसले नेपाली खेलकुदमा महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो अब्बल दर्जाका चुनौती पेस गर्न सधैं प्रेरित गरिरहनेछ ।

सन् १९९१ को पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालले दुई स्वर्ण पदक जितेकामा यी दुवै महिला खेलाडीको नाममा रह्यो । श्रीलंकाको कोलम्बोमा गीता र सिजरिनले आत्मसात् गरेको त्यो उपलब्धी दक्षिण एसियाली खेलकुदमा महिलाले नेपालका लागि जितेको पहिलो स्वर्णका रूपमा रहेको छ । त्यतिमात्र होइन, नेपालले दक्षिण एसियाली खेलकुदमा जितेको अनगिन्ती स्वर्णमध्ये यो सधैं अगाडि रहनेछ, यसले नापेको उत्कृष्टताका लागि ।

यो स्वर्णमा विषम परिस्थिति, कसैले अनुमान नगरेको अवस्था, कडा टक्कर, अन्त्यसम्म हार नस्विकार्ने मानसिकता, अदम्य साहस सबै संलग्न छ । महिला टिम स्पर्धामा नेपाली टिमका खेलाडी थिए, गीता र सिजरिनसँगै पूजा थापा र निलम तुलाधर । बोर्डमा नेपालको चुनौती पेस गर्ने काम भने गीता र सिजरिनले गरे । लिग चरण र सेमिफाइनलमा सबै खेल जितेपछि फाइनलमा नेपालको प्रतिद्वन्द्वी थियो, शक्तिशाली भारत । नेपालले फाइनलका पाँच खेलमध्ये पहिलोमा हार बेहोरेको थियो ।

त्यसपछि लगातार दुई खेल जित्यो, चौथो फेरि भारतको पक्षमा रह्यो । यस्तोमा प्रतिस्पर्धा २–२ को बराबरीमा रह्यो । गीताले अन्तिम तथा निर्णायक खेलमा भारतीय खेलाडीलाई २–१ ले हराइन् । त्यसमा पनि सुरुआती दुई सेट बराबरीको स्थितिमा थियो । गीता अन्तिम सेटमा २२–२० ले विजयी रहिन् । यो खेल के गीताले के जितन्,ि नेपाली टिममा खुसीको लहर छाएको थियो । लगत्तै गीता र सिजरिन एकअर्काको अँगालोमा थिए अनि सागसँगै आफ्नो देश नेपाललाई सम्झे ।

गीता र सिजरिनमा गज्जबको समन्वय थियो, कुरा बुझाउन भाषाको आवश्यक थिएन । यो नै नेपालको जितको एउटा ठूलो कारण थियो । फाइनलपछि नेपाली खेलाडीलाई भारतीय पत्रकारले घेरिहाले, कसैलाई पनि विश्वास भइरहेको थिएन, आखिरमा भारत किन हार्‍यो, अनि नेपाल किन जित्यो ? यसको उत्तरमा गीता र सिजरिन एकै स्वरमा भन्छन्, ‘जसरी पनि जितेर देखाउने मानसिकता ।’ वा भनौं, सफलताका लागि जिद्दी गर्ने बानी ।

अहिलेसम्म पनि गीता र सिजरिन नेपाली टेबलटेनिससँग जोडिरहेका हुन्छन् । अझ भन्छन्, ‘हाम्रो मन त लैनचोरमा छ, जहाँ टेबलटेनिस हल छ ।’ त्यसैले त उनीहरूलाई प्रदान गरियो, लाइफटाइम एचिभमेन्ट अवार्ड । महिला खेलाडीले हात पारेको पहिलो ठूलो र अहिलेसम्मकै बेजोड उपलब्धिका लागि गीता र सिजरिनलाई नेपाली खेलकुदले कहिले पनि बिर्सनसक्ने छैन् । यस्तो नेपाली महिला खेलाडीका लागि उनीहरू सधैं प्रेरणाका स्रोत रहनेछन् ।

