१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रधानमन्त्री कप क्रिकेट छनोटमा नवलपरासी र बाँके विजयी

सन्जु पौडेल

तिलोत्तमा — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा सोमबार समूह ‘ए’बाट नवलपरासी र समूह ‘बी’बाट बाँके विजयी भएका छन् । नवलपरासीले पाल्पालाई र बाँकेले बर्दियालाई पराजित गरेको हो ।

प्रधानमन्त्री कप क्रिकेट छनोटमा नवलपरासी र बाँके विजयी

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको समूह ‘ए’को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले २८ ओभरमा ७ विकेट गुमाई १ सय ३६ रन बनायो । उसका लागि जितेन्द्र साहनीले ५८, रन्जित खड्काले २२ र सद्दाम अन्सारीले २१ रनको योगदान गरे । बलिङमा पाल्पाका सागर थापा क्षत्रीले ३, श्रीधर बस्याल, सुरेश गोदार र रुपेश बस्यालले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले २३.४ ओभरमा सबै विकेट गुमाई १ सय ९ रनमै समेटियो । उसका लागि नरेशकुमार कार्कीले ३४, मनिष न्यौपानेले १५ रन बनाए । बलिङमा नवलपरासीका अर्पण लोनियाले ३, जितेन्द्र साहनी र मनीष पाण्डेले समान २/२ र जगदीश चौधरी र अजित यादवले १/१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ दी म्याच भए । खराब मौसमका कारण आजको खेल २८ ओभरमा छोट्याइएको थियो । मंगलबार समूह ‘ए’ अन्तर्गत कपिलवस्तु र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ ।

दाङको लमहीमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा टस हारेर ब्याटिङ गर्न आएको बर्दियाले १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाई मात्र ५८ रन बनाउन सक्यो । उसका लागि सिद्धार्थ श्रेष्ठले १७ र समिर आचार्यले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बर्दियालाई सस्तैमा रोक्न दीपेन्द्र रावतले ७ विकेट लिए । ५९ रनको झिनो लक्ष्य पछ्याएको बाँकेले पनि राम्रो सुरुवात गर्न सकेन । १५ दशमलव २ बलमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्यायो । जसमा सुनिल भण्डारीले १३ र अनुप सिंहले १० रन बनाए । बर्दियाका गोपाल जीसीले ४ र विशालविक्रम केसीले ३ विकेट लिए । बाँकेका दीपेन्द्र रावत म्यान अफ दी म्याच भए । मंगलबार समूह ‘बी’ अन्तर्गत बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको छनोट प्रतियोगिताको समापनपछि उत्कृष्ट खेलाडीलाई माघ २ गते काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट टिममा समावेश गरिने नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लले बताए ।

प्रकाशित : पुस २७, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?