कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एक ‘लिजेन्ड’ फुटबलरको अवसान

नेपाली फुटबलमा लोकबहादुर शाहीजत्तिको मृदुभाषी छँदै थिएन, उनमा अरुलाई प्रभावित पार्न सक्ने खुबी धेरै थियो । शाहीमा जति राम्रा गुण थिए, उत्तिकै खराब गुण पनि ।
हिमेश

काठमाडौँ — सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यलाई स्वर्णिम पुस्ताका खेलाडी मान्ने हो भने लोकबहादुर शाही पक्कै पनि ‘लिजेन्ड’ हुन् । नेपाली फुटबलमा गोलरक्षकका रूपमा एउटा मानक स्थापित गर्ने खेलाडी हुन् उनी ।

एक ‘लिजेन्ड’ फुटबलरको अवसान

नेपाली राष्ट्रिय टिमका लागि गोलरक्षकको भूमिकामा राम्रैसँग खेल्ने खेलाडी धेरै कम छन्, एकै हातमा गन्न मिल्छ । त्यसमध्ये शाही पनि एक हुन् ।

उनीसँग जोडिएका अनेक कथा छन्, नेपाली फुटबलमा । ती केही राम्रा थिए, केही असाध्यै नराम्रा पनि । यिनै शाहीको आइतबार राति निधन भयो । यससँगै एउटा ‘लिजेन्ड’ को अवसान भएको छ । उनी दैलेखमा जन्मेका थिए, आफ्नो अन्तिम दिनका लागि पनि उनी दैलेख नै पुगे । यो पनि एउटा संयोग नै मान्नुपर्छ, उनले मृत्युका लागि आफ्नो जन्मभूमि नै राजे । उनको जमानामा दैलेख निकै पिछडिएको क्षेत्र थियो, सायद अहिलेसम्म यस्तै स्थिति छ ।

तर उनको जमानामा त्यो क्षेत्रबाट नेपाली फुटबलमा आएर राष्ट्रिय टिमको सदस्य बन्नु कम्तीको उपलब्धि होइन । सन् १९७९ मा आगा खाँ गोल्डकप खेलेको राष्ट्रिय टिमकै उनी एक सदस्य थिए, तर यो कुनै औपचारिक प्रतियोगिता थिएन । सन् १९८२ को एसियाली खेलकुदका लागि उनी दिल्ली त पुगे, तर खेल्न पाएनन् । यस्तोमा उनले सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट मौका पाए । माल्दिभ्सविरुद्धको खेल डेब्यु रह्यो ।

सन् १९८९ मा इस्लामाबादमा भएको चौथो दक्षिण एसियाली खेलकुद उनको अन्तिम प्रतियोगिता रह्यो । उनले यसबीच नेपालले खेलेको पहिलो विश्वकप छनोटमा पनि सहभागिता जनाए । सन् १९८५ मा विश्वकप छनोट खेलेको टिमका उनी एक सक्रिय सदस्य थिए, यसमा नेपालको प्रदर्शन राम्रै जस्तै रह्यो । लगत्तै सन् १९८७ मा नेपालले ओलम्पिक छनोट खेल्यो, जसमा नेपालको प्रदर्शन सर्वथा खराब रह्यो । शाही त्यस टिमका पनि सदस्य थिए ।

घरेलु फुटबलमा भने उनले अधिकांश समय पुलिसका लागि खेले । पछि फ्रेन्ड्स क्लबबाट पनि सहभागिता जनाए । बलले जतिबेला उचाइ लिएर आउँथ्यो, शाही गोलरक्षकका रूपमा त्यतिबेला सटिक साबित हुन्थे । खेलाडीका रूपमा उनले बिरलै मात्र कार्ड खाए । उनी सहभागी टिम घरेलु फुटबलमा अधिकांश समय उपाधिकै दाबेदार रह्यो । खेलाडी जीवन सकेयता उनी कहिल्यै नेपाली खेलकुदबाट टाढा रहेनन्, उनको बानीजस्तै थियो, केही न केही गरिरहनुपर्ने ।

