कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार टेलिभिजनबाट स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण

काठमाडौँ — सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा मंगलबार हुने १७औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।

चार टेलिभिजनबाट स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण

कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड यसपालि सेमीभर्चुअल स्वरुपमा हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । भर्चुअल आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ । यसअघि हजारौं खेलप्रेमी समर्थकको उपस्थितिमा हुने कार्यक्रममा यसपटक सीमित व्यक्तित्वमात्र उपस्थित हुने जनाइएको छ ।

कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक पदाधिकारीको मात्र उपस्थिति रहनेछ । हलमा सीमित व्यक्तिमात्र रहने भएकाले कार्यक्रम चार राष्ट्रिय टेलिभिजनमा एकसाथ प्रत्यक्ष प्रसारण हुनेछ । आयोजकका अनुसार एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । त्यस्तै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत अन्य खेलकुदका अनलाइन च्यानल र त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल डिस्प्लेबाट पनि प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ । कार्यक्रमका निम्तालुहरू जुममार्फत जोडिने छन् ।

अपरान्ह साढे ४ बजे सुरु हुने कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति दिइने मञ्चले जनाएको छ । पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षकले अवार्ड जित्नेछन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको सोमबार राति १२ बजेसम्म मात्र ई–सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहने जनाइएको छ ।

प्रकाशित : पुस २७, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?