१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ऋषिङ म्याराथनको उपाधि जुम्लाका रोकायालाई

सम्झना रसाइली

तनहुँ — ऋषिङ गाउँपालिकाले पृथ्वीजयन्तीका अवसरमा आयोजित प्रथम ऋषिङ म्याराथन–२०७७ को उपाधि जुम्लाका राजन रोकायाले जितेका छन् । त्रिभुवन आर्मी क्लबका रोकायाले ऋषिङ–८ मा अवस्थित दुबुङकोट भ्युटावरसम्मको ४० किलोमिटर दूरी अन्तर्गतको खुल्ला दौड प्रतियोगिता २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

ऋषिङ म्याराथनको उपाधि जुम्लाका रोकायालाई

यस्तैगरी त्रिभुवन आर्मी क्लबमै आबद्ध डोटीका धावक नवराज साउद देस्रो र सोलुखुम्बुका सुमन कुलुङ तेश्रो भएका छन् । साउदले २ घण्टा ५१ मिनेट ५० सेकेन्ड र कुलुङले २ घण्टा ५७ मिनेट ५० सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।

१ सय ५ धावकको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका देवराज महतारा, जम्दार वेदबहादुर सुनार र धर्म महर्जनले सान्त्वना स्थान हासिल गरेका छन् । दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।


ऋषिङ्गे राजाको दरबार रहेको गडीडाँडाबाट सुरु भएको प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढुङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगैचा हुँदै भिरकोट राजाको भग्नावशेष रहेको भिरकोटसम्म पुगेर टुंगिएको थियो ।

खेलमार्फत ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण स्थान भएकाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

प्रकाशित : पुस २७, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?