नवीन गुरुको छलाङ

नेपाली खेलकुदमा प्रशिक्षकलाई गुरु भन्ने गरिन्छ, त्यो पनि सम्मानले । नवीन श्रेष्ठ यस्तै तेक्वान्दोका गुरु हुन् । तेक्वान्दोले १३ औं सागमा सर्वाधिक १० स्वर्ण जितेका थिए, यस्तोमा उनीबाहेक अरू को नै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट टाढिन सक्छन् र ? त्यसो त नवीन नेपाली खेलकुदमा खासै धेरै सुनिने नाम होइन, भलै उनी नेपाली तेक्वान्दोसँग आबद्ध भएको पनि लामै समय भइसकेको छ । आखिरमा उनी एसियाली खेलकुदमा चुनौती पेस गरेका खेलाडी हुन् । फेरि यी भलाद्मी प्रशिक्षकका चेला धेरै छन्, उनले केही नभए पनि सयौं संख्यामा आहा भन्नलायक तेक्वान्दो खेलाडी उत्पादन गरिसकेका छन् । तिनै खेलाडीमध्ये केहीले सागमा स्वर्ण जिते । अनि उनी नै बने वर्षका उत्कृष्ट गुरु ।

अन्य अवार्ड

स्पोर्ट्स अवार्ड २०७६ का क्रममा केही अन्य विधामा पनि पुरस्कार प्रदान गरियो । यसमध्ये गल्फका सुवास युवा खेलाडीमा अब्बल रहे, आखिर उनले पनि कलिलो उमेरमै सागमा दुई स्वर्णको उपलब्धि हात पारे । उनी जुन स्थितिबाट गल्फको यो उपलब्धिसम्म पुगेका थिए, त्यो पनि अरू सबैलाई प्रेरणा दिने खालको नै छ । यस्तै पारा एथलिट अवार्ड ह्विलचेयर बास्केटबल र क्रिकेटका खेलाडी डिगमसिंह चेम्जोङको नाममा रह्यो ।

मन्देकाजी र गौरिकाको उपलब्धि

अवार्ड कार्यक्रमको सबैभन्दा महत्त्व त वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीको अवार्ड नै त हो, यसमा क्रमशः मन्देकाजी र गौरिका हाबी रहे । मन्देकाजीले करातेमा दुई स्वर्ण जितेका थिए । विश्वास नहुन सक्छ, आफ्नो खेल जीवनको अन्त्यतिर पुगिसकेका मन्देकाजीको यो नै पहिलो साग हो । यसअघि केही न केही अवरोध र बाधाले उनी प्रतियोगिता खेल्न वञ्चित रहे । सबैलाई लागिरहेको थियो, मन्देकाजीले आफूलाई कहिले पनि साबित गर्न सक्ने छैनन् ।

तर उनी हार खाने खालका पक्कै थिएनन् र अन्ततः अन्तिम मौकाका रूपमा १३ औं साग उनको नजिक आयो र उनले दुई हातले त्यो अवसर चुमे । नेपाली करातेले अब उनलाई कहिले पनि बिर्सन सक्ने छैनन्, किनभने करातेबाट यस स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी हुन्, उनी नै पहिलो हुन् । सागका दुई स्वर्ण अनि अहिले वर्षका उत्कृष्ट पुरुष खेलाडीको अवार्ड, मन्देकाजीलाई आफ्नो खेलजीवनबाट संन्यास लिँदा कुनै पछुताउ हुने छैन ।

गौरिकाको प्रदर्शन पनि यस्तै गज्जब थियो, उनले १३ औं सागमा चार स्वर्ण जितिन् । यसअघि नेपालले दक्षिण एसियाली पौडीमा स्वर्ण जित्नु सपनाजस्तै थियो, जितेका केही पदक पनि खाली भाग्यले साथ दिएपछि मात्र प्राप्त भएका थिए । तर गौरिकाले यसपल्ट जितेका चार स्वर्ण हकले जितेकी थिइन्, त्यसैले उनी सर्वथा वर्ष २०७६ का उत्कृष्ट महिला खेलाडी रहिन् । अवार्ड कार्यक्रममा उनी लन्डनमा थिइन्, तर प्रविधिमार्फत कार्यक्रमसँग जोडिन छाडिनन् ।

प्रकाशित : पुस २९, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?