नेपालमा ०४६ यता लामै समय घरेलु फुटबल निस्क्रिय रह्यो । यही बेला शाहीले कुनै न कुनै रूपमा फुटबलमा व्यस्त राख्ने काम गरे । त्यसै बेला त उनले ‘एनएसडीए’ नामको संस्था बनाए, फुटबलका केही प्रतियोगिता गरे, टिमलाई विदेशतिर खेलाउन लैजाने काम पनि गरे । नेपाली फुटबलमा निजी क्षेत्रलाई पहिलोपल्ट भित्र्याउने काम पनि उनैले गरे । पछि उनी नेपाल बक्सिङ संघका महासचिव बने अनि आइस हक्कीका संस्थापक अध्यक्ष भए ।

उनी ०५२ सालदेखि ०५९ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव बने । जतिबेला नेपाली फुटबलमा गणेश थापाको प्रशासकका रूपमा सुरुआती दिन थिए उनको । त्यो समय चर्को फुटबल विवादको समय थियो, त्यतिबेला एकपल्ट त शाहीले आफ्नो अध्यक्षतामा एन्फा गठनको घोषणासमेत गरेका थिए । तर उनले अधिकांश समय थापाकै नजिक रहेर काम गरे । केही समय थापाको चर्को विरोधी भएर पनि निस्किए ।

दुवै खेलाडी छँदा उनीहरू नजिकै रहे, साथीका रूपमा पनि । शाहीसँग निकै नजिकको सम्बन्ध राख्नेमा एक हुन्, सन्जिव मिश्र । उनको परिवारसँग मिश्रको उत्तिकै गाढा हेलमेल थियो । उनी भन्छन्, ‘नेपाली खेलकुदमा आफ्नो पूरा जीवन समर्पित गर्नेमध्ये शाही एक हुन् । उनले आफ्नो व्यक्तिगत जीवनमा अनेक उतारचढाव देखे, तर नेपाली खेलकुदसँगको नाता तोडेनन् ।’ त्यो अर्थमा मिश्र मान्छन्, नेपाली खेलकुदमा विशेषतः फुटबलले उनलाई बिर्सन सक्ने छैन ।

नेपाली फुटबलमा शाहीजत्तिको मृदुभाषी छँदै थिएन, उनमा अरूलाई प्रभावित पार्नसक्ने खुबी धेरै थियो । तर शाहीमा जति राम्रा गुण थिए, उत्तिकै खराब गुण पनि थियो । उनीमाथि निकै संगीन आरोप पनि लागेका थिए, अनेक प्रहरी ‘केस’ समेत भए । यही कारणले उनी बदनामजस्तै पनि भए । आफ्नो व्यक्तिगत बानीबेहोरा, खानपिन र केही हदसम्म संगत राम्रो गर्न सकेको भए, उनी नेपाली खेलकुदमा निकै माथि पुग्नुपर्ने व्यक्तित्व थिए ।

उनी यसैमा चुके । त्यसैले धेरै हदसम्म नेपाली फुटबलमा उनले पुर्‍याएको योगदान ओझेलमा परेको थियो, नत्र उनी नेपाली फुटबलका पक्कापक्की ‘लिजेन्ड’ नै रहे । एन्फाका पूर्व अध्यक्ष गणेश थापाले ठीकै भनेका छन्, ‘उनको योगदान सदैव स्मरण रहनेछ ।’ थापाले शाहीलाई नजिकका मित्र पनि भनेका छन् । अहिलेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि ठीकै लेखेका छन्, ‘उनी नेपाली फुटबलका एक ऐतिहासिक व्यक्तित्व हुन् । शाहीको निधनप्रति हार्द्धिक श्रद्धाञ्जली ।’

प्रकाशित : पुस २८, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?